काठमाडौँ । बागमती प्रदेशसभा सदस्य कुन्दनराज काफ्लेले नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको सचेतक पदबाट राजीनामा दिएका छन् । मंगलबार बिहान संसदीय दलका नेता बहदुर सिं लामालाई उनले राजीनामा पत्र बुझाएका हुन् ।
नेपाली कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका सांसद काफ्लेले सचेतक पदबाट राजीनामा दिएसँगै सामाजिक सञ्जालबाट सो विषय सार्वजनिक समेत गरेका छन् ।
उनले आफ्नो निर्वाचन क्षेत्रका नागरिकहरूको सेवामा समय दिन नपाएको महसुस भएकाले सचेतक पदबाट राजीनामा दिएको बताए । पदबाट राजीनामा दिएका काफ्लेले आफ्नो सम्पूर्ण समय पार्टी सङ्गठनलाई चलायमान र गतिशील बनाउन तथा दोलखाका नागरिकहरूको सेवामा व्यतीत गर्ने बताए ।
गतिशील र सबल कांग्रेसले मात्र यो देश र लोकतन्त्रको भविष्य सुनिश्चित हुने सबैमा बोध भयकै कुरा हो । प्रमुख सचेतकको भूमिका निर्वाह गर्दा, पार्टी सङ्गठन र दोलखेली जनसेवामा समय अभाव महसुस गरेको छु । उनले भने । अतः केन्द्रीय सदस्यको रुपमा कांग्रेसमा नवीन ऊर्जा भर्न थप क्रियाशिल रहन र दोलखेली जनताको सेवामा थप समर्पित हुन सो पदबाट राजीनामा दियको छु । यस विचमा सहयोग गर्नुहुने नेपाली कांग्रेस, बागमती प्रदेशका सम्पूर्ण माननीय र सबैमा हार्दिक धन्यवाद व्यक्त गर्दछु ।
गत पुसमा नेकपा माओवादी केन्द्रको नेतृत्वमा नेकपा एमाले र राप्रपाको गठबन्धनको सरकार गठन गरेपछी कांग्रेस प्रतिपक्ष दल बनेको थियो । प्रतिपक्ष दल कांग्रेस रहँदा संसदीय दलका नेता लामाले उनलाई प्रमुख सचेतक नियुक्त गरेका थिए । तत्कालीन सत्ता गठबन्धन करिब २ महिना चल्दा काफ्लेलाई प्रमुख प्रतिपक्ष दलको मुख्य सचेतकको जिम्मेवारी तोकिएको थियो । गत फागुनमा सत्ता गठबन्धन परिवर्तनसंगै कांग्रेस सत्ता पक्ष बन्यो ।
कांग्रेस सत्तामा आएसँगै उनको प्रमुख सचेतक पद र सेवा सुविधा सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रका सांसद रत्न प्रसाद ढकालले पाएका थिए । ढकाल प्रमुख सचेतक बनेपछि उनी सचेतकको जिम्मेवारीमा रहनु परेको थियो ।
प्रतिक्रिया दिनुहोस्