Logo

बागमती पेज

पुस २२, २०७७ बुधबार

काठमाडौंको तीन स्थानमा फ्लाइओभरको निर्माणका लागि अध्ययन


काठमाडौं । काठमाडौं उपत्यकाका तीन स्थानमा ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन अघि बढाइएको छ । ग्वार्को, सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माणका लागि परामर्शदाताले अध्ययन गरिरहेको सडक विभागले जनाएको छ ।

परामर्शदाता कम्पनीले ‘फ्लाइओभर’ निर्माणका लागि अध्ययन प्रतिवेदनकोे बीचको प्रगति पेश गरेको विभागका महानिर्देशक केशवकुमार शर्माले बताए । उनका अनुसार यसका लागि अहिले विस्तृत डिजाइन गर्ने काम अघि बढिरहेको छ । यस वर्ष निर्माणका लागि ठेक्कामा जान सकिने उनको भनाइ छ । उनले भने, “कम्तीमा एउटा ठाउँमा भए पनि ठेक्का प्रक्रियामा जान सकिनेछ ।”

यस वर्ष ग्वार्कोमा निर्माणका लागि प्रक्रियामा जाने र आगामी आवमा सातदोबाटो र एकान्तकुनामा ‘फ्लाइओभर’ निर्माण अघि बढाइने योजना रहेको छ । चीन सरकारले दुई वर्ष पहिले निर्माण सम्पन्न गरेको चक्रपथको चोकहरुमा ‘फ्लाइओभर’ निर्माणको योजना बनाइएहको छ । सातदोबाटो र एकान्तकुनामा सडक विभागले नै आकाशेपुल निर्माण सम्पन्न गरेको छ । ती स्थानमा ‘फ्लाइओभर’ बनाउन आकाशेपुल भत्काउन नपर्ने उनले बताए । उनले भने, “आकाशेपुल नभत्काएर पनि त्यही ठाउँमा बनाउन सकिने विकल्प छ ।”

सरकारले चालु आर्थिक वर्षमा उपत्यकामा फ्लाइओभर निर्माणका लागि बजेट छुट्याएको छ । उपत्यकाका अरु विभिन्न स्थानमा वैदेशिक लगानीमार्फत ‘फ्लाइओभर’ बन्न लागेकाले विभागले सरकारको लगानीमा निर्माण गर्न यी स्थान छानेको हो । सरकारको लगानीमा निर्माण हुन लागेका यी नै पहिलो फ्लाइओभर हुनेछन् । ती ‘फ्लाइओभर’ चार लेनको हुने विभागले जनाएको छ ।

निर्माण शुरु भएपछि एक वर्षदेखि १५ महिनासम्म लाग्ने बताइएको छ । नेपाली निर्माण व्यवसायीलाई नै निर्माणको जिम्मेवारी दिन सकिने महानिर्देशक शर्माले बताउनुभयो । विगतमा जटिल प्रकतिका पुल निर्माण गरेका व्यवसायीलाई नै यसको जिम्मेवारी दिइनेछ । उपत्यकामा अबको केही वर्षमा विभिन्न स्थानमा ‘फ्लाइओभर’ को निर्माण हुने भएको छ । सङ्घीय राजधानीमा अहिलेसम्म एउटा पनि फ्लाइओभर नभएकामा कतिपय वैदेशिक लगानीमा त कति नेपाल सरकारकै लगानीमा निर्माण हुन लागेको हो ।

सरकारको लगानीमा यी तीन स्थानमा निर्माण गर्ने योजना बनाइरहँदा चक्रपथमा चीन सरकारले, कोटेश्वर, बानेश्वर र थानकोटमा जापान सरकारको सहयोगमा निर्माण गर्ने गरी छलफल भइरहेको छ । यी सबै ‘फ्लाइओभर’ निर्माण सकिँदा अबको केही वर्षपछि काठमाडौँ उपत्यकामा फ्लाइओभरको सङ्ख्या झण्डै आठ पुग्नेछ ।

काठमाडौँ उपत्यकामा सवारी साधनको चाप सबैभन्दा बढी हुने स्थान बानेश्वर र जडीबुटी चोक रहेका छन् । यी दुवै स्थानमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) ले ‘फ्लाइओभर’ वा सुरुङ निर्माण गर्ने योजना बनाएको छ । जाइकाको टोलीसँग भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय र विभागले पटक–पटक छलफल गरिरहेको छ । बन्दाबन्दी पहिलेसम्म पनि यी दुई चोकमा निर्माणका लागि छलफल भएको थियो । केही वर्ष पहिले जाइकाकै सहुलियत ऋण सहयोगमा तीनकुनेदेखि भक्तपुरको सल्लाघारीसम्मको सडक छ लेनमा विस्तार भएको थियो । आफूले विस्तार गरेको सडकमा जाइकाले फ्लाइओभर निर्माण गर्न इच्छा देखाएको छ भने सरकारले एउटै प्याकेजमा सूर्यविनायकबाट धुलिखेलसम्मको सडक विस्तार गर्न चाहेको बताइएको छ ।

त्यस्तै नेपालको सडक यातायातको इतिहासमा पहिलो नेपालकै पहिलो आधुनिक सुरुङमार्ग निर्माण हुँदा त्यससँगै ‘फ्लाइओभर’ र ‘अण्डरपास’ निर्माण हुँदैछ । नागढुङ्गा सिस्नेखोला सुरुङ निर्माण गर्दा दुई सुरुङ र एउटा ‘फ्लाइओभर’ बन्नेछ । सो सुरुङमार्गले सडकमा जाम हटाउने मात्र नभई नेपालकै समृद्धिमा विशेष योगदान गर्ने बताइएको छ । जाइकाले आर्थिक र प्राविधिक सहयोग गर्ने गरी सरकारसँग सम्झौता भएको थियो । गत वर्ष असोजमा सरकार र जापानी निर्माण संस्था हाजमा आङ्दो कर्पोरेशनबीच सम्झौता गरिएको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले गत वर्ष कात्तिकमा उद्घाटन गरेको सो आयोजना ४२ महिनामा सम्पन्न गर्ने सम्झौता थियो ।

विसं २०७५ मा चक्रपथको कोटेश्वर–कलङ्की सडक सम्पन्न गरेको चीन सरकारले दोस्रो खण्डका रूपमा कलङ्की–चावहिल (धोबीखोला पुल) सडक विस्तार गर्ने भएको छ । आठ लेनमा सडक विस्तार हुँदा बालाजु, महाराजगञ्जलगायतका चोकमा फ्लाइओभर र अण्डरपास निर्माण गरिने भएको छ । चीन सरकारले पहिलो खण्डको विस्तार गर्दा खसीबजारबाट कलङ्कीसम्म अण्डरपास निर्माण गरेको थियो । उपत्यकाका विभिन्न स्थानमा सडक विस्तार भए पनि चोकमा जाम हुने भन्दै फ्लाइओभर र सुरुङको विकल्प खोज्न थालिएको हो ।