Logo

बागमती पेज

चैत्र १, २०८० बिहीबार

रातभरि हेडफोनमा गीत लगाएर सुत्नु हुन्छ ? सावधान !


आजभोलि हेडफोन लगाएर गीत नसुन्ने त को नै होला र ? केही मान्छेमा त यसको लत यति धेरै छ कि बिना हेडफोन वा इयरफोन घरबाटै निस्किदैनन् ।

टाढाको यात्रा होस् वा कार्यालयसम्म जानु पर्ने होस् कानमा केही न केही सुनिरहेका हुन्छन् । तर यो बानी हानिकारक पनि हुन सक्छ । चीनमा एकजना महिलासँग यस्तै भएको छ ।

हेडफोन लगाउने बानीका कारण वाङ नाम गरेकी युवतिको श्रवण क्षमता क्षति पुगेको छ । शान्तोङ प्रान्तमा एक स्थानीय कम्पनीमा वाङ सेक्रेटरीको रूपमा काम गर्थिन् । श्रवणमा समस्या देखिएपछि उनी कान जँचाउन अस्पताल गइन् ।

सुपरभाइजरले मिटिङमा हरेक पटक साउतीमा उनीसँग बोल्दा उनले सुन्दै सुन्दिन थिइन् । यसका कारण कार्यालयमै समस्या हुने हो कि भन्ने चिन्ता उनमा बढ्यो । जाँचको क्रममा देब्रे कानमा स्थायी रूपमा न्यूरोलोजिकल क्षति भएको पाइयो । यसकै कारण उनले सुपरभाइजरले बोलेको बुझ्दिन थिइन् ।

लामो समयसम्म ठुलो आवाज सुनेको थियो कि भनेर सोध्दा वाङले २ वर्षदेखि हरेक रात कानमा हेडफोन लगाएर गीत सुनेर आफू सुत्ने गरेको बताइन् । कलेज हुँदादेखि नै वाङमा गीत सुन्दै सुत्ने बानी थियो । उनी रातभरि हेडफोन लगाएर सुत्थिन् । यसो गर्नु उनको बानी नै भएको थियो । हरेक रात हेडफोनमा गीत सुन्ने बानीका कारण उनको देब्रे कानको श्रवण क्षमता गुम्यो । राम्रो कुरा चाहिँ के थियो भने दाहिने कानमा ठुलो समस्या भएन ।

ताइवानमा सन् २०१९ मा यस्तै घटना भएको थियो । एयरपडबाट गीत सुनेर सुत्दा एक बिहान बिउँझिँदा महिलाको एउटा कानले सुन्नै छाड्यो । यति बेला वाङको कथा सामाजिक सञ्जालमा भाइरल भइरहेको छ । डाक्टरहरूले थ्री ६० को सिद्धान्त अपनाउन सुझाव दिइरहेका छन् । लामो समयसम्म ६० डेसिबलभन्दा बढी आवाज भएको ठाउँमा नबस्न, ६० मिनेट भन्दा बढी समय ठुलो स्वरमा गीत नसुन्न र आवाज आउने विद्युतीय उपकरणहरू चलाउँदा आवाजलाई ६० प्रतिशत भन्दा कममा राख्न उनीहरूको सुझाव छ ।