१९ पुस २०७९ मा सिन्धुलीको फिक्लल गाउँपालिका २ को मावि सुम्नाम सुन्तले हिरक जयन्ती मनायो । हिरक जयन्तीअघि आफ्ना प्रिय बाल्यकालिन शिक्षक तथा अभिभावक फडिन्द्रनाथ पहाडीले पुसको पहिलो साता व्यक्तिगत भिडियो संवादमा भन्नुभयो – “बाबु विद्यालयको हिरक जयन्तीको अवसरमा स्मारिका प्रकाशन गर्न लागेको, बाबुले यही विद्यालयबाट अक्षर चिनेको अनि देशले चिन्ने पत्रकार भएको नाताले एउटा लेख नलेखी भएन ।”
फडिन्द्र सरले मलाई दिनु मात्र भएको छ, मसँग केही लिनु भएको छैन र मैले केही दिएको पनि छैन । मैले जानेसम्म उहाँले पहिलो पटक मागेको मेरो विद्यालय शिक्षा बारे यही संस्मरण हो । त्यसैले मैले सरको प्रस्ताव अस्वीकार नसकेर आफ्नो विद्यालय शिक्षा बारे केही संस्मरण तयार गर्न तत्पर भएको हुँ । लेख्ने पेशामा भए पनि मलाई लेख्न खासै जाँगर लाग्दैन । औपचारिक अध्ययन लगातार १७ वर्षमा पुरा गरेका कारण त्यो बेलाको लेखपढले सकभर पढ्न लेख्न नपरे हुन्थ्यो जस्तो लाग्छ, तैपनि बेलाबेला लेख्नु परिरहेको छ ।
आफ्नै भोगाइ देखाइ बारे नलेखौं भन्दा पनि यसपाली फडिन्द्र सरले लेख मात्र माग्नु भएन, लेख पठाउने माध्यमको रुपमा विद्यालयको जिमेल ठेगाना पनि मेसेन्जरमा पठाइ दिनुभयो । त्यसपछि आफू जन्मे, हुर्के, बढे अनि पढेको थलो बारे सोंच्न थाले । त्यसैको नतिजा हो यो संस्मरण । जीवनको शुरुवाती १४ वर्ष मैले सिन्धुलीको सुम्नाम सुन्तलेमा बिताएको छु । त्यसैले मलाई अहिले पनि सिन्धुलीको सुम्नाम पोखरी बारे केही लेख्नुभन्दा बढी भावुक हुन सजिलो लाग्छ । अतित हमेशा रोमाञ्चकारी हुन्छ, बितेको भोगाइ होस वा समय दुवै रमाइलो ।
मैले सुम्नाम सुन्तले छाडेको २७ वर्ष भएछ । तर त्यहाँका सम्झना मेरो स्मृतिमा ताजै छन् । मैले निम्नमाध्यमिक शिक्षा पुरा गरेपछि हामी मध्य पहाडको जीवन अन्त्य गरेर भित्री मधेश बसाँई सरेका हौं । बसाँई सर्नु जति कठिन यो संसारमा मलाई अरु केही लाग्दैन । सबै छाडेर, सबैलाई छाडेर हिड्नु निश्चय नै कठिन रहेछ । ०५२ सालमा सुम्नाम छाड्दा त मैले बसाँईलाई यति गहिरो गरी बुझेको थिइँन । तर, अहिले लाग्छ, हामीले सुम्नामको घरबारी, सुम्नामवेशीको खेत मात्र छाडिएनछ, सँगै पढेका साथीभाइ, बालसखा, आफूलाई पढाउने सिकाउने प्रिय शिक्षक, माया गर्ने आफन्त, पशुपंक्षी, बनजंगल, विद्यालय, भूगोल, नदिनाला र सबै स्वजनहरु छाडिएछ । त्यसैले अहिले ती सबै सम्झिंदा ऐठन हुन्छ । सबैलाई छाडेर आफू मात्र हिड्ने भनेको बसाँई मात्र रहेछ । फडिन्द्र सरकी स्व. आमा हामीले सुम्नाम छाड्ने अघिल्लो दिन घरमा आएर हामीलाई छाडेर जाने भइहाल्यौ भन्दै रोएको मैले भुलेको छैन । मलाई त्यतिबेला उहाँको त्यो आँशुको अर्थ थाहा थिएन, तर अहिले लाग्छ त्यो साँचो मायाको अभिव्यक्ति थियो, विछोडको बेदना थियो ।
