Logo

भवानी कार्की

बैशाख ११, २०८० सोमबार

स्वदेशी उत्पादनको हिस्सा बढ्दै, ३३ प्रतिशत बजारमा


काठमाडौँ । पछिल्लो समय स्थानीय तयारी पोसाकले उत्पादन बढाउन थालेका छन् । तयारी पोसाकको डिजाइन र गुणस्तरमा स्वदेशी उत्पादन प्रतिस्पर्धी बन्दै गएपछि तयारी पोसाकको बजारमा स्वदेशी उत्पादनको हिस्सा बढ्दै गएको हो ।

कोरोना महामारीको समयमा स्वदेशी उत्पादनको खपत अत्यधिक भएको थियो । तत्कालीन समयमा कोरोना महामारी रोकथाम तथा न्यूनीकरणका लागि लागू भएको बन्दाबन्दीका कारण आयात ठप्प जस्तै भयो । तत्कालीन समयदेखि स्वदेशी उत्पादनको खपत र माग दुवै बढ्न थालेको सङ्घको बुझाइ छ ।

कोरोना महामारीअघि विभिन्न नाममा स्वदेशी तयारी पोसाक बिक्री हुने भएपनि त्यसपछि भने नेपाली ब्राण्डमै बढी उत्पादन हुन थालेको जानकारहरू बताउँछन् । सङ्घको तथ्याङ्कअनुसार कोरोना महामारी सुरु हुनुभन्दा अघि सन् २०१८ र १९ मा नेपालमा रु ३१ अर्ब ८३ करोड बराबरको तयारी पोसाक विभिन्न देशबाट आयात भएको थियो । जबकि  सन् २०२० र २१ मा रु २४ अर्ब दुई करोडको पोसाक आयात भएको थियो ।

“कोरोना महामारी सुरु भएपछि तयारी पोसाकको आयात आठ अर्बले घटेको देखिन्छ”, सङ्घका अध्यक्ष किशोर नेपाल बताउँछन् , “लकडाउनका कारण आयात नभएपछि त्यो ‘स्पेस’ स्वदेशी उत्पादक कम्पनीले पूरा छ ।” स्वदेशी तयारी पोसाक उत्पादक कम्पनीले गुणस्तरमा ध्यान दिन थालेपछि माग पनि बढ्न थालेको उनको भनाइ छ ।

सङ्घका अनुसार एक जना व्यक्तिले वर्षमा औसतमा ४० मिटर वा १२ जोर तयारी पोसाक खपत गर्छ । जसमध्ये हाल ३३ प्रतिशत हिस्सा स्वदेशी उत्पादनको रहेको सङ्घको भनाइ छ । “सन् २०२१ र २२ मा २२ करोड चार लाख ८१ हजार ४२० वटा तयारी पोसाक आयात भएको छ”, अध्यक्ष नेपालले भने,

उनका अनुसार नेपालमा वार्षिक २० करोडदेखि २२ करोड जोरसम्म तयारी पोसाक आयात हुने गरेको छ । यद्यपि कोरोना महामारीका कारण लकडाउन भएको वर्ष भने १५ करोड जोरमा सीमित भएको थियो ।

“नयाँ पुस्ताको छनोटमा नेपाली उत्पादन पर्न थालेका छन् जुन हाम्रा लागि खुसीको कुरा हो”, उनी बताउँछन्, “बजारीकरण र प्रवद्र्धनमा ध्यान दिन सकियो भने निर्यातको सम्भावना पनि उत्तिकै छ ।” तयारी पोसाकका लागि प्रयोग हुने ५० प्रतिशतभन्दा बढी कच्चा पदार्थ पनि आयात गर्न नपर्ने उनको भनाइ छ ।

अध्यक्ष नेपालका अनुसार पछिल्लो समय बजारमा माग बढेपनि जनशक्तिको अभावले माग अनुसारको आपूर्ति हुन सकेको छैन । कूल कामदारमध्ये नेपाली कामदार २० प्रतिशत मात्रै छन् भने बाँकी ८० प्रतिशत जनशक्ति भारतलगायत अन्य मुलुकबाट ल्याउनु पर्ने अवस्था छ  । नेपाली दक्षजनशक्ति उत्पादनका लागि सङ्घले समेत विभिन्न तालिम दिने गरेको छ ।

सङ्घका अनुसार काठमाडौं उपत्यकामा मात्रै चार सयभन्दा धेरै उद्योग सञ्चालनमा छन् । यहाँ उत्पादन हुने तयारी पोसाक काठमाडौं बाहिरको बजारसम्म पुग्ने गरेको सङ्घको भनाइ छ । सङ्घका अनुसार देशभर सञ्चालित करिब पाँच सय उद्योगले वार्षिक रु २५ अर्बको कारोबार गर्दै आएका छन् ।

कोभिडपछि बजारको माग अनुसार डिजाइन र गुणस्तरमा ध्यान दिन थालेपछि सबै उमेर समूहले मन पराउन थालेको गार्मेन्ट व्यवसायी पूजा जोशीले बताउनुभयो ।

सङ्घका उपाध्यक्ष राजकुमार कार्कीले स्वदेशमै जनशक्ति उत्पादनका लागि सुदूरपश्चिम प्रदेशमा तीन सयभन्दा बढी मुक्त कमलरीलाई निःशुल्क तालिमका साथै  रोजगारी पनि उपलब्ध गराएको जानकारी दिए । उनले भने, “अहिलेको जनशक्तिले माग अनुसारको उत्पादन गर्न सक्ने अवस्था छैन”, जनशक्ति उत्पादनका लागि तालिममा जोड दिएका छौँ ।” उनका अनुसार हाल नेपाली तयारी पोसाक उत्पादक सङ्घ र अल्कापुरी फाउन्डेसनबीच सहकार्य गर्दे जनशक्ति उत्पादन गर्ने र पोसाक उत्पादन गर्दै आएको छ ।

निर्यात पनि

नेपालमा उत्पादित तयारी पोसाक विभिन्न १० भन्दाबढी देशमा निर्यात भइरहेको सङ्घले जनाएको छ । हाल चीन, भारत, थाइल्याण्ड, इन्डोनोसिया, बङ्गलादेश, कोम्बिया, भियतनाम, जापान, बेलायत र यूएईलगायतका देशमा उहाँ उत्पादित तयारी पोसाक निर्यात भइरहेको छ ।

नेपालमा उत्पादित सिस्नो, अल्लो, मकैको खोस्टा, भेडाको ऊन जस्ता कच्चा पदार्थको प्रयोगबाट राम्रो उत्पादन हुने भए पनि मूल्यवृद्धिका कारण केही कच्चा पदार्थ महँगो परेको सङ्घको भनाइ छ ।