Logo

मेघनाथ पहाडी

आश्विन २०, २०७७ मंगलबार

सुरक्षित गर्भपतन आजको आवश्यकता…


काठमाडौं । नारीलाई यस सुन्दर सृष्टिको सर्जक मानिन्छ, किनभने नारीले नै यो सृष्टिलाई चलाउने आफ्नो जस्तै अर्को एक नारी र पुरुषलाई जन्म दिन्छिन् । नारी भएर जन्मेपछि मातृत्वको अनुभव लिनु प्रत्येक नारीको इच्छा र चाहना हुन्छ । यतिमात्र नभएर मातृत्वको अनुभव लिन नसक्दा समाजको तीक्ष्ण वचनको वाण सहनुको पीडा भने अर्कै छ ।

तर मातृत्वको सुखद अनुभव श्रीमान्-श्रीमती र परिवारबीचको सल्लाह भए मात्र हुन्छ र कहिलेकाँही यस्तो अवस्थाले जन्म लिन्छ जब मातृत्वको चाहना हुँदाहुँदै आफ्नो मातृत्वलाई तिलाञ्जली दिनुपर्ने हुन्छ अर्थात् गर्भपतन गर्नुपर्ने अवस्था या भनौं वाध्यता । यो त भयो विवाहित महिलाहरूको कुरा तर आजभोलि हेर्ने हो भने युवा अवस्थामा प्रवेश गरेका किशोरीहरूद्वारा अनैतिक यौन सम्बन्धबाट बस्न गएको गर्भलाई फ्याँक्न अपनाउने असुरक्षित गर्भपतन । यस प्रकारको लुकेर गरिने असुरक्षित गर्भपतनले किशोरीहरूको मातृत्वको सम्भावना कम गर्ने मात्र होइन मृत्युको मुखमा समेत पुर्‍याउँछ ।

गर्भपतन भनेको के हो ?
सुरक्षित मातृत्व तथा प्रजनन स्वास्थ्यको अधिकार सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको परिच्छेद १ को २ घ मा गर्भपतन भनेको गर्भमा रहेको भ्रुण स्वाभाविक रुपले जन्मन सक्ने हुनुभन्दा अगावै गर्भाशयबाट भ्रुण बाहिर निस्कने वा निकाल्ने कार्य भनि व्याख्या गरेको छ । अर्थात् भ्रुणमा जीवन क्षमता आउनु अघि नै गर्भाशयबाट बाहिर बाँच्न सक्षम हुनु अगावै गर्भको अन्त गर्नु गर्भपतन हो । गर्भपतन स्वतः हुने (तुहिने) वा कृत्रिम रूपमा गराइने (तुहाइने) हुनसक्छ ।

नेपालमा गर्भपतनको अवस्था हेर्ने हो भने  सन् २००२ देखि नेपालमा सीमित अवस्थाहरूमा गर्भपतन गर्नको लागि कानूनले मान्यता प्रदान गरेको छ । हालसम्म ७७ वटा जिल्लामै भएका अस्पतालहरू र सीमित प्राथमिक स्वास्थ्य केन्द्रहरूमा सुरक्षित गर्भपतन सेवा उपलब्ध छ । औषधीद्वारा गरिने गर्भपतन सेवा ५१ वटा जिल्लाहरूका केही स्वास्थ्य संस्थाहरूमा र १३ हप्ताभन्दा माथिकोे गर्भपतन सेवा २९ वटा अस्पतालहरूमा उपलब्ध छ । नेपाल सरकारले सन् २०१६ देखि सरकारी स्वास्थ्य संस्थाहरूमा गर्भपतनलाई निःशुल्क प्रदान गर्ने व्यवस्था गरेको छ ।

के हो असुरक्षित गर्भपतन ?
विश्व स्वास्थ्य संगठनले असुरक्षित गर्भपतनलाई कुनै अवाञ्छित गर्भलाई आवश्यक योग्यता नभएका व्यक्तिहरूद्वारा वा न्यूनतम चिकित्सकीय मानक पूरा नगर्ने वातावरणमा वा दुवै कुरा नभएको अवस्थामा अन्त गराउने प्रक्रियाको रूपमा परिभाषित गरेको छ ।