हुन त जन्मथलो छाडेर जाने बेला म सानै थिएँ, झिसमिसेमै भाइ र मलाई लिएर हाम्रा बाआमा बसाँई हिड्नुभयो । मैले हिड्ने बेला कसैलाई भेटिन, भेट्ने र गुडबाई भन्ने अवसर पनि पाइँन । सायद सुम्नाम पोखरीले मलाई गुडबाई भन्न दिएन । त्यसैले बसाँई हिडेपछि म अहिलेसम्म पनि सुम्नाम फर्किन सकेको छैन र मैले सुम्नामलाई गुडबाई भनेको पनि छैन, फिक्कललाई बाईबाई गरेको छैन, लुम्ती बिर्सेको छैन । अझैसम्म पनि म प्राय सपनामा सुम्नाम, डडुवा, बबला, लुम्ती, बरमथुम्की नै देख्छु । सुम्नाम पोखरीका सबै घुम्ती, गोरेटा, उकाली ओराली, ढुंगा, चौतारा, पानी पँधेराकै वरिपरि यो मन घुम्छ । बाल्यकालमै सुम्नाम, डडुवा र बबलाका अधिकांश घर परिवारसँग मेरो व्यक्तिगत पहुँच थियो, उहाँहरुको माया र आर्शिवाद पाएको थिएँ ।
पाँच वर्षको उमेरमा मैले शिक्षाका लागि पहिलो पाइला राखेको विद्यालय हो मावि सुम्नाम सुन्तले । म भर्ना हुँदा २०४४ सालमा यो स्कूलमा प्राथमिक तह मात्र चलाइएको थियो । २०१९ सालमा खोलिएको यो विद्यालयको जीवन पनि उतारचढावपूर्ण छ । शुरुमा २०१९ मा प्रावि, २०३७ मा निमावि, २०४३ मा फेरि प्रावि, २०६३ मा निमावि अनि २०६६ सालदेखि मावि सञ्चालन गरिएको हो सुम्नाम सुन्तलेमा । यो विद्यालय एकपटक शोकमा डुब्यो, आफ्नो हेडमास्टर हेमविक्रम काफ्लेको बाढीपहिरोमा निधन भएपछि स्कूल मात्र होइन, सुम्नाम सुन्तले नै शोकमा डुबेको थियो । पहाडलाई शोकले अरुलाई भन्दा बढी सताउँछ । त्यही कारण ०३७ मा निमावि चलेको विद्यालय काफ्लेको निधनपछि प्राविमा खुम्चिन बाध्य भयोे । यो दुखान्त सुम्नामका धेरैले बिर्सेका छैनन ।
पञ्चायतकालको पोखरी गाउँ पञ्चायत, बहुदल बेलाको पोखरी गाविस र गणतन्त्र कालको फिक्कल गाउँपालिकामा परेको छ मावि सुम्नाम सुन्तले । अहिलेको मावि सुम्नाम सुन्तलेमा मलाई आमाले २०४४ सालमा भर्ना गर्नुभएको हो । यो विद्यालय त्यतिबेला चण्डीभञ्ज्याङमा थियो । आमाले तत्कालीन हेडसर उदप आचार्यलाई भेटेर मेरो छोरालाई नकुटी राम्रोसँग पढाइ दिनु है सर भनेर सरलाई खाजा खर्च दिनुभएको मैले अहिले पनि बिर्सेको छैन । विद्यालय गएको पहिलो दिन नै मैले नयाँ किताब विना विद्यालय नआउने अडान लिएपछि हेडसरलाई संकट परेछ । नयाँ किताब