Logo

भवानी कार्की

श्रावण ३१, २०७९ मंगलबार

थामी समुदायको मौलिक विशेषता र परिवर्तनशील प्रभाव


काठमाडौँ । नेपाल एक बहुभाषिक, बहुसँस्कृतीक र बहु जातीय संस्कृतिले भरिपूर्ण रहेको देश हो । नेपाललाई चार जात छत्तीस वर्णको देश भनेर पनि चिनिन्छ । नेपालको विभिन्न जाती मध्य धेरै जाती अत्यन्तै कम र लोपोन्मुख रहेको पाइन्छ । ती मध्ये एक हो थामी जाती । थामी जाती नेपालको एक दुर्लभ जातको रूपमा पर्दछ ।

थामी नेपालमा बसोबास गर्ने एक किराँत जाती हो । थामी समुदायले आफूलाई थाङ्मी भन्न रुचाउँछन् । थामी समुदाय अर्थात् किराँत जातिका मानिसहरू विशेष गरी प्रकृति प्रेमी र प्रकृतिलाई प्रेम गर्दछन् । थामी जातीको उद्गम थलो दोलखा जिल्ला हो । जिल्लामा थामी मात्र नभएर एकदमै कम बसोबास रहेको दोलखा जिल्लामा मात्र पाइने जिरेल र सुरेल जातीको पनि बसोबास रहेको छ । थामी समुदायको बसोबास दोलखामा मात्र नभएर आसपासका जिल्लामा पनि रहेको पाइन्छ ।

थामी अर्थात् किराँत जातिको मुख्य चाड उँधौली उभौली हो । यस्ता चाडपर्वमा उनीहरू आफ्नै मौलिक बाजागाजामा ‘शैहोले पुम्बु…’ गाउँदै रमाउने गर्दछन् । थामी सात प्रकारका हुन्छन् । थामी पहिला एकै थरी थिए । पछि थामीको सङ्ख्या बढ्न थालेपछि दोलखाको भीमेश्वर नगरपालिका–१ र्‍याङर्‍याङ पोखरीबाट सात तिर वाण हानेर सात तिर बसोबास गर्ने गरेको किम्बदन्ती रहेको छ । पछिल्लो समय दोलखा, सिन्धुपाल्चोक, रामेछाप लगायतका जिल्लामा थामीको बसोबास रहेको पाइन्छ ।

थामी जातीको उत्पत्ति दोलखा जिल्लाबाटै भएको हो । जिल्लाको भीमेश्वर १ सुष्पा क्षमावती स्थित राङ्राङ्थलीमा थामी जातीय पहिचानका लागि थामी सङ्ग्रहालय पनि बनाइएको छ । जहाँ थामी समुदायको संस्कार, संस्कृति, परम्परागत भेसभुसा, थामी समुदायको सीप कला आदिको अवलोकन गर्न सकिन्छ । यसै गरी सुष्पा क्षमावती थामी जातिको उद्गम थलोको रूपमा परिचित छ । एक अर्काको सोच विचारका कारण थामी भित्रै पनि गुटबन्दी आउन थालेको उनीहरूले नै बताउँदै आएका छन् ।

पछिल्लो समयको परिवर्तनसँगै बदलिँदो राजनीतिक परिवेश र राज्यको उदासीनताले थामी लगायत अन्य समुदायले आफ्नो ऐतिहासिक र गर्विला इतिहास भएको कला र संस्कृतिलाई त्याग्दै धर्म परिवर्तन गर्न सम्म थालेका छन् । अन्तरजातीय विवाहको साथसाथै भेसभुसा समेत बिर्सिन थालेका छन् ।

जिल्लाका कुना कन्दरामा रहने उनीहरू आफ्नो आधारभूत आवश्यकता परिपूर्तिका निमित्त अहिले देशको सङ्घीय राजधानी काठमाडौँ लगायत अन्य सहरमा स्थायी रूपमा बसोबास गर्न थालिसकेका छन् ।

