Logo

बागमती पेज

आश्विन २७, २०७७ मंगलबार

दसैँ–तिहारमा भिडभाडमा हुनसक्ने दुर्व्यवहार रोक्न प्रहरीको ‘सेफ्टी पिन अपरेशन’


काठमाडौं । चाडपर्वको बेला सामान किन्ने ठाउँ र सवारी आवागमन हुने मुख्य केन्द्रमा ठेलमठेल भिडभाड हुन्छ । त्यस्ता ठाउँमा हुनसक्ने यौनजन्य हिंसा, पाकेटमार र लुटपाट नियन्त्रण गर्न महानगरीय प्रहरी कार्यालयले सादा पोशाकमा प्रहरी परिचालन गरेको छ ।

आउँदै गरेको दसैँ र तिहारमा भिडभाड हुने ठाउँमा महिलामाथि हुनसक्ने हिंसा रोक्न शुरु गरिएको सो अपरेशनको नाम हो–‘सेफ्टी पिन अपरेशन ।’ सार्वजनिक गाडीमा हुने हिंसा रोक्न ०७३ देखि महानगरीय प्रहरी कार्यालय रानिपोखरीले शुरु गरेको सो अपरेशन लकडाउनको समयमा रोकिएको थियो ।

भिडभाड कम भएकाले लकडाउनपछि रोकिएको अपरेशन १५ असोजबाट फेरि शुरु गरिएको महानगरीय प्रहरी कार्यालयका प्रवक्ता (एसएसपी) सुशीलकुमार यादवले रातोपाटीलाई बताए । उनले भने– ‘चाडपर्वको बेला बढी भिडभाड हुने स्थानमा हुनसक्ने यौनिक हिंसा र लुटपाट नियन्त्रण गर्न अपरेशन पुनः सुचारु गरेका छौँ ।’

सार्वजनिक गाडीमा हुने हिंसा रोक्ने अभियानको शुरुवाती उद्देश्य भएपनि कोभिड–१९ को जोखिमका कारण सेफ्टी पिन अपरेशन बसपार्क र धेरै भिडभाड हुने ठाउँमा लागु गरिएको छ ।

महानगरीय प्रहरी कार्यालय, महिला तथा बालवालिका शाखाकी प्रहरी निरीक्षक (इन्सपेक्टर) हेमा थोकरको कमाण्डमा खटिने अपरेशन टिमले असोज १५ पछि ५७ जना शंकास्पदलाई पक्राउ गरेको छ । लैंङ्गिक हिंसा नियन्त्रण तथा पिडित उद्धार घुम्ति प्रहरी (मोवाईल भ्यान) मार्फत सेफ्टी पिन अपरेशन टिम परिचालित हुन्छन् ।

काठमाडौँ उपत्यकामा सेफ्टी पिन अन्तर्गत बढी भिड हुने सार्वजनिक ठाउँमा १५ वटा टिम खटिन्छन् । महिला हिंसाका घटना नियन्त्रण मुख्य लक्ष्य भएपनि चाडपर्वमा हुनसक्ने पाकेटमारी, लागु औषध कारोबार र भाडा धेरै लिनेलाई पनि सेफ्टी पिन अपरेशनमा खटिने प्रहरीले पक्रेर कानुनी दायरामा ल्याउँछन् ।

‘अहिले सार्वजनिक बसमा भन्दापनि भिडभाड हुने फिल्डमा अपरेशन चलाइरहेका छौँ,’ प्रहरी वरिष्ठ उपरिक्षक सुशील यादवले रातोपाटीसँग भने ।

पछिल्लो सयम पक्राउ परेका ५७ मध्ये प्रहरीले धेरैलाई सम्झाइ–बुझाइ गरेर पठाएको छ । पीडितको जाहेरी लिएर १० जनालाई चाहिँ मुद्दा चलाइएको महानगरीय प्रहरी कार्यालय रानिपोखरीले जनाएको छ । महानगरीय प्रहरी कार्यालय मातहतका वृत र प्रभागमा समेत ‘सेफ्टी पिन अपरेशन’मा खटिने सादा पोशाकका प्रहरी तोकिएका छन् ।

महानगरीय प्रहरी कार्यालयका तत्कालिन डिआईजी बमबहादुर भण्डारीले ०७३ मा ‘सेफ्टी पिन’को अवधारणा काठमाडौं उपत्यकामा लागु गरेका थिए । त्यसपछि सो अपरेशन चलिरहेको छ ।

‘अहिले आर्थिक गतिविधि हुने क्षेत्रमा पनि निगरानी बढाएका छौँ,’ एसएसपी यादवले भने–‘पिक आवरमा अप्रेशन सशक्त बनाएर हिंसा र लुटपाट नियन्त्रण गरिरहेका छौंँ ।’