नपाएपछि पहिलो दिन नै विद्यालयबाट फर्केर दारिमबोट पुगेपछि विद्यालयबाट उदप सरले फेरि मेरा साथी हर्कबहादुर सुनुवारलाई मलाई फर्काउन पठाउनु भएछ । हर्कमार्फत सरले नयाँ किताब दिने खबर पठाएपछि म फेरि स्कूल गएँ, नयाँ किताब पाएँ, किताब जतन गरेर राम्रोसँग पढ्ने शर्त सरको शर्त स्वीकार गरेँ । वस्तुत त्यसै बिन्दुबाट मैले अक्षर चिन्ने अवसर पाएँ, अक्षर चिनेपछि संसार उज्यालो लाग्न थाल्यो, स्कूल झन् रमाइलो लाग्न थाल्यो । शिक्षा हासिल गर्ने मार्गमा मेरो औपचारिक प्रवेश दुर्लभ घटना हो । किनभने पहाडमा धेरैलाई विभिन्न बाध्यताले विद्यालय जाने अवसर थिएन ।
विद्यालय जान थालेपछि नै मलाई पठनपाठन रमाइलो लाग्न थाल्यो, स्कूल जान पाउनु उत्सव जस्तो भयो, विद्यालय भर्ना भएको पहिलो वर्ष नै मैले कक्षा एक उत्तीर्ण गरेँ । कक्षा १ पास गरेर २ मा चढेको दिन म ज्यादै खुशि थिएँ । उदप कोइराला सरले नतिजा सुनाउनु भएको सम्झना छ । मेरो नाम उत्तीर्ण सूचिमा परेपछि त्यो खबर बाआमालाई सुनाउने हतारमा सुम्नाम उक्लिएको थिएँ । जीवनमा त्यस्तो खुशि विरैलै प्राप्त हुन्छ । मलाई विद्यालय जान प्रेरित गर्ने मेरा बालसखा चाहिँ गोपालप्रसाद पहाडी हुन् । उनले पहिला मलाई स्कूल जाऊ भनेका थिए, पछि आमालाई पनि भनेपछि म स्कूल जान थालेको हुँ ।
कक्षा १ मै हुँदा मावि सुम्नाम सुन्तले करमडाँडाँमा सारियो, केही सयम करमडाँडाँमा पनि पढेर कक्षा एक पुरा गरिएको हो । सुम्नाम सुन्तलेबाट चण्डीभञ्ज्याङ झर्न हामीलाई आधा घण्टादेखि ४५ मिनेट जति लाग्थ्यो । एक वर्ष मावि सुम्नाम सुन्तलेमा पढेपछि त्यो विद्यालयबाट हामी विदा भयौं । उदप आचार्य, तुलसीप्रसाद बराल, उदप कोइराला आदि हामीलाई कक्षा १ मा पढाउने चर्चित शिक्षक हुनुहुन्थ्यो । सजाय दिएर सिकाउने सरहरुको त्यतिबेलाको शिक्षण विधि प्रचलित थियो, सरको डरले कराएर, चर्को आवाजमा कख, कका, अआ सबैले सुन्ने गरी पढ्नु हाम्रो रहर र बाध्यता दुवै थियो । शिक्षकको डरले हामीलाई पढाइमा लाग्न बाध्य पारेको थियो, आजकल सिकाइमा सजाय उन्मूलन भएको छ । त्यसैले धेरैलाई हाम्रो कक्षा १ को भोगाई दन्त्यकथा लाग्न सक्छ ।
कक्षा १ उत्तीर्ण भएपछि भने सुम्नाम, बरमथुम्की र खन्टारतिरका हामी मावि सुम्नाम सुन्तलेबाट विदा भयौं । कारण थियो बरमथुम्कीमा स्थापना गरिएको नयाँ स्कूल प्रावि बरमथुम्की । त्यो विद्यालय हाम्रै लागि खुलेको थियो । स्थापना कालमा खरले छाएको, बाँसले बेराघेरा गरिएको दुई कोठाको थियो प्रावि बरमथुम्की । हामी भुँईमै बसेर पढ्थ्यौ । ०४५ सालमा खुलेको त्यो विद्यालय हामीलाई घरपायक थियो । हामी कक्षा १ पास गरेका छात्रछात्रा कक्षा २ मा त्यहाँ भर्ना भयौ, शुरुमै कक्षा १ र २ सञ्चालन भएको थियो त्यहाँ । मैले अक्षर सुम्नाम सुन्तलेमा चिने भने प्रावि तह प्रावि बरमथुम्कीबाट पुरा गरेको हुँ ।
