Logo

मेघनाथ पहाडी

आश्विन १०, २०८० बुधबार

के हो हाईड्रोपोनिक विधि, कसरी गरिन्छ उत्पादन ?


काठमाडौँ । सामान्यतयाः खेती भन्ने वित्तिकै माटोमा गर्ने भन्ने बुझिन्छ । तर मटोमा मात्र नभएर पछिल्ला समय प्रविधिहरूबाट खेती गर्ने प्रचलन आएको छ । त्यसैको एउटा उदाहरण हो हाइड्रोपोनिक प्रविधि । हाइड्रोपोनिक एक विज्ञान हो जसमा माटोबिना नै खेती गर्न सकिन्छ ।

काठमाडौँको चाबहिल स्थित एवान एग्रोका संचालक परितोष घिमिरेले हाईड्रोपोनिक विधिबाट खेति गरिरहेका छन् । विगत १ वर्षदेखि हाईड्रोपोनिक विधिमार्फत खेती गर्दै आएका घिमिरे यो विधि छिटो, सजिलो र आजको युगमा प्रभावकारी भएको बताउँछन् । यसमा बिरुवालाई पोषक तत्व, पानी र अक्सिजनको सटीक मात्रामा आपूर्ति गरिन्छ । जसले उच्चतम वृद्धि र विकास गर्दछ ।

घिमिरेका अनुसार यो विधिबाट तरकारी उत्पादन गर्दा थोरै ठाउमा धेरै उत्पादन गर्न सकिन्छ । यसबाट उत्पादन गर्दा पनी र समयको धेरै बचत गर्न सकिन्छ । बेलाबेलामा गोड्ने, पानीलाउने, हेरचाह गरी रहनुपर्ने खालको झन्झटबाट मुक्त हुन सकिने उनको अनुभव छ ।

हाइड्रोपोनिक खेतीबाट उनले काउली, ब्रो काउली, करेला, क्याप्सिकम, खुर्सानी, पुँदीना, धनियाँ, काक्रा, टमाटर, साग लगायतका बाह्रैमहिना तरकारी उत्पादन गर्न सकिने संचालक घिमिरेले जनाए । शुरुमा इन्टरनेटका माध्यमबाट हाइड्रोपोनिक सम्बन्धि सामान्य ज्ञान लिएर खेती शुरु गरेका घिमिरेले भारतको गुजरातमा एक साता तालिम लिएर खेतीलाई अझ व्यवस्थित ढंगबाट संचालन गरेका छन् ।

हाइड्रोपोनिक खेती घर भित्र वा बाहिर गर्न सकिन्छ । पातदार सागदेखि फलफूल र तरकारीहरू सम्मका बिरुवाहरू यहाँबाट उत्पादन गर्न सकिन्छ । पछिल्लो समय खेतियोग्य जमिन सहरीकरणमा परीणत भईरहेको छ । त्यस्तो अवस्थामा आधुनिक प्रविधिका खेती गर्न मिल्ने सामाग्रीले उत्पादनमा मद्दत पुर्याउछ । नयाँ प्रविधिको प्रयोगले सहरी क्षेत्रका युवाहरुमा आँफैउत्पादन गर्नुपर्छ भन्ने सचेतना जगाउछ ।

हाइड्रोपोनिक्सका फाइदाहरू :

  • थोरै ठाउँ धेरै उत्पादन,
  • ठाउँको कुशल प्रयोग,
  • पानीको बचत,
  • छिटो बिरुवाको वृद्धि दर,
  • वातावरणीय प्रभावमा कमी,
  • उच्च उपज उत्पादन,
  • वर्षभरि उत्पादन,
  • उच्च गुणस्तरिय र स्वास्थ्य उत्पादन

टोखामा यस विधिबाट खेती गर्दै आएकी रोनिसा भण्डारी हाइड्रोपोनिक्सले खाद्य सुरक्षा, श्रोत संरक्षण र वातावरणीय दिगोपनका लागि नेपालमा परम्परागत कृषिको प्रभावकारी विकल्प हुन सक्ने बताउछिन् । हाइड्रोपोनिक खेतीले धेरै उब्जाउने गर्दछ, जसले किसानहरूलाई कम ठाउँ र थोरै स्रोतहरूमा बढी उत्पादन दिनसक्ने उनको भनाई छ ।