थामी समुदायको एउटा छुट्टै पहिचान भएका कारण केही समुदाय संस्कृतिलाई जोगाउन लागिरहेका छन् । केही समुदाय भने बदलिँदो समय र उनीहरूले आफ्नो जन्मस्थान परिवर्तन गरेसँगै आफ्नो धर्म, चालचलन, रीतिरिवाज र परम्परा समेत बदल्नुपर्ने तर्फ समेत अग्रसर भइरहेको पाइन्छ ।

यस विषयमा थामी समुदायका ख्याति प्राप्त कलाकारहरूको धारणा यस्तो छ :-

शेरा थामी (कलाकार)
विशेष गरी थामी समुदायको बसोबास गाउँको कुना कन्दरामा रहेको थियो । तर थामी समुदायमा स्थानीय सरकारको चासो नपुगेको हो कि, हामीले थामी समुदायमा गएर संस्कृति झल्काउने खालका केही कार्यक्रमहरू गर्न खोज्दा हामीलाई खर्चको अभाव हुन्छ । राज्य स्तरबाट पनि आदिवासी जनजातिहरूलाई कमै अवसर दिने गरिएको छ । त्यस कारण पनि थामी समुदाय माथि उकास्न नसकिएको हो कि, तर हामी कलाकारहरू आफ्नो मौलिकता बचाउनका निमित्त जस्तोसुकै परिस्थितिमा पनि निरन्तर अगाडी बढ्ने छौ ।

जानकी थामी (कलाकार)
थामी समुदायको पहिचान खुलाउने महत्त्वपूर्ण माध्यम थामी भेष हो । जुन पुरुषहरूको लागि अल्लोबाट बनेको कोट हुन्छ भने महिलाहरूको लागि गुन्यु चोलो, सिक्काबाट बनेको माला, मुगाको माला, निधारमा सेतो फेटा लगाएको भेष हुन्छ । तर यो भेष अहिले देख्न पाइन्न त्यसैले हामीले हाम्रा अग्रजबाट यस भेष र लवजको बारेमा जानकारी लिई पछिल्लो पुस्तासम्म जीवन्त राख्न आवश्यक छ ।

शिखर थामी (कलाकार)
समय जतिसुकै परिवर्तन किन नहोस् तर हामीले आफ्नो धरातल बिर्सनु हुँदैन, आफ्नो संस्कार भुल्नु हुँदैन । त्यस कारण यो बदलिँदो समयमा पनि हामीले आफ्नै भाषाको गीत सङ्गीतलाई प्राथमिकताका साथ अगाडी बढाएका छौँ र आगामी दिनहरूमा पनि आफ्नै मौलिकताको प्रचार–प्रसारमा लाग्नै छौँ ।

रोमण थामी (कलाकार)
कलाकारले आफूले सिर्जना गरेका हरेक शब्दबाट समाजलाई सन्देश दिन खोजेको हुन्छ । जसबाट पनि समाजमा सकारात्मक असर पारेको हुन्छ । समाजमा कलाकारहरूलाई हल्का ढङ्गले हेर्ने गरिन्छ तर वास्तवमा समाजलाई सत्कर्मको बाटोमा हिँड्न सिकाउने र महत्त्वपूर्ण भूमिका कलाकारहरूको रहको हुन्छ ।

अन्त्यमा: थामी जातीको आफ्नै मौलिक परम्परा छ । यस जातिको परम्परा कहिल्यै परिवर्तन हुँदैन । थामी समुदायमा अन्य जातीहरूको जस्तै कर्म गर्दा बाहुनको जरुरी पर्दैन त्यसैले जन्म देखी मृत्यु वरण सम्मका कर्महरू थामी समुदायले नै चुनेको गुरु आप्पाले गर्ने गरेका छन् । हरेक समुदायको आ-आफ्नै मौलिक विशेषता छन् । कतिपय पिछडिएका जातजाति सामाजिक, आर्थिक, राजनीतिक र भौगोलिक हिसाबले अझै पनि ओझेलमा छन् । जस कारण त्यस्ता जातजातिका लागि स्थानीय स्तर देखी राज्य स्तरसम्म यस विषयमा ध्यान पुग्न जरुरी छ ।