काठमाडौँ । सामाजिक संस्था मातृभूमि नेपाल तथा उत्पादनमूलक संस्था युवा जागरण सामूहिक कृषि प्राली नेपालले शनिवार राजधानीमा संयुक्त प्रशिक्षण तथा निर्देशनात्मक कार्यक्रम सम्पन्न गरेको छ ।
सामूहिक जागरण युवाको सान, स्वदेशमै उत्पादन बढाउने हाम्रो महान् अभियान भन्ने नाराका साथ एक सय एक युवा सहित कृषि अभियानको घोषणा गरेको हो ।
कार्यक्रममा सामाजिक संस्था मातृभूमि नेपाल तथा उत्पादनमूलक संस्था युवा जागरण सामूहिक कृषि प्रालीका अध्यक्ष भरत लामाले कृषि पेसामा लागेकाहरूलाई कसरी एक बनाउने भन्ने उद्देश्यले विगत नौ वर्षदेखि कृषिमा आधुनिकीकरण तथा उत्पादनमा आत्मनिर्भरता ल्याउन लागि परेको बताए ।
आफूले गरेका अनुसन्धान पछि अहिलेको अवस्थामा एकै व्यक्तिले कृषिमा करौडौं लगानी गर्न सक्ने अवस्था नभएका कारण सामूहिक कृषिलाई अगाडी बढाउनुपर्ने महसुस गरेको र अभियानको घोषणा गरेको जनाए ।
उनले भने, “एक सय एक युवाहरूसहित सुरु भएको हाम्रो अभियान देशव्यापी रूपमा अगाडि बढाउने लक्ष्य रहेको छ । जसमार्फत हामी जनशक्तिको अभावमा बाँझो रहेका जमिनहरूमा खेती गर्नका लागि सहयोग गर्ने,बिउ विजन, मल तथा आधुनिक औजारको सहयोग तथा कृषकहरूलाई प्रशिक्षण गर्दै सामूहिक कृषिमा सहयोग तथा हौसला दिनेछौँ ।”
कार्यक्रममा बोल्दै लामाले देशभर रहेका कृषियोग्य जग्गा बाँझो रहेको र अर्कोतर्फ देशको दक्ष जनशक्ति विदेश पलायन हुने अवस्थालाई मध्यनजर गर्दै आफूले यस प्रकारको कार्यक्रम ल्याएको बताए ।
त्यस्तै संस्थाका वरिष्ठ उपाध्यक्ष कवीन्द्र त्रिपाठीले हतियार उठाउनु मात्र क्रान्ति नभई कुटो कोदालो उठाउनु पनि क्रान्ति भएको भन्दै बाझो भूमीलाई उर्वर भूमिमा परिणत गर्न तथा युवालाई नेपालमै रोजगारको सिर्जना गरी कृषिमा आत्मनिर्भर बनाउनका लागि पर्न अभियानको सुरुवात गरेको बताए ।
नेपालमा उत्पादन हुन सक्ने वस्तुहरूलाई उत्पादन गर्ने र विदेश पलायन हुन लागेका युवा जनशक्तिलाई केही मात्रामा भए पनि नेपालमै केही गर्न सक्ने वातावरण मिलाउनका लागि यो अभियान अगाडि बढाएको उपाध्यक्ष त्रिपाठीले बताए ।
नृत्य तथा साङ्गीतिक प्रस्तुति सहित अघि बढेको समारोहमा कृतिमा त्रिपाठीले नेपालकी छोरी हु“ म बोलको गीतमा नृत्य प्रस्तुत गरेकी थिइन भने गायक तथा संगीतकार शिव गौतमले आफ्नो संगीत तथा स्वर तथा कवीन्द्र त्रिपाठीको शब्दमा रहेको संस्थाको गीत जय किसान जय कृषि जय जय मातृभूमि बोलको गीत गाएर कार्यक्रमको माहौल तताएका थिए। समारोहमा कालिका त्रिपाठी, माया चापागाईँ लगायतले कविता प्रस्तुत गरेका थिए। त्यस्तै संस्थाको अध्यक्ष भरत लामाको परिकल्पना भने कलाकार एवम् वरिष्ठ उपाध्यक्ष कवीन्द्र त्रिपाठीको लेखनमा जन चेतनामूलक नाटक औँसीको यात्रा मञ्चन गरिएको थियो जसमा कवीन्द्र त्रिपाठी, मुना निरौला त्रिपाठी, कृतिका त्रिपाठी, यम बहादुर क्षेत्री, राम बहादुर खत्री, नवीना तामाङ, आयुष ढुङ्गाना तथा श्यामसुन्दर त्रिपाठीको अभिनय रहेको थियो।
प्रतिक्रिया दिनुहोस्