प्रावि बरमथुम्की खुल्दा पोखरी पञ्चायतमा तत्कालीन प्रधानपञ्च खगेन्द्रप्रसाद काफ्लेको बोलबाला थियो । उहाँ, सहित मेरो बुबा मनमान विश्वकर्मा, भक्तबहादुर सुनुवार, पदमप्रसाद काफ्ले, झिल्के सार्की, देवीप्रसाद काफ्ले, फडिन्द्रनाथ पहाडी, धर्मप्रसाद दाहाल लगायतका धेरै अभिभावकको टोलीले प्रावि बरमथुम्की स्थापनामा अथक योगदान गर्नुभएको छ । प्राथमिक शिक्षा मावि सुम्नाम सुन्तलेमा पुरा गरी काठमाडौको जनप्रभात माविबाट एसएलसी उत्तीर्ण गर्नुभएका मेरा छिमेकी फडिन्द्रनाथ पहाडीलाई प्रावि बरमथुम्कीले शिक्षकको रुपमा पाउनु अर्को महत्वपूर्ण घटना थियो । उहाँ एक्लैले शुरुमा दुई कक्षा र पछि कक्षा पाँचसम्म सञ्चालन गर्नुभयो । फडिन्द्र सरको योगदान, मेहनत र जोशको योगफल हो प्रावि बरमथुम्की । काठमाडौंबाट माध्यमिक शिक्षा हासिल गर्नुभएका फडिन्द्र सर हाम्रा लागि सबै थोक बन्नुभयो । जतिजति हामी माथिल्लो कक्षामा उक्लिदै गयौ, उहाँले विद्यालयलाई कक्षा पाँचसम्म विस्तार गर्नुभयो, विद्यालयको नयाँ भवन खडा गर्नुभयो, शैक्षिक रेकर्ड पनि राम्रो भयो, अंग्रेजी, गणित, नेपाली आदि विषयमा फडिन्द्र सरको शिक्षण कला अब्बल थियो । मेरो व्यक्तिगत सौभाग्य के थियो भने म फडिन्द्र सरको नजिकको छिमेकी थिँए । यसको लाभ मलाई प्राप्त भयो । विद्यालय समय अघि र पछि पनि म सरसँगै हुन्थे, नजानेको कुरा सिक्ने अवसर हमेशा उपलब्ध थियो । मसँग जिज्ञासा थिए, सरसँग जवाफ थियो । मलाई एक प्रकारको सदाबहार निशुल्क होम ट्युशन उपलब्ध थियो ।
मेलै फडिन्द्र सरबारे किन पनि यति उल्लेख गर्नु परेको भने उहाँ अहिले मावि सुम्नाम सुन्तलेमा कार्यरत हुनुुहुन्छ, उहाँले प्रावि बरमथुम्की छाड्नु भएको धेरै वर्ष भयो । उहाँकै चेला मेरा सहपाठी टीकाप्रसाद न्यौपाने अहिले प्रावि बरमथुम्की प्रअ हुनुहुन्छ ।
