Logo

भवानी कार्की

भाद्र ३, २०८० आईतबार

विद्यार्थीलाई यातना होइन प्रेम र सद्भावको शिक्षा


काठमाडौँ । भनिन्छ, बालबालिकाको पहिलो पाठशाला उनीहरुको घर हो । आमाबुबाको न्यानो काखमा बालबालिकाले जे सिक्छन् त्यसलाई उनीहरुको पहिलो पाठशाला मान्न सकिन्छ । दोस्रो भनेको विद्यालय जहाँ रहेर उनीहरुले आफ्नो जीवनलाई चाहिने हरेक पाठ सिक्दछन् । हरेक बालबालिकाले विद्यालयमा पनि घर जस्तै गुरु र गुरुआमाहरुको न्यानो काख खोजीरहेका हुन्छन् । उनीहरुको त्यो खाली मष्तिष्कले न्यानो माया सहित ज्ञानको ज्योती खोजीरहेका हुन्छन् ।

तर, अपसोस आजको युगमा पनि कतिपय स्थानमा विद्यार्थीहरु शिक्षकको चरम लापरवाहिका साथ पढ्न बाध्य छन् । निर्दोष बालबालिकाहरु चरम यातना भोग्न विवस् छन् । विद्यालय यस्तो ठाँउ हो, जहाँ हरेक बालबालिकाले स्वतन्त्रताका साथ ज्ञान हासिल गर्ने सुवर्ण अवसर पाउनु पर्छ । तर कतिपय विद्यालयमा अझैपनि विद्यार्थी माथि अमानविय व्यवहार हुने गरेको पाइन्छ । विभिन्न हिंसाजन्य क्रियाकलाप पनि विद्यालयमा हुने गरेको पाइएको छ ।

कतिपय विद्यालयमा शिक्षकद्धारा बालिकाहरु दुव्र्यवहारमा पर्दे आएका घटनाहरु पनि सार्वजनिक भएका छन् । कुनै कुनै घटनाले त विद्यालयमा भयावह स्थिति फैलाउनेसमेत सिर्जना भएको पाईन्छ । विद्यार्थीहरुमाथी हुने हिंसाका घटना आजभोली पल भरमै भाइरल हुन्छन् । यसरी सामाजिक सञ्जालमा आउने विद्यालयका अपाच्य क्रियाकलापका कारण धेरै विद्यार्थी र अभिभावकहरुको विद्यालयप्रतिको विश्वास गुम्न पुगेको छ ।

प्रत्येक आमाबुबाको आशाको केन्द्र भनेका नै उनीहरुका छोराछोरी हुन् । आफ्ना बालबालिकाको तोते बोली नफुड्दै गुणस्तरीय शिक्षा दिई भविष्यमा ठुलो मान्छे बनाउने सपना बोकेर विद्यालय पठाएका हुन्छन् । तसर्थ विद्यालयमा शिक्षक शिक्षिकाको बालमनोविज्ञान बुझ्न सक्ने क्षमता हुनुपर्दछ । ताकी बालबालिकाहरुको बालमस्तिष्कमा विद्यालयप्रति सकारात्मक असर परोस् ।

विगतको तुलनामा अहिलेको शिक्षा प्रणाली धेरै परिवर्तन भएको छ । बालबालिकाहरुलाई सम्मानका साथ प्रविधिमैत्री वातावरणमा शिक्षा दिइन्छ । तर पनि केही अभिभावक र केही शिक्षकका कारण विद्यार्थीहरुलाई नकारात्मक असर पर्न पनि गएको छ । कोही अभिभावहरु छोराछोरीलाई तह लागाउनका लागि पनि विद्यालय पठाउने गर्दछन् । कोही शिक्षकहरु अनुशासन सिकाउने नाममा विद्यार्थीहरुमाथी दुव्र्यवहार गर्दछन् । यस्तो प्रवृत्तिका कारण धेरै विद्यार्थीहरुको दिमागमा नकारात्मक असर पर्न गएको छ । त्यसकारण विद्यार्थीहरुलाई यातना कदापी दिनु हुँदैन ।

बालबालिकाको मनोभावना बुझेर उनीहरुको आवश्यकता पत्ता लगाउन सक्ने खुवी हरेक शिक्षक शिक्षिकामा हुनुपर्छ । सबै बालबालिकामा एकै खालको दिमाग हुँदैन । बालकालिकाहरुले आफ्ना आवश्यकताहरु पुरा गर्न सकिरहेका हुन्छन् वा हुँदैनन पनि । त्यसकारण विद्यालयमा शिक्षक शिक्षिकाले उनीहरुको पढ्ने सामाग्री, पढाईप्रति रुचि, घरमा पढ्न लेख्न मिल्ने उचित वातावरण छ वा छैन यस्ता कुराहरु मायालु ढंगले सोधेर पत्ता लगाउन सक्नुपर्छ ।

विद्यालयको गृहकार्य गरेनन् भने के कारणले गरेनन् त्यो कुरा बुझ्न जरुरी हुन्छ । विद्यार्थीहरुलाई पिटेर समस्याको समाधान कदापी हुँदैन । राम्रा कामका लागि विद्यार्थीहरुलाई जहिलेपनि प्रोत्साहन गर्नुपर्छ । विद्यार्थीहरुलाई चरम यातना दिएर पठनपाठन गराउने, किताब घोकाउने, इच्छा विपरीत काम गराउने जस्ता क्रियाकलाप गर्नुहुँदैन । विद्यार्थीहरुलाई आजको आवश्यकता माया र प्रेम सहितको शिक्षा हो । प्रेमले नै उनीहरुलाई हरेका कुरा सिकाउँछ र बुझाउछ पनि ।

माया र प्रेमले पठनपाठन गराउँदा अनुशासन, संस्कार सँस्कृति, एकआपसमा मेलमिलापको भावना सिक्दछन् । साथै उनीहरुलाई विद्यालयप्रतिको मोह जागृत भएर आउँछ । त्यसकारण विद्यार्थीहरुमा माया र प्रेमको आवश्यकता छ । प्रेम र सद्भावले सिकाउँदा हरेक कुरा सहज छ भने त्यसलाई किन लागु नगर्ने ? पक्कैपनि यी कुरालाई शिक्षकशिक्षिकाले ध्यान दिन आवश्यक छ ।

विद्यार्थीहरुको पढाइ लेखाइबारे जानकारी लिइरहनु प्रत्येक अभिभावको थप जिम्मेवरी हो । त्यसकारण अभिभावकहरुपनि आफ्ना छोराछोरी प्रति सजग हुन जरुरी छ । साथै विद्यार्थीहरुलाई दिइने यातना रोक्न विद्यालय प्रशासन पनि जिम्मेवार भई सक्षम र क्षमतावान तालिम प्राप्त शिक्षकहरु मात्र राख्नुपर्छ । हरेक विद्यालयमा विद्यार्थीलाई यातना दिने शिक्षकलाई कारवाही दिने व्यवस्था हुनुपर्छ । अन्य सम्बन्धित निकाय तथा नियमकारी संस्थाले पनि बालबालिकाहरुको शैक्षिक विकासमा विशेष चासो राख्न जरुरी छ ।