Logo

मेघनाथ पहाडी

माघ २३, २०७९ सोमबार

कपनमा सानालाई ऐन, ठूलालाई चैन ! कहिले सम्म ?


काठमाडौँ । बूढानीलकण्ठ नगरपालिकाले गत स्थानीय निर्वाचन पछि सडकमा व्यवसाय गरी जीविकोपार्जन गर्नेहरुलाई के खाउँ के लाउ भन्नेगरी सडकबाट उठाउने गरेको छ । विशेषगरी कपन निलोपुल र मिलनचोक तरकारी बजार क्षेत्रका व्यवसायीहरुको लागि नगरपालिका दुश्मन नै बनेको हो ।

विगत लामो समयदेखि यस्ता व्यवसाय संचालन गर्दै आएका व्यवसायीहरु नगरको यस्तो नीतिप्रति आक्रोस पोखेका छन् । व्यापारीहरुको सामान समेतका ठेला नगरप्रहरीले उठाएर लानेगरेको छ ।

देशमा महङ्गी बढेसँगै विहान एक छाक खाए बेलुका के खाँउ भन्ने व्यवसायीका लागि नगरपालिकाको नीति र नेतृत्वलाई उनीहरुको गुनासो मात्र छैन । आक्रोस पनि छ ।

ठूला व्यवसायीहरुलाई नगरले ध्यान दिएर नीति नबनाएको हो की, नीति बनाएर पनि कार्यान्वयन नगरेको हो ? यो प्रश्नको जवाफ नगरले पक्कै पनि दिने छ । अहिले विशेषगरी ठुला व्यवसाय संचालन गर्न पार्किङ बिनाको अनुमति नगरले दिएको जानकारहरु बताउछन् ।

साना व्यवसहयीहरुका लागि उचित व्यवस्थापन बिना नगरले यस्तो नीति लिनु र ठूला व्यवसायीलाई नगरले केही नगर्नु प्रति स्थानीयहरु अन्योल छन् । पार्कीङ बिनाको स्थानमा संचालनमा आएका पार्टीप्यालेसलाई नगरले उचित व्यस्था गर्न आवश्यक छ । त्यसको एउटा उदाहरण बूढानीलकण्ठ–१० करिडोरको पार्टी ईभेन्ट हो ।

विवाहको लगन तथा विभिन्न कार्यक्रममा यहाँको करिडोरमा ड्याफोडिल स्कूलदेखि माथि करिव ५०० मिटर सम्म करिडोरको सडकमा सवारी पार्किङ गरिनेगरेको नजिकै घर भएका एक स्थानीयले बागमती पेजलाई जनाए ।

कपन प्रहरीसँग यस विषयमा बुझ्दा सोमवार (आज)साझतिर करिडोरमा सवारी पार्किङ चाप पाईएको थियो । अहिले (राती) पार्किङमा त्यस्तो समस्या खासै छैन ।

विगतमा पनि यस्ता समस्या भएको र सवारी आवत जावतमा समस्या भएको बालुवाखानी निवासी एक युवाले बताए । उनले भने, “मनपरि पार्किङका कारण यस्ता स्थानमा समस्या हुने गरेको छ ।”

धोविखोला कोरिडोर छेउछाउका ठुला व्यवसायीहरुले सडक नियमको पालना नगरी मनपरी पार्किङ गर्दै आएका छन् ।

त्यसैगरी विद्यालयको विहान समय ९ देखि बेलुका ५ बजे सम्म ड्याफोडिल स्कूलले करिडोर सडकमा मनपरी विद्यालयका बसहरु राख्ने गरेको छ । त्यस प्रति पनि स्थानीयहरुले विरोध गर्दै आएका छन् ।

यतिमात्र नभएर बालुवाखानी स्थित फुटसल खेलाउँदै आएको कुपअन स्पोर्टस् सेन्टर अगाडी विदाको दिन र शनिवार मनपरि पर्किङ गरेर सडकमा समस्या हुने गरेको छ ।

कुनै एउटा व्यवसायीले गर्दा सडकमा आवतजावत गर्ने सबैले समस्या भोग्दै आउनुपरेको छ । यस्ता समस्या हेर्दा सामान्य र सानो देखिएला तर भोग्नेहरुलाई समस्या सानो होईन । दुर्घटना भएमा यसको जिम्मा व्यवसायीले लिन्छन्, कि स्थानीय सरकारले ?

ठुला व्यवसायीको समस्यालाई समस्या नदेख्ने । साना व्यवसायीहरुलाई मानसिक तनाव हुने खालको धम्कि दिएर जवरजस्त कारवाही गर्ने नीति नगरले परिमार्जन गर्नुपर्ने देखिन्छ ।