फडिन्द्र सरले मेरो प्राथमिक तहको जग बलियो नबनाई दिनुभएको भए, मेरो जीवन सायद अहिलेको भन्दा फरक (सायद कमजोर) हुन सक्थ्यो होला । मानिसको जीवनको जग नै प्राथमिक शिक्षा हो । जसले प्राथमिक शिक्षा अब्बल पाएको छ, त्यो व्यक्तिको त्यसपछिको शिक्षा राम्रो भएको छ, अन्तत जीवन नै राम्रो भएको छ । ०४४ सालमा कक्षा १ मा मावि सुम्नाम सुन्तलेमा भर्ना भएको मैले कक्षा २ देखि ५ सम्म प्रावि बरमथुम्की, कक्षा ६ देखि ८ निमावि लुम्ती र कक्षा ९ र १० कमला मावि भलुवाहीबाट सम्पन्न गरेको हँु । त्यसपछि प्रविणता प्रमाणपत्र तह रत्नराज्य लक्ष्मी क्याम्पस, स्नातक त्रिचन्द्र क्याम्पस र स्नातकोत्तर कान्तिपुर सिटी कलेजबाट गरेको हुँ । मैले कक्षा एकदेखि एसएसम्म एक वर्ष पनि रोकिनु वा फेल हुनु परेन, हमेशा अब्बल नतिजा हासिल गरें । यसमा फडिन्द्र सरको देन छ ।
दमाहाढुंगीमा जन्मेर, सुम्नाममा हुर्के बढेको मैले फडिन्द्र सरबाट एउटा शिक्षक, अभिभावक, संरक्षक आदि सबैको भूमिका प्राप्त गरेको छु । आज म जहाँ पुगेको छु वा यात्रारत छु, त्यसको शुरुवात उहाँबाटै भएको हो । फडिन्द्र सर, मेरा लागि मात्र होइन, त्यस भेगका धेरै छात्रछात्राका लागि एक सफल शिक्षक मात्र होइन, अभिभावक पनि हुनुहुन्छ । सिन्धुलीबाट सुम्नाम फर्किदा होस् वा काठमाडौबाट गाउँ फर्किंदा, सरले आफ्ना भाइ बहिनी सरह मलाई कापी कलम, रिफिल आदि लगी दिनुहुन्थ्यो । सरसँग म खानेपानी मर्मत गर्न बल्छे खोला जान्थे, घरायसी कामहरुमा पनि म सरसँग हुन्थे । हरेक शुक्रबार हाजिरजवाफ प्रतियोगिता, भलिबल खेल हुन्थ्यो । प्रावि तहमै हामी त्यो बेला अतिरिक्त क्रियाकलापमा उत्साहका साथ सक्रिय थियौं ।
हाम्रो पालामा फडिन्द्र सर एक कलाप्रेमी, गायक, खेलप्रेमी, सांस्कृतिक कार्र्यक्रमका आयोजक पनि हुनुहन्थ्यो । रातो रानी फुले झैं साँझमा, आलु र तामा हजुर खान्न भन्छिन आमा, सिमली छायाँमा, नउठी भएन नेपालका दिदीबहिनी हो, ए परदा हटादो जरा मुखडा दिखादो जस्ता कयौं गीतका शब्द र गायन मैले पहिलोपटक सरबाट सुनेको हुँ, सिकेको हुँ । सुम्नाम सुन्तलेका लागि फडिन्द्र सर एक महान शिक्षक, एक महान अभिभावक, एक असल नागरिक तथा समाजसेवी हुनुहुन्छ । उहाँले सम्पूर्ण जीवन सम्नाम सुन्तलेको शैक्षिक विकासका लागि समर्पण गर्नुभएको छ ।
जब मैले प्रावि बरमथुम्कीबाट कक्षा ५ उत्तीर्ण गरें, त्यसपछि हाम्रै लागि फेरि लुम्तीको प्रावि प्रस्तावित निमावि बन्यो । हामीभन्दा अघिका दाईहरु बाहुनतिल्पुङ मावि जान्थे निम्नमाध्यमिक र माध्यमिक शिक्षाका लागि । तर, म आफूलाई भाग्यमानी ठान्छु, किनकि कक्षा दुईका लागि घर नजिकै प्रावि बरमथुम्की खुल्यो भने कक्षा ६ पढ्न लुम्तीमा निमावि खुल्यो । घरबाट नै स्कूल आउन जान मिल्ने भयो । प्राविसम्म छैटौं भएको म कक्षा ६ मा कक्षाको दोस्रो छात्र भएँ, मेरो पढाइ अझै चम्कियो, हौसला