Logo


काठमाडौँ । साउन १५ अर्थात् आजको दिन देशभर खीर खाएर मनाउने प्रचलन रहको छ । असार महिनाको पन्ध्र गते दही चिउरा खाएर मनाइन्छ । नेपाली संस्कृतिमै “असारको महिना दही चिउरा खानु साउनको पन्ध्र खीर”भन्ने भनाई नै रहेको छ ।त्यसैले साउन पन्ध्र लाई खीर खाने विशेष दिनको रूपमा लिन सकिन्छ । 

नेपाल कृषी प्रधान देश भएकाले असार महिना कृषकहरूले धान कोदो लगाएर सकेपछि उत्साह र खुसीयालीकै रूपमा खीर खाने गर्दछन् । नेपालको पश्चिम क्षेत्रमा साउन महिना भरी खीर खाएमा शुभ हुन्छ भन्ने प्रचलन रहेको छ । नेपालमा मात्र नभएर भारतमा पनि साउन पन्ध्रमा खीर खाने प्रचलन रहको छ । 

साउन महिनामा हरियो घाँस धेरै हुने भएकाले गाई भैँसीको दूध पनि धेरै हुन्छ । यसरी हरियो घाँस खाएका गाई भैँसीको दुधमा खीर पकाएर खाएमा स्वस्थ समेत रहने संस्कृतिविद् बताउँछन् । साउन महिना व्रत तीर्थको महिना भएकाले पनि महिनाको सुरुवातमै माछा मासु भन्दा पनि खीर खाएर सुरुवात गरिन्छ ।

साउन महिना शिवपुजन महिना भएकाले एक महिनासम्म माछा मासु नखाएर शिवभक्तहरूले भगवान् शिवको पूजा गर्ने गर्दछन् । जसका कारण दूधबाट बनेको परिकारलाई शक्तिवर्धक खानाको रूपमा सेवन गरिन्छ ।

विशेष गरी साउन १५ का दिनलाई खिर खाने दिनको रूपमा चिनिन्छ । साउन महिना वर्षा महिना भएकाले पनि विभिन्न रोगहरूबाट छुटकारा पाउनको लागि दूधबाट बनेको खीर खाने गरिन्छ । खिरमा रोगसँग लड्ने प्रतिरोधात्मक क्षमता हुने भएकाले पनि खाने गरिन्छ ।