Logo

बागमती पेज

कार्तिक २, २०७७ आईतबार

डीआइजी विश्वराज पोखरेलको पहलमा न्यूनदृष्टियुक्त र अशक्तलाई दशैँ राहत


काठमाडौं । रोग लागेर दुवै खुट्टा गुमाएका सिन्धुपाल्चोकका निमा लामा मुखैमा आएको बडादशैँमा परिवारको छाक कसरी टार्ने भन्ने चिन्तामा छन्। केही युवाले राहत ल्याइदिने खबर सुनाएपछि खुशीले दुई दिनदेखि उनलाई निद्रा परेको थिएन ।

आज राहत लिने दिन भएकाले उनी काठमाडौँको चुच्चेपाटीमा अपराह्न २ बज्नुअघि नै ह्वीलचियर गुडाउँदै आइपुगे । उनलाई नेपाल प्रहरीको एउटा समूहले एक पोका राहत उपलब्ध गरायो । त्यसमा थियो १० किलो चामल, आधा लिटर तेल, एकएक किलाको दरमा दाल, चना, नुन र मसला तथा साबुन । राहत पाउँदा उनको मुहारमा खुशीको चमक देखियो ।

“थोरै नै भए पनि सहयोग दिनु ठूलो हो, (अन्यलाई औँल्याउँदै) यतिका धेरै मानिसलाई राहत दिइएको छ, खुशी नै छु”, लामाले भने। काठमाडौँमा बसेको निकै वर्ष भए पनि कोरोनाकालमा बेहोरेको सकस उहाँलाई कहिल्यै नमेटिने छाप बनेको छ । कठिनाइ अझै हटिसकेको छैन । उनी कुनै बेला खाना वितरण गरेका ठाउँमा पुगेर भात खान्छन्, कतै राहत दिएको चाल पाए त्यहीँ पुग्छन्। दैनिकी यसैगरी बितिरहेका बेला निकैपछि घटस्थापनाको दिन आज एक पोका राहत पाउँदा उनी निकै खुशी भए।

लामासँगै सेतो लौरो टेकेर धेरै न्यूनदृष्टियुक्तहरु चाबहिल जोरपाटी सडकपेटीमा लामबद्ध छन् । लस्करै बसेका उनीहरुका अगाडि नेपाल प्रहरीले राहतका पोका राखिदियो । छामछुम गर्दै सबैले आआफ्नो पोका सम्हाले । आपसमा कानेखुशी गर्दै एक जनाले भने, “राहत त थोरैथोरै पो छ ।” “थोरै भए पनि दिएको छ, चित्त बुझाऊ न”, अर्काबाट जवाफ आयो ।

न्यूनदृष्टियुक्त अमर ओलीले दशैँका मुखमा राहत पाएकामा खुशी व्यक्त गरे । “खै कुन संस्थाले दियो थाहा भएन, तपाईँ पत्रकार हुनुहुँदो रहेछ, त्यो संस्थालाई धन्यवाद सुनाइदिनू”, उनले भने।

सुर्खेतका ओलीको विसं २०६० मा दुवै आँखा बन्द भएको थियो । शल्यक्रियापछि एउटा आँखाले घुर्मैलो देख्न थाल्दा केही खुशी थपियो । अहिले विस्तारै त्यही आँखो कमजोर हुँदै जाँदा उनी चिन्तित छन्। ओली सडकमा दैनिक गीत गाएर परिवारको गुजारा चलाउछन् ।

कोरोनाकालमा गीत गाउन पनि गाह्रो भइरहेको उनी सुनाउछन् । पाँच महिनाको कोठाभाडासमेत तिर्न नसकेको अनुभव उनीसँग छ । त्यो ऋण अझै तिर्न सकिएको छैन । उनी आज प्राप्त खाद्य सहयोगले दशैँका मुखमा केही राहत मिलेको बताउछन् ।

उनीसँगै राहत प्राप्त गरेका अर्का न्यूनदृष्टियुक्त दिवस विष्टले केही दिनलाई छाक टार्न समस्या नपर्ने बताए । उनी पनि सडकमा गीत गाएरै परिवार पाल्ने गर्छन् । समयमै आँखाको उपचार नहुँदा दृष्टि गुमाएका जुम्लाका विष्ट एकार्कामा सूचना प्राप्त भएकाले राहत लिन नारायणटारबाट चुच्चेपाटी आएको बताउछन् । उनले भने, “गोकर्णेश्वर नगरपालिकाले पाँच किलो चामल दिएको थियो, अहिले १० किलो पाउनु ठूलो राहत हो ।”

यसअघि बन्दाबन्दीका समयमा वितरण भएको राहत पाउनुपर्ने व्यक्तिले भने नपाएको गुनासो उनको छ । नेपालीको महान् चाड शुरु भएको पहिलो दिन आज झण्डै १०० असख्क्त अपाङ्ग र दृष्टिविहिनले राहत पाएका छन् । ठुलो राहत नभए पनि सम्झेकोमा उनीहरु खुसी छन् ।

उक्त राहत विभिन्न बैँकसँगको सहकार्यमा महानगरीय प्रहरी कार्यालय काठमाडौँका प्रमुख प्रहरी नायब महानिरीक्षक विश्वराज पोखरेलको पहलमा वितरण गरिएको हो ।

“हामीकहाँ राहत चाहियो, दशैँमा भोकभोकै हुने भयौँ भनेर धेरै अनुरोध आयो”, पोखरेलले भने, “त्यसैले इच्छुक बैंकसँगको सहकार्यमा विपन्न परिवारलाई राहत पुर्याएका हौँ ।”

दशैंका मुखमा ५०० विपन्न र अशक्त परिवारलाई राहत दिने योजना रहेको उनले जानकारी दिए । आज पहिलो दिन चुच्चेपाटी र बौद्धका १०० जनालाई राहत उपलब्ध गराइएको छ । राहत लिन आउनेमा न्यूनदृष्टियुक्त, अशक्त, असहाय र अपाङ्गता भएका व्यक्ति थिए ।

प्रहरीले आफैँ बौद्धसम्म पुगेर राहत वितरण गरेको महानगरीय प्रहरी कार्यालयका प्रहरी उपरीक्षक रेवती ढकालले जानकारी दिए । उनकै नेतृत्वमा स्थानीय युवाको सहयोगमा राहत पुर्याइएको थियो ।

स्थानीय युवा र प्रहरीले नामावली सङ्कलन गरेर छाक टार्न धौधौ भएका अशक्त र अपाङ्गता भएकाहरुको पहिचान गरी दशैँ राहत दिइएको हो । आगामी केही दिन विभिन्न ठाउँमा पुगेर पहिचान भएका त्यस्ता ५०० जनालाई राहत उपलब्ध गराउने योजना रहेको पोखरेलले सुनाए ।

यसअघि पोखरेलकै नेतृत्वमा बन्दाबन्दीका समयमा झण्डै छ हजार परिवारलाई यसैगरी राहत उपलब्ध गराइएको थियो । खाने अन्नसमेत नभएर भोकभोकै बस्न बाध्य भएको भनी गुनासो आउन थालेपछि बन्दाबन्दीका समयमा राहत बाँडिएको उनले जानकारी दिए ।