विश्व स्वास्थ्य संगठनको २०१२ को तथ्याँकलाई हेर्ने हो भने सन् २००८ मा करिब २ लाख २० हजार जनाले असुरक्षित गर्भपतन गरेका थिए जसमध्ये १५ देखि १९ बर्षसम्मका किशोरीहरू, २६ प्रतिशत २० देखि २४ वर्षका महिला र किशोरीहरूले असुरक्षित गर्भपतन गराएका थिए ।

नेपालको सन्दर्भमा असुरक्षित गर्भपतनको अवस्था बारे भन्नुपर्दा, Guttmacher Institute, CREHPA, 2014 को तथ्यांकलाई हेर्ने हो भने प्रतिघण्टा २१ जना महिला/किशोरीले, प्रतिदिन ५२० जना महिला/किशोरीले, प्रतिमहिना १५ हजार ५१२ जना महिला/किशोरीले असुरक्षित गर्भपतन गर्दछन्  । समग्रमा भन्नुपर्दा प्रतिवर्ष १ लाख ८६ हजार १४४ महिला/किशोरीले असुरक्षित गर्भपतन गर्दछन् ।

सुरक्षित गर्भपतन भनेको के हो ?
नेपालको संविधानको धारा ३८(२) ले प्रत्येक महिलालाई सुरक्षित मातृत्व र प्रजनन स्वास्थ्य सम्बन्धी हक हुनेछ भन्ने उल्लेख गरेको छ । नेपालले पहिले नै सुरक्षित गर्भपतन नीति तथा सुरक्षित गर्भपतन निर्देशिका तर्जुमा गरिसकेको छ । कृत्रिम गर्भपतन यदि महिलाको मन्जुरीमा, योग्य व्यक्तिद्वारा सही तरिका प्रयोग गरेर स्वस्थकर अवस्थामा गराइएमा त्यसलाई सुरक्षित गर्भपतन भनिन्छ ।

कानूनका अनुसार, केवल तालिम प्राप्त चिकित्सक वा स्वास्थ्यकर्मीले मात्र मान्यताप्राप्त स्वास्थ्य संस्थामा निम्न अवस्थामा सुरक्षित गर्भपतनको सेवा प्रदान गर्नसक्छन्:

महिलाको अनुरोधमा १२ हप्तासम्मको गर्भ ।

जबर्जस्ती करणी तथा हाडनाता करणीको कारण रहेको १८ हप्तासम्मको गर्भ ।

यदि गर्भपतन नगराएमा गर्भवती महिलाको ज्यानमा खतरा हुने वा निजको शारीरिक, मानसिक स्वास्थ्यमा असर पर्ने वा विकलाङ्ग बच्चा जन्मन सक्ने सम्भावना भएमा र कुनै मान्यताप्राप्त चिकित्सकले गर्भपतन गर्ने सिफारिस गरेमा जुनसुकै समयमा पनि ।

नाबालिग (१६ वर्षभन्दा कम उमेर)को हकमा, गर्भपतनसम्बन्धी कुनै पनि निणर्यका लागि अभिभावकको उपस्थिति अनिवार्य छ ।

गर्भपतन सेवा प्राप्त गर्ने महिलाको गोपनीयता सुनिश्चित गरिएको छ । (सुरक्षित गर्भपतन सम्बन्धी राष्ट्रिय नीति २०६० वि.सं.)

