Logo

बागमती पेज

चैत्र २७, २०७७ शुक्रबार

नेपाल पत्रकार महासंघ ओखलढुंगा: राजनितिले हार्यो, रणनीतिले जित्यो…


काठमाडौं । नेपाल पत्रकार महासंघ ओखलढुंगामा नयाँ नेतृत्व चयन भएको छ । महासंघको २६ औं महाधिवेशन अन्तर्गत देशैभरी चैत २५ गते भएको निर्वाचनबाट ओखलढुंगामा पनि नयाँ नेतृत्व चयन भएको हो । महासंघको चुनावी सरागर्मी चल्दै जाँदा ओखलढुंगा जिल्ला शाखाको नेतृत्वमा दुई जनाले दाबी प्रस्तुत गरेका थिए ।

तत्कालिन उपाध्यक्ष शिव प्रसाद ढुंगाना र सचिव लाक्पा जी शेर्पाले अध्यक्षको नेतृत्व दाबी गर्दै उम्मेदवारी दर्ता गराएका थिए । केन्द्रको एलायन्स अनुसार जिल्लामा कांग्रेस निकट प्रेस युनियन, माओवादी निकट प्रेस सेन्टर र एमालेको माधव नेपाल निकट प्रेस चौतारीको तर्फबाट ढुंगानालाई अघि सारिएको थियो ।

प्यानल नै बनाएर नेतृत्व दावी गरेका ढुंगानाले प्रेस सेन्टर र युनियनका पदाधिकारीलाई आफ्नो टिममा राखेका थिए । उक्त समुहलाई जिताउन जिल्लाका कांग्रेस, माओवादी र एमाले (नेपाल) निकटका नेताहरु खुलेरै लागेका थिए । यो समिकरण बनाउन कांग्रेस सभापति प्रदिपकुमार सुनुवारले निकै मेहनत गरेका थिए ।

उनि निर्वाचन कार्यक्रम चलिरहँदा पार्टीका नेताहरु समेत लिएर महासंघको मतदान स्थल पुगेर फर्किएका तस्बिरहरु सामाजिक सञ्जाल मार्फत सार्वजनिक भएका थिए । संघिय सांसद यज्ञराज सुनुवारका विश्वास पात्रका रुपमा रहेका ढुंगाना नेतृत्वको टिमलाई जिताउन सांसद सुनुवार पनि खुलेरै लागेका थिए ।

स्रोतका अनुसार प्रदेश सांसद मोहन खड्का आफ्ना विश्वासपात्र बोधनारायण श्रेष्ठ उपाध्यमा उमेद्वार भएकाले ढुंगानाको प्यानल विजयी गराउने प्रयासमा थिए । कतिपय मतदातालाई दलका नेताले प्रभावित बनाउने प्रयास समेत गरेका थिए । ढुंगाना नेतृत्वमा उपाध्यक्ष बोधनारायण श्रेष्ठ, समावेशी उपाध्यक्षमा प्रमिला श्रेष्ठ, सचिवमा नवराज कार्की, सहसचिवमा नवराज खड्का र मनोज भट्टराई र कोषाध्यक्षमा दिर्ग खत्री, सदस्यहरुमा देव दाहाल, टेक खड्का, भेषनाथ खनाल र राजकुमार कार्की थिए । राजनितिक दल र संघ संगठनले साथ दिएपनि मतदाता पत्रकारहरुले साथ नदिँदा यो समुह पराजय व्यहोर्न बाध्य भएको छ । यो टिमका कुनै पनि उमेद्वारले जित हात पार्न सकेनन् ।

प्रेस मञ्च नेपाल र ओली निकट प्रेस चौतारी नेपाल सहितको साझा समुह भारी मत सहित विजयी भएको छ । केन्द्रिय एलायन्स अनुसार प्रेस मञ्च नेपाल र ओली निकट प्रेस चौतारीले रणनितिक रुपमा चुनावी तयारी गरेका थिए ।

जिल्लामा क्रियाशिल, संगठनमा नलागी स्वतन्त्र पत्रकारिता गरिरहेकालाई समेत समेटेर सकृय पत्रकारहरुको समुह तयार गरेर लाक्पा गेल्जे शेर्पाको नेतृत्वमा चुनावी मैदानमा उत्रिएका थिए । यो प्यानल नै विजयी भएको छ ।

अध्यक्ष: लाक्पा गेल्जे शेर्पा
उपाध्यक्ष:
रविन श्रेष्ठ
समावेशी उपाध्यक्ष: विनुमाया राई
सचिव: पूर्णप्रसाद न्यौपाने
सह-सचिव: मिनाकुमारी श्रेष्ठ
सह-सचिव: आङबाबु शेर्पा
कोषाध्यक्ष: कुलबहादुर तामाङ

सदस्यहरु:

  • एसबी जेरो
  • नविन धमला
  • शारदा राई
  • सरस्वती बानिया

यो समुहलाई महासंघका पूर्व अध्यक्षहरु जुद्ध ढाक्रे, मेघहरि आचार्य र निवर्तमान अध्यक्ष दीपेन्द्र रुम्दाली सहितको समर्थन थियो । केन्द्रीय एलायन्स अनुसार प्रेस मञ्च नेपालका नेता दीपेन्द्र रुम्दाली र प्रेस चौतारीका नेता पूर्णप्रसाद न्यौपानेले सबैलाई समेटेर साझा महासंघ बनाउने रणनिति सहित चुनावी तयारी गरेका थिए । अन्ततः उनीहरुको सो रणनिति सफल भएको छ ।

जिल्लामा प्रेस चौतारी एक भएको भए नतिजा ढुंगानाको पक्षमा आउने अनुमान गरिएको थियो । प्रत्यक्ष निर्वाचन प्रणाली अन्तर्गत जिल्ला, प्रदेश र केन्द्रको नेतृत्व चयन गर्न देशैभर २५ गते मतदान भएको थियो ।