Logo

बागमती पेज

आश्विन १४, २०८० आईतबार

के हो स्तन क्यान्सर, कसरी बच्ने ?


काठमाडौँ । बूढानीलकण्ठ ९ मा आईतबार स्तन क्यान्सर सम्बन्धि जनचेतनामुलक कार्यक्रम सम्पन्न भएको छ । भारतको राजिव गान्धी क्यान्सर अस्पताल नयाँ दिल्लीबाट आएका स्तन क्यान्सर विषेशज्ञहरुले यस सम्बन्धी जानकारी वडा कार्यालयको सभाहलमा दिएका थिए ।

नेपालमा स्तन क्यान्सरबाट वर्षेनि धेरै महिलाको मृत्यु हुने गरेका छन्। पाठेघरको मुखको क्यान्सर पछि महिलामा सबैभन्दा बढी हुने क्यान्सर स्तन क्यान्सर हो। नेपालमा ३० देखि ५० वर्ष उमेरका महिलाहरूमा स्तन क्यान्सर बढी देखिन्छ।

बूढानीलकण्ठ ९ मा आईतबार सम्पन्न स्तन क्यान्सम सम्बन्धि जनचेतनामूलक कार्यक्रममा राजिव गान्धी क्यान्सर अस्पताल नयाँ दिल्लीबाट आएका स्तन क्यान्सर विषेशज्ञ डा. गरिमा डागाले स्तनका कोषहरू असामान्य रूपमा वृद्धि हुन थालेपछि स्तन क्यान्सरको सम्भावना हुने बताइन् । साधारणतया कोषहरूको वृद्धि र विभाजन शरीरको आवश्यकता अनुसार हुन्छ । तर, जब शीघ्र रूपमा र धेरै मात्रामा कोषहरू वृद्धि र विभाजन हुन्छन्, पुराना कोषहरू टाँसिएर रहन्छन् तब गिर्खा वा ट्युमर बन्ने प्रक्रिया सुरु हुने उनले जनाईन् ।

स्तन क्यान्सरका लक्षणहरु

  • नदुख्ने गाँठो आएमा,
  • स्तनको मुन्टाबाट रगत बगेमा,
  • स्तनको मुन्टा भित्र जान थालेमा,
  • छालामा निको नहुने घाउ आएमा,
  • काखीमा गाँठागुँठी आएमा,
  • स्तनको रङ परिवर्तन हुन थालेमा ।

अस्वस्थकर जीवनयापन, विभिन्न खाले औषधिहरूको प्रयोग, बच्चालाई स्तनपान यथेष्ट मात्रामा नगराउने, आन्तरिक रोगबारे खुलेर चर्चा नगर्ने, लाज मान्ने जस्ता कारणले स्तन क्यान्सरको प्रकोप बढिरहेको राजिव गान्धी क्यान्सर अस्पतालका नयाँ दिल्ली बाट आएका स्तन क्यान्सर विषेशज्ञ डा राजिव कुमारले जनाए ।

स्तन क्यान्सरका कारण

स्तन क्यान्सरको ठोस कारण पत्ता नलागे पनि निम्न कारणहरूलाई जोखिम मानिएको स्तन क्यान्सर विषेशज्ञ डा राजिव कुमारले जनाए । वंशाणुगत (रगतको नातामध्ये आमा, दिदी, बहिनी, छोरी कसै एकमा भएमा) कारण स्नत क्यान्सर हुन सक्छ । करिब १० प्रतिशतमा वशांणुगत कारणले स्तन क्यान्सर हुन्छ ।

  • हर्मोनहरुमा गडबडी हुनाले पनि स्तन क्यान्सर हुन सक्छ ।
  • नियमित मदिरा सेवन गर्ने महिलामा ।
  • परिवार नियोजनका साधान पिल्सहरु प्रयोग गर्ने महिलामा क्यान्सर हुन सक्ने सम्भावना बढी हुन्छ ।
  • जिनमा खराबी आएमा पनि क्यान्सर हुन सक्छ ।
  • दूध खुवाउने महिलाले बच्चालाई दूध खुवाएनन् भने पनि क्यान्सर हुन सक्छ ।
  • महिनावारीको गडबडी छ भने पनि स्तन क्यान्सर हुन सक्छ ।
  • बच्चा नभएका महिलालाई स्तन क्यान्सरको जोखिम हुन्छ ।
  • बढी उमेरमा बच्चा जन्माउने महिलालाई स्तन क्यान्सरको सम्भावना हुन्छ ।

स्तन क्यान्सरको उपचार :

स्तन क्यान्सरको उपचार क्यान्सरको चरण, आकार, उमेर, हर्मोनको अवस्था, महिनावारी सुकेपछि वा अघि आदि अवस्थाका आधारमा हुन्छ । शल्यक्रिया (सर्जरी), केमोथेरापी, रेडियोथेरापी, हर्मोनलथेरापी र टार्गेटेड थेरापी यसका उपचार विधि हुन् । यी सबै उपचार सुविधा नेपालमा उपलब्ध छन् ।

यदि, स्तन क्यान्सर भइसकेको पत्ता लाग्यो भने सम्बन्धित सर्जनलाई नै देखाउनुपर्छ । क्यान्सरका लागि गरिने ब्रेस्ट सर्जरी र अन्य सर्जरी फरक कुरा हुन् । सर्जरी गर्दा स्तनको गाँठो मात्र निकालेर हुँदैन । छेउको लिम्फमोड लगायत हेर्नुपर्छ । धेरै जना बिरामी सही डाक्टरकोमा पुग्न नसकेर पनि उचित उपचार सेवाबाट वञ्चित हुने गरेका छन् । ब्रेस्ट सर्जरी दुई तरिकाले गरिन्छ । पहिलो हो स्तनलाई नफाली गरिने ‘ब्रेस्ट कन्र्जभेसन सर्जरी’ ।

वडाअध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले वडावासीको स्वास्थ्यमा समस्या नआवस र सामान्य समस्या आएमा पनि जटिल बन्न नदिन वडाले स्वास्थ्य सम्बन्धि विभिन्न कार्यक्रम गर्ने गरेको जनाइन् । उनले आगामी दिनमा पनि विभिन्न किसिमका स्वास्थ्य सम्बन्धि कार्यक्रम वडाले गर्ने जनाएकी छन् ।