Logo


काठमाडौँ । पहिला पहिला तिजमा साथी सँगी भेट हुँदा दुःख सुखका कुरा हुन्थे । एक अर्काको वेदना साटासाट हुन्थे । वर्षमा एक दिन आउने तिजमा पनि कति चेलीहरू आफ्नो माइतीघर जान पाउँदैनथे । वेदनाले भरिएका तीजका गीत सुन्दा आँखा रसाउँथ्यो । दाजुभाइहरू दिदी बहिनी लिन जाने चलन थियो । दरको रूपमा आमाले पकाएको खिर अमृत मानेर खाने परम्परा थियो । साथी सँगी भेला भएर जे छ त्यसैमा रमाउँदै तिज मनाउने गरिन्थ्यो ।

तर, अहिलेको तिजमा फरक दृश्यहरू देख्न पाइन्छ । महिलाहरू एक महिना अगाडि देखि नै तिजको दर खान धाउने गरेको पाइन्छ । तिजका भावनासँग मेल खाने गीतहरु कमै मात्रमा सुनिन्छ । त्यति मात्र नभएर हाम्रा दिदी बहिनीहरू तिजको बेला सारी लगाएर हिन्दी, डिजे गीतमा नाच्न थालिसकेका छन् । खै कहाँ गयो तिजको मौलिकपन ? 

एक दिन खाइने तिजको दर महिनाभर खान थालिएको छ । तिजको पहिरन र गरगहनाले एक आर्कामा देखा सेखीको भावना उत्पन्न गराएको छ । तिजको दरको नाममा महँगा होटेल तथा पार्टी प्यालेसमा जम्मा भई मोटो विल तिर्ने लगायतका क्रियाकलाप बढ्दो पाइन्छ । जस कारण हुनेखानेलाई राम्रो रमाइलो भए पनि हुँदा खाने दिदीबहिनीहरुले आफ्नो तथा आफ्ना परिवारको आवश्यकता पुरा गर्न सक्दैनन् । त्यसैले यस किसिमका भड्किला कार्यहरू गरेर नेपाली तिजको मौलिकपन समेत हराउन थालेको देखिन्छ ।

खासमा तिज भनेको महिलाहरूले आफ्नो माग पुरा गर्नका लागि गरिएको भोक हडताल हो । तर तिजको महत्त्वलाई भुलेर आफूले गरेको मागको दुरुपयोग गरिरहेका छन् । पछिल्लो समय मानिसमा फेरिएको जीवनशैलीसँगै चाडबाड मनाउने शैलीमा पनि व्यापक परिवर्तन आएको छ ।

हाम्रो समाजमा तिज जति भड्किलो हुँदै गएको छ त्यो भन्दा बढी यस विषयलाई लिएर सामाजिक सञ्जालमा टीकाटिप्पणी र व्यङ्ग हुन थालेको छ । जसले गर्दा विकृति फैलन सहज भएको छ । तिजको दर खाने विषयलाई जति सकारात्मक सोच्न सकिन्छ त्यति नै वा बढी नै नकारात्मक सन्देश फैलिएको पाइन्छ ।

तिजको दर खान भेला हुने, पश्चिमा संस्कृति सिको गर्दे डान्स गर्ने, भड्किला गतिविधि गरेर परम्परागत संस्कृति भुल्ने काम भइरहेको छ । यति मात्र नभएर सामाजिक सञ्जाल मार्फत भिडियो सार्वजनिक गर्ने प्रवृत्तिले गर्दा पछिल्ला पुस्ताले तिजको अस्तित्व के हो भनेर बुझ्न समेत कठिन हुने स्थिति हुन लागेको छ । सामाजिक सञ्जालको बढ्दो उपयोग गर्दा पछिल्ला पुस्ताले चाडबाडमा नकारात्मक सन्देश लिइरहेका छन् ।

त्यसैले तिज एउटा यस्तो चाड जसले दाजुभाइ दिदीबहिनीको सम्बन्धमा प्रेम बढ्ने, एक आर्काको समस्यलाई व्यवहारिक रूपमा सम्झने, चेलीबेटी र माइतीको सम्बन्धलाई प्रगाढ बनाउने पर्वको रूपमा लिइन्छ । तिजको छुटै मौलिक विशेषता भएका कारण यसलाई श्रद्धापूर्वक मनाउने हाम्रो धर्म हो । तिजको परम्परागत मौलिकपनलाई जोगाएर राख्नुपर्ने ठाउँमा हालका युवा पुस्ताले फरक ढङ्गले बुझ्ने र भड्किलो गरी मनाउने भएका कारण यस कुरालाई हामीले ध्यान दिनु पर्दछ ।