काभ्रेपलान्चोकको सिपाघाटमा एक पुरुषलाई हातखुट्टा बाँधेर विष खुवाइएको छ । मण्डनदेउपुर नगरपालिका–६ सिपाघाटका अन्दाजी ५५ वर्षीय श्रीराम ढकाललाई अज्ञात समुहले रबरको ट्युबले हात खुट्टा बाँधेर विष खुवाएको पाइएको हो ।
गएराती करिब साढे १२ बजे ढकाललाई उनकी श्रीमती सिन्धुपाल्चोक बाहुने पाटी सप्ताहमा गएको मौका छोपी अज्ञात समूहले घरमा एक्लै सुतेका श्रीरामलाई रबरको ट्युबले दुवै हातलाई पछाडि र दुवै खुट्टालाई बाँधेर विष खुवाइएको अवस्थामा फेला पारिएको मण्डनपुर नगरपालिका वडा नम्बर ६ का वडा अध्यक्ष सोमप्रसाद ढकालले जानकारी दिए ।
अज्ञात समूहले श्रीरामको हातखुट्टा बाँधेर विष खुवाएपछि श्रीरामले चिच्याउँदै गुहार मागेपछि छिमेकीले वडा अध्यक्ष ढकाललाई खबर गरेका थिए । वडा अध्यक्ष ढकालका अनुसार श्रीरामलाई उपचारका लागि काठमाडौँ मेडिकल कलेज पठाइएको छ ।
घटनाको विषयमा अनुसन्धान गर्नका लागि जिल्ला प्रहरी कार्यालयबाट अनुसन्धान टोली घटनास्थलमा पुगी प्रहरी चौकी देउपुरको टोलीले रबरको ट्युब र त्रिकाल ५०५ नामको विषादी र बोतल बरामद गरेको छ ।
प्रतिक्रिया दिनुहोस्