Logo

भवानी कार्की

कार्तिक १८, २०७९ शुक्रबार

बूढानीलकण्ठ मन्दिरमा दर्शनार्थिको घुइँचो


काठमाडौँ । कार्तिक शुक्ल एकादशी अर्थात् हरिबोधिनी एकादशीको अवशरमा बूढानीलकण्ठ नगरपालिका अन्र्तगत बूढानीलकण्ठ मन्दिरमा विहानै देखि भक्तजनको भिड लागेको छ । विगत देखिनै एकादशीको दिन मेला लाग्दै आएको यस मन्दिरमा यो वर्ष पनि ठुलो संख्यामा भिड लागेको हो ।

बूढानीलकण्ठमा हरी र हर अर्थात् विष्णु तथा शिवको मुर्ति एउटै ठूला ढुङ्गामा स्थापना गरिएको छ । मन्दिरमा राति १ बजेदेखिनै भक्तजनहरुको भिड लागेको बूढानीलकण्ठ नगरपालिका प्रमुख मिठाराम अधिकारीले बागमती पेजलाई जानकारी दिए । भक्तजन आउन थालेपछि राति २ बजेदेखि मन्दिरको ढोका लागि खुला गरिएको हो ।

आजको दिन दर्शनार्थिहरुलाई कुनैपनि किसिमका समस्या हुन नदिन कडा सुरक्षा व्यवस्था गरिएको प्रमुख अधिकारीको भनाई छ । उनले भने, “मन्दिरको नामबाट नगरको नाम बूढानीलकण्ठ राखिएको हो । मन्दिरको व्यवस्थापनका लागि नगरका सबै जनप्रतिनिधि लागि परेको छौँ । सुरक्षा व्यवस्था कडाइ गर्न, मन्दिर तथा भक्तजनहरुको व्यवस्थापनका लागि ५ दिन सम्म रहने गरी १० वटा समिति गठन गरिसकेका छौँ र समिति लागि परिरहेको छ ।”

यस  वर्ष बूढानीलकण्ठ मन्दिरमा १ लाख संख्याको हाराहरीमा भक्तजनले दर्शन गर्ने अपेक्षा गरिएको छ । मन्दिर दर्शनका लागि टाढा टाढाबाट भक्तजनहरुको उपस्थिति भएको छ ।

बिष्णु भगवनको पुजा गरिसकेकी काभ्रे घर भएकी ६७ वर्षीया गोपीनी भण्डारीले बूढानीलकण्ठ मन्दिरमा दर्शन गरेको तेस्रो पटक हो । परिवारको सुख, शान्ती र आफ्नो स्वास्थ्यको लागि एकादशीको ब्रत बसेको उनले बताइन् ।

त्यस्तै सिन्ध्ुपाल्चोक घर भएकी ६५ वर्षीय दुर्गादेवी खड्काको सानैदेखी एकादशीको ब्रत बस्दै आएको अनुभव छ । उनले बगमती पेजसँग कुरा गर्दे भनिन्, “त्यही भगवान प्रतिको विश्वासका कारण मलाई यहाँ सम्म डोर्यायो ।”

भक्तजनको घुँइचो लागेका कारण मन्दिरमा फोहोर हुने सम्भावना भएकाले फोहोर व्यवस्थापनको पनि तयारी गरिएको छ । मन्दिरमा भक्तजनले प्रयोग गर्ने कागज तथा धुपका खोल लगायतका फोहोर व्यवस्थापनका लागि ठाउँ–ठाउँमा डस्विन राखिएको र उक्त डस्विनमै फोहेर व्यवस्थापन गर्न भक्तजनलाई सुझाइ रहेको फोहोर व्यवस्थापन समितिको संयोजक शुशीना कठायतले जनकारी दिइन् ।

हरेक वर्ष हरिबोधिनी एकादशीका दिन यस मन्दिरमा भक्तजनको भिड लाग्ने गर्दछ । बूढानीलकण्ठ दक्षिणी भागको आँगनीमा कान नसुन्ने नाग छन् । कान नसुन्ने नागलाई कवास्को नाग बनाइ चढायो भने कान नसुन्ने रोग निको हुन्छ भन्ने धार्मिक विश्वास छ ।