Logo

बागमती पेज

आश्विन १५, २०८० सोमबार

नेपाल बास्केटबल लिगमा बूढानीलकण्ठ क्लबको विजयी सुरुवात


काठमाडौँ । बूढानीलकण्ठ बास्केटबल क्लबले राष्ट्रिय बास्केटबल लिग (एनबीएल) मा विजयी सुरुवात गरेको छ । लिग अन्तर्गत असोज १४ गते भएको खेलमा बूढानीलकण्ठले कीर्तिपुर बास्केटबल क्लबलाई पराजित गरेको हो ।

दशरथ रंगशाला कवर्डहलमा संचालन भएको खेलमा बूढानीलकण्ठले कीर्तिपुरलाई ७१-६४ ले पराजित गरि लिगको पहिलो खेलमै जित हासिल गर्न सफल भएको छ ।

खेलमा उत्कृष्ट प्रदर्शनी देखाएका बूढानीलकण्ठका विराज राणा मोस्ट भ्यालुएबल प्लेयर (एमभीपी) घोषित भए । उनले नगद रु।१० हजार पाएका छन् ।

बूढानीलकण्ठ बास्केटबल क्लबबाट प्रगुन महर्जन, बिराज राणा, तेन्जिङ सोनाम, आङ् शेर्पा र सौगात सिंह पहिलो लाईनअपमा समावेश भएका थिए ।

खेलको पहिलो क्वार्टर देखिनै स्कोर बोर्डको अग्र स्थानमा रहेको बूढानीलकण्ठले अन्तिम क्वार्टर सम्मै कीर्तिपरलाई पछि पारेको थियो । पहिलो क्वार्टरको खेलमा बूढानीलकण्ठको १७ थियो भने कीर्तिपुरको १० रहेको थियो ।

यस्तै दोस्रो क्वार्टरमा बूढानीलकण्ठको ३४ स्कोरलाई पछ्याउदै कीर्तिपुरले ३२ स्कोर गरेको थियो । तेस्रोमा बूढानीलकण्ठले कीर्तिपुरलाई ५३-४९ मतअंतर पारेको थियो भने अन्तिम क्वार्टर सम्म आईपुग्दा स्कोर ७१-६४ भएको थियो ।

खेलमा बूढानीलकण्ठलाई हौसला प्रदान गर्न बूढानीलकण्ठबाट नगर प्रवक्ता नवराज भट्टराई सहित अन्य खेलप्रेमीहरु ठुलो जमातमा रंगशाला पुगेका थिए ।

बूढानीलकण्ठले आफ्नो पहिलो जित सँगै लिगमा २ पोईन्ट हात पार्न सफल भएको छ । क्लबले लिगको अझै ७ वटा खेल खेल्न बाँकि छ । लिगको अवधारणा अनुसार सम्पुर्ण खेल पश्चात शीर्ष पोईन्ट प्राप्त गर्ने समुह विजेता घोषित हुन्छन् ।

बूढानीलकण्ठले लिगको दोस्रो खेल असोज १६ गते मंगलबार डिफेन्डिङ च्याम्पियन टाईम्स ईन्टरनेशनल संग बेलुकी ५ः३० बजे खेल्ने छ ।

खेलको कान्तिपुर एचडी टिभीमा प्रत्यक्ष प्रसारण हुन्छ ।