Logo

बागमती पेज

आश्विन ९, २०८० मंगलबार

सन्दीप लामिछाने एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान


काठमाडौँ । १९औँ एसियाली खेलकुद प्रतियोगितामा सहभागी हुन नेपाली टोलीका प्रभावशाली स्पिनर सन्दीप लामिछाने मंगलबार चीनतर्फ प्रस्थान गरेका छन् । सन्दीपविरुद्ध लागेको जबरजस्ती करणी मुद्दाको सुनुवाइ गत आइतबार स्थगित भएको थियो ।

त्यसपछि उनी एसियाली खेलकुदमा सहभागी हुन चीन जाने अनुमान गरिएको थियो । उनले भने मानसिक तनावका कारण आफू चीन नजाने बताएका थिए । नेपाल क्रिकेट सङ्घ (क्यान) का नवनिर्वाचित पदाधिकारीहरूले सम्झाएपछि उनी चीन जान तयार भएका हुन् । त्यसपछि मंगलबार उनी एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका हुन् ।

एसियाली खेलकुदमा पुरुष क्रिकेट सेप्टेम्बर २७ देखि सुरु हुँदै छ । टी-२० ढाँचामा खेलाइने उक्त प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल मङ्गोलियासँग खेल्नेछ । काठमाडौँ जिल्ला अदालतमा आफूविरुद्ध मुद्दा चलिरहे पनि सन्दीपले यसअघि जिम्बाबेमा एकदिवसीय विश्वकपको छनोट तथा पाकिस्तान र श्रीलङ्कामा एसिया कप क्रिकेट खेलेका थिए ।

सन्दीपसँगै अर्का स्पिनर सागर ढकाल पनि मंगलबार नै एसियाली खेलकुदमा सहभागी हुन चीन प्रस्थान गरेका छन् । उनी अभ्यासका क्रममा घाइते भएका ललित राजवंशीको स्थानमा एसियाली खेलकुदको लागि टोलीमा परेका हुन् ।