बढ्यो । लुम्ती गएपछि प्रिय शिक्षकहरु थपिए । तिनैमध्येका हुन चेतप्रसाद तिमल्सेना, शिवशंकार साह आदि । जीवनमा राम्रा शिक्षक पाउनु ठूलो शौभाग्य हो । राम्रा शिक्षकहरु कै योगदानले छात्रछात्राको सिकाइ र जीवन चम्किने हो । जागिरे शिक्षकले छात्रछात्राको जीवन बदल्न सक्दैनन् । पेशागत निष्ठा र लगन अनि छात्रछात्राको सिकाइप्रतिको जवाफदेहिताले शिक्षकहरुलाई महान बनाउँछ ।
मध्यपहाडको उजाड र सुख्खा जनजीवनमा पनि हाम्रो विद्यालय जीवन स्वर्णिम थियो । हामी पहाडमा भए पनि गरिबीको दुश्चक्रबाट मुक्त थियौं । ढुंगाले छाएको घर, सुम्नामवेशीमा खेत, नियमित लैना गाइ भैंसी, मकैको थाङग्रो, धानको भकारी, बुबाको कला र सीपको आर्जन, आमाको सामाजिकपन अनि गाउँलेहरुको मायामा हामी रमाएका थियौं । त्यतिबेलाको पहाडको सामान्य वैभव हामीलाई उपलब्ध थियो, त्यसैले परिवारमै मलाई पहिलो पटक विद्यालय जाने अवसर मिलेको हो । त्यतिबेला गरिबीको चपेटामा परेका मेरा धेरै साथीभाइले विद्यालय देख्न पाएनन् । म उनीहरुको अवस्थाप्रति दुखि हुन्छु ।
मलाई फडिन्द्र सरले विद्यालय परिवर्तन भए पनि निमावि तहसम्मै पढ्न सिक्न प्रेरित गरिरहनु भयो, नजानेको कुरा जहाँ पनि म सोधी हाल्ने, सरले त्यसको समाधान खोजी दिने । यही कारणले मेरो निमावि शिक्षा झन् सशक्त भएको थियो, मुख्य रुपमा गणितका समस्या समाधान गर्न सरको मार्गदर्शन मेरा लागि ज्यादै उपयोगी भयो ।
हामीले पढ्ने बेलाका विद्यालयमा शौचालय थिएन, खानेपानी थिएन, खाजा खान पाइन्नथ्यो । उकालो ओरालो करिब १ घन्टा भन्दा बढी हिंडेर पनि पढाइ नियमित गरिएको थियो । विद्यालय समय बाहेक घरका काम र खेतीपाती तथा पशुपालनमा पनि संलग्न हुने गरिन्थ्यो । वास्तममा हामी कहिले पनि पूर्णकालीन विद्यार्थी भएनौं । तैपनि हाम्रो सिकाइ उपलब्धि अब्बल थियो । विद्यालय समयपछि घरको काममा बाआमालाई सघाउनै पर्ने बाध्यता थियो मेरो । म त जेठो छोरो भएका कारण पनि घरका धेरै काम गर्नुपर्ने स्थिति थियो । पहाडमा कतिपय बेला दियालो, टुकी बालेर, आगोको उज्यालो आदिमा पनि पठनपाठन गर्नु सामान्य थियो । मेरो विद्यालय शिक्षा एक साधना थियो । आमाले राति १ बजेसम्म पनि नसुती पढेको देखेर अब सुत भनेको अझै पनि सम्झिन्छु । बिहानको पढाइका बेला फडिन्द्र सरले निद्रामा आएर उठाएर स्कूल लगेको अझै सम्झना आउँछ । पहाडमा कष्ट र पीडा त छ, तर पहाडी जीवनको निर्दोषपना, अपनत्व, सहयोगी भावना सबै पीडा भुलाउने औषधी बनेको छ ।
