Logo

मेघनाथ पहाडी

बैशाख १८, २०७९ आईतबार

त्रिपुरासुन्दरी गाउँपालिकाको उपाध्यक्षमा २८ वर्षिया लामा


काठमाडौं । सिन्धुपाल्चोकस्थित त्रिपुरासुन्दरी गाउँपालिकाको उपध्याक्षमा माओवादी केन्द्रको तर्फबाट २८ वर्षिया मिना लामा(तामाङ)ले उम्मेदवारी दिएकी छन् । अर्थाशास्त्रमा स्नातकोत्तर (तेस्रो वर्ष) गरिरहेकी लामाले आसन्न निर्वाचनमा उम्मेदवारी दर्ता गराएकी हुँन् ।

प्रत्यासी लामासँग चुनावमा केन्द्रित रही गरेको कुराकानीको सम्पादित अंश :

माओवादी केन्द्रको तर्फबाट उपाध्यक्ष्मा प्रत्यासि लामालाई कसरी चिन्ने ?

त्रिपुरासुन्दरी गाउँपालिकामा (साविक धुस्कुन गाविसको पात्लेमा) २०५१ सालमा जन्मिएकी लामाले गाउँमै जन्मे, गाउँमै हुर्के र गाउँमै माध्यमिक तहसम्मको पढाई सँकाइन् । श्री महेन्द्र प्रताप उच्च माध्यमिक विद्यालयबाट एसएलसी सकाएपछि उच्च शिक्षा हासिल गर्न काठमाडौं पसे । सोही स्कुलमा प्लस टु पढ्ने वातावरण नभएको भने होइन् । गाउँकै क्याम्पसमा ११ कक्षासम्म पढेर रोजगारीको सिलसिलामा काठमाडौं पसे । पढेर मात्र भएन, आफ्नो खुट्टामा उभिन रोजगार पनि आवश्यक थियो । त्यसैले काठमाडौंको शान्तिनगरस्थित बानेश्वर क्याम्पसमा कक्षा १२ मा भर्ना भए । त्यसपछि पढाइसँगै राजनितिमा पनि सहभागी भए । अहिलेका युवा महिला राजनितिबाट टाढा भाग्ने वातावरणमा म त्यसमा सम्मिलित भए । त्यसपछि सुरु भयो राजनितिमा सहभागी ।

त्यसक्रममा अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु क्रान्तिकारी) क्रियाशिल सदस्य भएर काम गरे । विद्यार्थी राजनीति हँुदै काठमाडौं बसेकाले नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) त्रिपुरासुन्दरी गाउँपालिका सम्पर्क समन्वय समितिको सहसचिवमा कार्यरत भए । काठमाडौंमा मात्र राजनितिमा सहभागी भएकी मलाई कोभिड महामारीले गाउँ पस्न अझ सहज भयो । कोभिडले संसार आक्रान्त बन्दा स्वास्थ्य केन्द्रबाट सञ्चालन भएको घरदैलो कार्यक्रममा सहभागी भएँ । एसएलसीक २०६६ को ‘हाम्रो चिनारी, हाम्रो सहयात्रा’ मा आवद्ध भई दुःखी, पीडित तथा असहायहरुलाई सहयोग गर्दै आएकी छु ।

कोभिड महामारीको बखतमा नै आसन्न निर्वाचनको चहलपहल सुरु भइसकेको थियो । त्यसपछि शहरमा केन्द्रित राजनीतिलाई मैले गाउँमा पस्ने निर्णय गरे । त्रिपुरासुन्दरी गाउँपालिकाको विकास निर्माण र यहाँका जनताको सेवा गर्ने ठूलो इच्छा बोकेर राजनीतिमा लागेको हुँ । राजनीति भनेको निस्वार्थ हिसाबले जनताको सेवा गर्नु हो । तर अहिलेको अवस्थामा जहीँतहिँ कमाउनको लागि राजनिति गर्न थालियो । तर म आफूलाई इमान्दारीताको राजनीति गर्ने व्यक्तिका रूपमा चिनाउन चाहन्छु ।

तपाईलाई त्रिपुराबासीले भोट किन दिने ?

