Logo

भवानी कार्की

श्रावण २६, २०७९ बिहीबार

घरायसी विवादमा अस्ताएका बालबालिकाको भविष्य !


काठमाडौँ । विगत केही वर्षयता घरायसी विवादका कारण धेरै घटनाहरू घट्दै आई रहेका छन् । तिनै घरायसी विवाद पछिल्लो समय जघन्य अपराधमा परिणत भएको छ । घरायसी झगडामा अबोध बालबालिकाले बाच्न पाउने अधिकार सँगै आफ्नो भविष्यलाई समेत आहुति दिनु परेको छ । यसको ताजा उदाहरणमा तारकेश्वर, बझाङ तथा चितवन लगायतका घटनालाई लिन सकिन्छ ।

बझाङको बुङ्गदल गाउँपालिका–९ स्थित रारुमा बुधवार बिहानै एकै परिवारका ३ जना मृत भेटिए । २२ वर्षीय दीपा पार्की उनकी ५ वर्षकी छोरी भूमिका र ३ वर्षका छोरा मोहन घर नजिकै बेडुलोका रुखमा झुन्डिएको अवस्थामा भेटिएका थिए । घटना के कारणले भएको हो, अनुसन्धान भइरहेको छ ।

अहिले अनुसन्धानकै क्रममा रहेको तारकेश्वर नगरपालिकास्थित काभ्रेस्थलीमा बेलुकी खाना खाएर सुतेका परिवारका ४ जनाको बिहान बीभत्स अवस्थामा शव भेटिएको थियो । घटनामा दुई निर्दोष बालबालिकाको पनि ज्यान गयो । उक्त घटनाको प्रहरी अनुसन्धानबाट घर मुलीले परिवारको सदस्यहरूको हत्या गरेर आत्महत्या गरेको हुनसक्ने बताएको थियो ।

यी घटनामा चार जना अबोध बालबालिका परेका छन् । दुई घटनालाई हेर्दा घरायसी विवादका कारण हुर्किँदै गरेका स–साना बालबालिकाको भविष्य फुल्न नपाउँदै अस्ताउन पुगेको छ । पछिल्लो समय बालबालिका र किशोर किशोरीहरू आफ्नो गल्तीबिना पारिवारिक समस्यामा मुछिन पुगेका छन् । घरायसी विवादले कसैको ज्यान नै गएको छ भने कोही आमाबुवा विहीन भएका छन् । 

केही समय अघि चितवन भरतपुर रमाइलो चोकमा श्रीमानले छुरा प्रयोग गरी श्रीमतीको हत्या गरे । त्यति मात्र नभएर श्रीमतीको हत्या पश्चात् घरको छतबाट आफू पनि हाम्फालेर आत्महत्या गरे । घटनाले दुवैको ज्यान त गयो तर उनीहरूको १२ वर्षीय छोरी भने आमाबुवा विहीन भइन् । अब यो घटनाको जिम्मेवार कस्लाई ठहराउने ?

त्यस्तै केही समय अघि झापाको कंचनकवल गाउँपालिका–५ स्थित पठामारीमा ३ किशोरी एउटै रुखमा झुन्डिएको अवस्थामा मृत भेटिए । घुम्न जान भनी घरबाट निस्किएका उनीहरू दिनहुँ आफैले काम गर्ने सुनकोसी चिया बगानमा मृत भेटिएका थिए । उस्तै उमेरका उनीहरूले किन आत्महत्याको बाटो रोजे होलान् ?पारिवारिक समस्याकै कारण उनीहरूले यो बाटो अपनाएका हुन् त ? घटना रहस्यमय छ ।

पछिल्लो समय यस्ता हत्या र आत्महत्याका घटना बढ्दै गएका कारण बालबालिका तथा किशोर किशोरीको मनोविज्ञानमा ठेस पुगेको छ । आत्महत्याले पुगेको नराम्रो असरका कारण सानो तिनो कुरामा पनि सहनशीलता छैन र आत्महत्याको बाटोलाई सहजै लिएका छन् । 

यसरी कुनै पनि सोचविचार विना नै अभिभावक र छोराछोरीले गरेको एकतर्फी निर्णयले आमाबाबुले छोराछोरी प्रति गरेको भरोसा र छोराछोरीले आमाबाबु प्रतिको निस्वार्थ माया गुमाउनु परेको छ ।

पछिल्लो समय आत्महत्या मृत्युको सजिलो माध्यम बन्दै गइरहेको देखिन्छ । साना देखी ठुला उमेर समूहका दम्पतीले समेत हत्या पश्चात् आत्महत्या गरेका घटनाहरू ताजै छन् । अझ किशोर समूहमा त सुसाइड नोट लेखेर आफ्नो मृत्युको कारण खुलाएर आत्म हत्या गर्ने घटनाक्रम बढ्दो छ ।

समाजमा घटेका यस्ता घटनाले बालबालिका तथा अभिभावकमा नकारात्मक असर पारेको छ । पारिवारिक सरसल्लाहमा पनि सुझाउन सकिने सामान्य कुरालाई मृत्युमै रूपान्तरण गर्नु मात्र समस्या समाधान भने होइन । 

त्यस कारण हरेक परिवारमा आत्मविश्वासको जरा बलियो बनाउन आवश्यक छ । ताकि कुनै पनि बालबालिका आफ्नै अभिभावकको हातबाटै मृत्युवरण हुनु नपरोस् । यस्ता विषयमा सबै अभिभावकहरूले सन्तान प्रतिको कर्तव्यलाई निभाउन जरुरी छ ।