अहिले त पुरानो सुम्नाम सुन्तले छैन, बदलिएको छ । जहाँ भए पनि मनभरि सुम्नामकै सम्झना छ, सुम्नाम सुन्तलेकै माया छ । मावि सुम्नाम सुन्तलेकै योगदानको जगमा जीवन चलेको छ । देशका धेरै जिल्ला तथा ठाउँहरु घुमियो, विकसित देश अमेरिकासहित संसारका धेरै देश तथा शहरहरु देखियो, तर, आफू जन्मेबढेको अनि पढेको ठाउँ जति सुन्दर र प्रिय संसारको कुनै ठाउँ पनि लागेन ।
मावि सुम्नाम सुन्तले पनि हामीले पढेको बेलाको जस्तो छैन । यो स्कूल धेरै विकसित र सुविधा सम्पन्न भएको छ । भौतिक शैक्षिक पूर्वाधार गतिलो भएको छ । करिब २० जना कर्मचारी र शिक्षकहरुको लगनशील टिमलाई टेकबहादुर थापाले नेतृत्व गर्नुभएको छ । यो विद्यालयमा सिन्धुलीका मात्र होइन, सुनकोशीपारी ओखलढुंगा र लिखुपारी रामेछापका छात्रछात्राले पनि पठनपाठनको अवसर पाएका छन् । फिक्कल गाउँपालिकाले नमुना विद्यालय घोषणा गरेको रहेछ । पक्कै पनि यो विद्यालयलाई नमुना बनाउन गाउँपालिका अध्यक्ष पार्वती सुनुवारको ध्यान जानेछ । स्कूल राम्रो बन्न पर्याप्त लगानी जरुरी हुन्छ । अहिले कक्षा १० सम्म मात्र चलेको विद्यालयलाई कक्षा १२ सम्म विस्तार गर्न गाउँपालिकाले आवश्यक प्रबन्ध गर्न जरुरी छ ।
मावि सुम्नाम सुन्तलेले सिन्धुलीको दुर्गम क्षेत्रका बालबालिकको जीवनको जग बसाल्न ठूलो योगदान गरेको छ । नीजि विद्यालय नभएको, सबै अभिभावकको अनिवार्य रोजाइ भएको सार्वजनिक विद्यालयले सिमितता र चुनौतिहरुको बीचमा पनि अब्बल नतिजा दिनुपर्ने बाध्यता छ । मावि सुम्नाम सुन्तलेले यस भेगको शैक्षिक पक्षलाई अरु उजिल्याउनुको विकल्प छैन ।
कुनै पनि समाजको स्तर त्यो समाजको शिक्षाको स्तरले निर्धारण गर्छ, शिक्षाको विकास विना कुनै देशको विकास सम्भव छैन । त्यसैले सुम्नाम पोखरी जस्तो पहाडको जनजीवन त्यतिबेला मात्र गुल्जार हुन्छ, जतिबेला पहाडका छोराछोरीले राम्रो शिक्षा पाउँछन् । पहाडको कष्टकर जीवनलाई बदल्ने एक मात्र सूत्र स्तरीय शिक्षा मात्र हो । पहाडमा भौतिक पूर्वाधारको विकासभन्दा बढी शिक्षाको उन्नयन जरुरी छ । सबैको ध्यान सरकारी विद्यालयको सर्वपक्षीय विकास र छात्रछात्राको सिकाई उपलब्धि बढाउनेतिर सम्पूर्ण रुपमा केन्द्रित हुन जरुरी छ । देशले जति वटा संविधान वा व्यवस्था बदले पनि शिक्षाको स्तर नबदली देशको मुहार बदलिन सम्भव छैन ।
मावि सुम्नाम सुन्तलेको हिरक जयन्तीको अवसरमा विद्यालयका शिक्षक, कर्मचारी, छात्रछात्रा र अभिभावक सबैलाई शुभकामना । यहाँहरु सबैको जय होस् । सुम्नाम पोखरीको जय होस् ।
प्रतिक्रिया दिनुहोस्