त्रिपुरासुन्दरी गाउँपालिका आर्थिक, धार्मिक, पर्यटनले प्रशस्त सम्भावना बोकेको पालिका हो । यहाँ सम्भावनासँगै चुनौती पनि धेरै छन् । म शिक्षा र रोजगारी लागि शहरमा जानु परेको थियो । गाउँमा शिक्षा र रोजगारमा मात्र नभएर स्वास्थ्य र महिला, बालबालिकाको क्षेत्रमा पनि उत्तिकै समस्या छ । शिक्षा, स्वास्थ्य, खानेपानी, बाटोघाटो, रोजगार, कृषि, पुर्वाधारसहित समग्र पालिकाको विकासका लागि त्रिपुराबासी आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीले मलाई भोट दिनुहुनेछ भन्नेमा आशावादी छु । यो क्षेत्र कृषिको लागि पनि उपयुक्त छ । यहाँ बाख्रा, भैंसी पालन लगायत अल्लो, लोक्ता प्रशोधन गर्नेदेखि लिएर हरेक कुराका सम्भावना छन् । यहाँ भएका स्रोत साधनको प्रयोग गरी यहाँका युवालाई स्वरोजगार बनाउने मेरो लक्ष्यलाई साथ दिनको लागि पनि नागरिकले मलाई भोट दिनुहुनेछ भन्नेमा विश्वस्त छु ।

यदि जितेको खण्डमा मुख्य काम के गर्नुहुन्छ ?

मैले चुनाव जितिसकेपछि सबैभन्दा पहिले पालिकाबाट प्रदान गरिने सेवाहरूलाई प्रभावकारी बनाउनेछु । सामाजिक सुरक्षा भत्ता, जन्मदर्ता लगायत जति पनि यस्ता कामहरू छन्, यी काम घरदैलोमै गएर गर्नेछु । गाउँपालिका नै पुगेर लिनुपर्ने सेवालाई महिनामा एक पटक हरेक वडामा घुम्ती सेवा सञ्चालन गर्नेछु । हाम्रो पालिकाबाट अधिकांश नागरिक उच्च शिक्षा र रोजगारका लागि शहर र विदेश जान बाध्य छन् । उनीहरूका लागि गाउँमै रोजगारीको व्यवस्था गर्नेछु । कृषिलाई आधुनिक प्रणालीमा रूपान्तरण गरी उत्पादन बढाउनेतर्फ जोड दिनेछु । कृषि योग्य जमिनमा सिंचाइको व्यवस्था मिलाउनेछु । गाउँपालिकामा निर्माण गरिएका विभिन्न जातजातिका संग्राहालयलाई ऐतिहासिक सम्पत्तिका रूपमा संरक्षण गर्नेमा मेरो पहल हुनेछ । विपन्न अपांगता भएका व्यक्तिलाई गाउँपालिकाबाट थप भत्ता तथा अनुदान र त्यस्ता परिवारलाई रोजगार दिन पहल गर्नेछु ।