निम्न दुई अवस्थामा गर्भपतनलाई दण्डनीय मानिएको छ  १) लिङ्ग पहिचान गरी सोको आधारमा गरिने गर्भपतनस र २) गर्भवती महिलाको मन्जुरीविना गरिने गर्भपतन ।

सम्बन्धित संघसंस्थाहरूः
राइट हियर राइट नाउ नेपाल, Guttmacher Institute, CREHPA, जस्ता संस्थाहरूले आ-आफ्ना क्षेत्रबाट गर्भपतनका सम्बन्धमा सहयोग पुर्‍याउँदै आइरहेको छ । परिवार नियोजन कार्यक्रम विकास केन्द्रको रुपमा परिचित (Guttmacher Institute, वातावरण स्वास्थ्य, र जनसंख्या क्रियाकलापमा केन्द्रित CREHPA, ले सुरक्षित गर्भपतन सम्बन्धित सेवा पुर्‍याउँदै आइरहेको छ । त्यसै गरी राइट हियर राइट नाउ नेपालमा युवालाई सेवा दिइराखेका र युवाद्वारा नेतृत्व गरिएका पन्ध्रवटा संस्थाहरूको सञ्जाल हो । यी संस्थाहरूले राष्ट्रिय, क्षेत्रीय, तथा अन्तर्राष्ट्रिय स्तरमा सबै सार्वजनिक स्वास्थ्य संस्थाहरूमा लाञ्छनारहित र युवामैत्री सुरक्षित गर्भपतन सेवाहरू उपलब्ध भएको सुनिश्चित गर्नका लागि पैरवी गरिरहेका छन् ।

सुरक्षित गर्भपतन सेवा प्रति समाजले अझै पनि नकारात्मक रुपमा हेरिने र यो कम प्राथमिकतामा पर्ने  भएकाले यस बारे सबै संवेदनशील हुनु आवश्यक छ । यो सेवा बिस्तार र सुधारका लागि धेरै रकम आवश्यक पर्दैन तर नियमित प्रयास, अनुगमन, सहकार्य र भएको स्रोतको उचित परिचालन आवश्यक पर्ने देखिन्छ । सुरक्षित गर्भपतन सेवाहरूलाई अधिकारमा आधारित पद्धतिमा प्रवद्र्धन गरिनुपर्छ र सबै महिलाले गर्भपतन रोज्न पाउने आफ्नो अधिकार उपयोग गर्न पाएको सुनिश्चित गर्नका लागि सबै सम्बन्धित पक्षहरूले मिलेर काम गर्नुपर्ने नितान्त आवश्यक देखिन्छ । सरकारले सघन यौनिकता शिक्षाको माध्यमबाट गर्भपतनसम्बन्धी तथ्यपूणर् जानकारी अभिवृद्धि गर्र्न सक्ने योजना तथा कार्यक्रम ल्याउन सके अझ सुनमा सुगन्ध छाउने छ ।

नागरिक समाजले सुरक्षित गर्भपतन सेवा तथा सेवाकेन्द्रहरूका बारेमा महिलामा सचेतना जगाउनका लागि सरकारलाई समर्थन गर्नुपर्ने हुन्छ  । यस सम्बन्धित सेवाहरू युवामैत्री तथा लाञ्छनारहित बनाउन सरकार र नागरिक समाजले लगानी गर्नुपर्ने आवश्यक देखिन्छ । युवाहरूमा परिवार नियोजनका सेवाहरू सम्बन्धी जानकारी तथा ती सेवाहरूसम्मको उनीहरूको पहुँच अभिवृद्धि गर्नका लागि सरकार र नागरिक समाजले मिलेर काम गर्नुपर्दछ ताकि असुरक्षित गर्भपतन तथा अवाञ्छित गर्भधारणमा कमी ल्याउन सकियोस् । निःशुल्क गर्भपतन सेवाहरूसँगै सरकारले सुरक्षित गर्भपतन सेवा केन्द्रहरूको संख्या पनि बढाउनुपर्छ ताकि गर्भपतन सेवा सर्वसुलभ र पहुँचयोग्य बनोस् । गर्भपतन सेवा निःशुल्क छ भन्ने कुरा बारेमा जनतालाई पर्याप्त मात्रामा जानकारी सञ्चार गरिनुपर्छ ।

गर्भपतन हुने अवस्थाको सृजना हुन दिनु भएन तर यदि गर्नु नै पर्ने हो भने सुरक्षित गर्भपतनतर्फ केन्द्रित हुन जरुरी देखिन्छ । त्यस कारण सुरक्षित गर्भपतन आजको आवश्यकता ।