Logo

बागमती पेज

मंसिर २२, २०७९ बिहीबार

संस्कृतिलाई जीवान्त राख्ने यःमरि पुन्ही


काठमाडौँ । नेवार समुदायले आज धुमधामका साथ यमरी पुन्ही मनाइरहेका छन् । नेवार समुदायको परम्परागत संस्कृतिभित्रको विशेष चाड हो यःमरि पुन्हि । विशेष गरी नेवार अन्तर्गतको खेतीकिसानी गर्ने ज्यापु समुदायले नयाँ अन्न उपभोग गर्न साइतका रूपमा यो पर्वलाई लिने गर्छन् । तसर्थ नयाँ अन्न न्वागीका लागि सुरु गर्ने नेवार जातिहरूको पूर्णिमा पनि हो यो ।

आजको दिन चामलको पिठो, खुवा, सख्खर र तिलबाट बनाइने यमरी खाने चलन छ । योमरी बनाउन बिहान सबेरैदेखि घरका महिला व्यस्त हुने गर्छन् । नुहाइधुवाइ घरमा लिपपोत गरेर योमरी पकाइने चलन छ । नेवार समुदायले धान राख्ने भकारी वा कोठीमा पनि पूजा आराधना गरेर योमरी पूर्णिमा मनाउँछन् ।

नेवारी संस्कृतिमा यो पर्वको विशेष आस्था छ । यस दिन विभिन्न देवीदेवताको पूजाआराधना गरिन्छ । यो पूजाआराधना गर्नाले धनसम्पत्ति र बुद्धिले भरिपूर्ण हुने जनविश्वास यो समुदायमा छ ।

नेपाल भाषामा ‘यः’को अर्थ मनपर्ने र ‘मरि’को अर्थ मिठाई भन्ने हुन्छ । स्वादका हिसाबले पनि यःमरि मिठाई जस्तै हुन्छ । यसमा चामलको पिठो, चाकु, तिल, घिउको प्रयोग हुने हुँदा यसमा विशेष प्रकारको स्वाद हुन्छ । यसलाई नेवारी समुदायले पञ्चतत्त्वको प्रतीकका रूपमा पनि लिने गरेको पाइन्छ ।

यःमरिमा धरतीको रूपमा चामलको पिठो, अग्निको रूपमा चाकु, जलको रूपमा पानी, आकाशको रूपमा खाली ठाउँ र वायुको रूपमा तिललाई लिइन्छ । यो बनाउने क्रममा तिल, चाकु र खुवा यःमरिभित्र राखिन्छ भने चामलको पिठो मुछेर त्यसको बाहिरी सतह बनाइएको हुन्छ ।

यःमरि नेवार समुदायमा जन्मसंस्कृतिसँग पनि जोडिएको देखिन्छ । खास गरी ती समुदायका बालबालिकाको सुस्वास्थ्य र दीर्घायुको कामना गर्दा सगुनका रूपमा यो परिकार खुवाउने चलन छ । जस्तै १२ वर्षभन्दा कम उमेरका बच्चाहरूको जन्मदिन मनाउँदा यःमरिको माला लगाएर पूजा गर्छन् ।

नयाँ मन्दिर बनाउँदा होस् या घर बनाउँदा यःमरि अनिवार्य जस्तै हुन्छ । यसको अतिरिक्त मन्दिरमा नयाँ ध्वजापताका चढाउँदा धुरीबाट पूजा गरेर यःमरि खसाल्ने चलन अझै छ ।