शिक्षा र रोजगारीकै लागि तपाई काठमाडौं जानु भयो । शिक्षा र रोजगारीको विषयमा के छ योजना ? नागरिकले गुणस्तरीय शिक्षा प्राप्त गर्न के गर्नुहुन्छ ? गाउँमा शिक्षा छ तर पठ्यक्रममा मात्र सीमित छ । विद्यार्थीलाई राम्रो शिक्षा दिन र व्यवहारमा लागू गर्न पाठ्यक्रमको शिक्षाले पुग्दैन । यहाँ व्यावहारिक शिक्षाको आवश्यकता छ । किताबी ज्ञान घोकेर मात्र हुँदैन । कसैलाई कृषिसम्बन्धी ज्ञान लिने इच्छा होला उसलाई त्यही शिक्षा दिनुप¥यो । कसैलाई इलेक्ट्रिसियन बन्ने इच्छा होला उसलाई सोही अनुसारको शिक्षा चाहियो । शिक्षामा यति मात्र गर्न सक्यो भने पनि विकास आफैं हुन्छ । अर्को कुरा; त्रिपुरासुन्दरी गाउँपालिकामा कानूनी शिक्षालाई जोड दिनेछु । हाम्रो पालिकाका नागरिकलाई न्याय र कानूनका बारेमा त्यति ज्ञान छैन । कानूनका बारेमा ज्ञान नहुँदा आफूमाथि हिंसा, विभेद हुँदा पनि सहेर बस्नुपर्ने बाध्यता छ । त्यसैले पालिकाका स्कूलमा कानूनी विषय पढाउन शुरू गर्नको लागि पहल गर्नेछु । बालिकालाई विद्यालयमा टिकाउनका लागि बालिकामैत्री शौचालयको व्यवस्था गर्नेछु । बालिकालाई निशुल्क र गुणस्तरिय स्यानिटरी प्याडको व्यवस्था गर्नेछु । हरेक विद्यार्थीलाई विद्यालयमै कपडाको प्याड बनाउने तालिम दिनेछु ।

अहिलेको युग भनेको कम्युटर तथा प्रविधिको युग हो । हामीले गाउँको एक कुनामा बसेर विश्वका बारेमा सजिलै बुझ्न सक्छौं । यसका लागि पालिकाका सबै विद्यालयमा इन्टरनेटको व्यवस्था गर्नेछु । विद्यालयमा भएका कम्प्युटर हेर्न मात्र नभएर विद्यार्थीलाई सिक्ने वातावरण बनाउने छु । एसएलसी (एसईई) पनि कुन विषय पढ्ने भन्ने अन्योलता हटाउनको लागि ओरिन्टेसन कक्षाको व्यवस्था गर्नेछु । आफ्नो इच्छा अनुसार पढ्न हरेक विद्यालयमा पुस्तकालयको व्यवस्था गर्नेछु । रोजगारीको लागि गाउँपालिकाबाट तालिम दिएर स्वरोजगार बनाउनेछु ।

महिला तथा बालबालिकाको क्षेत्रमा के–के एजेण्डा छन् ?

महिला तथा बालबालिकाको कुरामा म गम्भीर छु । मैले पहिलेदेखि नै भन्दै आइरहेको छु– म महिला हुँ, म दलित हुँ भन्ने सोच नै हटाउनुपर्छ । हरेक महिलालाई नेतृत्व तहमा पु¥याउन क्षमता अभिवृद्धि तालिम दिनेछु । महिला घरायसी कामको लागि नभएर आफै केहि गर्न सक्छन् भन्ने वातावरण सिर्जना गर्छु । महिला आफैले सञ्चालन गर्ने  सबै उद्योगको दर्ता दस्तुर मिनाहा गर्ने, उद्यमी बनाउन थप तालिम दिइ प्रोत्साहन गर्नेछु । महिलाको नेतृत्व विकास गरी निर्णय तहमा महिलाको उपस्थिति बढाउन तालिम दिई संलग्न गर्नेछु ।

यो भन्दा पहिलेका जनप्रतिनिधिले गरेका कामलाई कसरी अघि बढाउनुहुन्छ ?

उहाँहरूले शुरू गरेका राम्रा कामलाई निरन्तरता दिन्छु र गर्न नसक्नुभएका कामलाई पनि शुरू गर्नेछु ।

अन्त्यमा केही भन्नुछ ?

त्रिपुरासुन्दरी गाउँपालिकाको समग्र विकासको लागि यहाँका नागरिकहरूले मलाई विश्वास गर्नुहुनेछ भन्ने आशामा छु । अब गाउँपालिकाको मुहार परिवर्तन गर्ने जिम्मेवारी युवाको काँधमा  छ । त्यसैले यो पटक युवालाई विश्वास गर्नुहुनेछ भन्ने आशा बोकेको छु ।