Logo

बागमती पेज

बैशाख ३, २०८१ सोमबार

एसीसी प्रिमियर कपमा नेपालको लगातार तेस्रो जित, हङ्कङलाई ८ विकेटले हरायो


काठमाडौँ । ओमानमा जारी एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगितामा नेपालले लगातार तेस्रो जित हासिल गरेको छ । नेपालले सोमबार सम्पन्न आफ्नो तेस्रो खेलमा हङ्कङलाई आठ विकेटले पराजित गरेको हो ।

टस हारी पहिले ब्याटिङको निम्तो पाएको हङ्कङले १७.५ ओभरमा लआउट हुनुअघि एक सय १४ रन बनाएको थियो । जवाफी ब्याटिङमा ओर्लिएको नेपालले १२.२ ओभरमा केवल दुई विकेट गुमाएर एक सय १७ रन बनाउँदै विजयलक्ष्य पार ग¥यो । वर्षाका कारण निर्धारित समयभन्दा ढिलो सुरु भएकाले खेल १८–१८ ओभरमा झारिएको थियो ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करणमा नेपालले हात पारेको यो लगातार तेस्रो जित हो । यसअघि नेपाली टोलीले आफ्नो पहिलो खेलमा मलेसियालाई पाँच विकेटले र दोस्रो खेलमा कतारलाई ३२ रनले हराएको थियो । नेपाली टोली ६ अंकसहित समूह ‘ए’ तालिकाको पहिलो स्थानमा आसिन छ ।

अंक तालिकामा दुई खेल खेलेको साउदी अरेबिया दुई अंकसहित दोस्रो, समान खेल खेलेको मलेसिया दुई अंकसहित तेस्रो, तीन खेल खेलेको हङ्कङ दुई अंकसहित चौथो र दुई खेल खेलेर अंक जोड्न नसकेको कतार पाँचौँ स्थानमा छन् ।

नेपालका जितमा आसिफ शेखले ४० रनको योगदान गरे । उनले केवल १८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काए । अर्का ओपनर कुशल भुर्तेलले पनि टोलीको खातामा ३२ रन थपे । उनले १९ बलमा दुई छक्का र तीन चौका प्रहार गरे ।

आसिफ शेख र कुशल भुर्तेलले ओपनिङ विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रनको कोशे ढुङ्गा पनि पार गरे । कप्तान रोहित पौडेलले पनि अविजित २५ रन बनाए ।

तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान रोहितले २० बलमा तीन चौका पनि हिर्काए । चौथो नम्बरका ब्याट्सम्यान सन्दीप जोरा १९ रनमा अविजित रहे । उनले १७ बलको सामना गरी एक छक्का र एक चौका पनि हिर्काएका थिए ।

पहिले ब्याटिङ गरेको हङ्कङलाई ठुलो योगफल बनाउनबाट रोक्न नेपाली टोलीका बलर अविनाश बोहराले तीन विकेट लिएका थिए । उनले चार ओभरमा २९ रन खर्चिए । दीपेन्द्रसिंह ऐरी र ललित राजवंशीले पनि दुई–दुई विकेट हात पारे । करण केसीले पनि एक विकेट लिए ।

हङ्कङका लागि ओपनर अन्शी रथले सर्वाधिक ३४ रन बनाए । जिसन अलीले १४ रन बटुले । कप्तान निजाकत खानले १२ र एहसान खानले ११ रन बनाए । अन्य ब्याट्सम्यानले भने दोहोरो अंकमा रन जोड्न सकेनन् । हङ्कङले अतिरिक्त रुपमा आठ रन पायो ।

नेपालले पहिलो विकेटका रुपमा ओपनर ब्याट्सम्यान कुलश भुर्तेललाई गुमाएको थियो । उनले पेभेलियन फर्किनुअघि टोलीका लागि ३२ रनको योगदान गरेका थिए । यस क्रममा उनले केवल १९ बलको सामना गरी दुई छक्का र तीन चौका हिर्काएका थिए ।

कुशल भुर्तेल र आसिफ शेखले ओपनिङ विकेटका लागि ७० रनको साझेदारी गरेका थिए । ५.३ ओभरमा कुशल भुर्तेल आउट हुँदा नेपालले जिततर्फको यात्रा तय गरिसकेको थियो । उनलाई हङ्कङका बलर यासिम मुर्तजाले एलबीडब्लूको धरापमा पारेका थिए ।

नेपालले दोस्रो विकेटका रुपमा अर्का ओपनर आसिफ शेखलाई गुमाएको थियो । उनी टोलीका लागि ४० रनको योगदान गर्दै पेभेलियन फर्किएका थिए । यस क्रममा उनले केवल १८ बलको सामना गरी तीन छक्का र तीन चौका पनि हिर्काएका थिए ।

सातौँ ओभरको पाँचौँ बलमा आसिफ शेख आउट हुँदा नेपालले ७६ रन बनाएको थियो । विकेटकिपर ब्याट्सम्यान आसिफ शेखलाई हङ्कङका बलर एहसान खानले आफ्नै बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए ।

त्यसअघि आसिफ शेखले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा एक हजार रन पुरा गरेका थिए । सोमबारको खेलअघि उनले टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा ४० खेल खेल्दै कुल नौ सय ६८ रन बनाएका थिए । सोमबार हङ्कङविरुद्धको खेलमा ३२ रन बनाएपछि उनको एक हजार रन पुरा भएको थियो ।

२२ वर्षीय आसिफ शेखले टी–२० अन्तर्राष्ट्रियमा पाँचवटा अर्धशतक पनि प्रहार गरेका छन् । उनी हङ्कङविरुद्धको खेलमा भने केवल १० रनका कारण अर्धशतक पुरा गर्नबाट चुकेका थिए । टी–२० अन्तर्राष्ट्रिय क्रिकेटमा उनको उत्कृष्ट प्रदर्शन भने अविजित ६४ रन हो ।

त्यसअघि हङ्कङको पहिलो विकेट करण केसीले लिएका थिए । करणले हङ्कङका ओपनर ब्याट्सम्यान मार्टिन कोट्जीलाई आठ रनको ब्यक्तिगत स्कोरमा विकेटकिपर आसिफ शेखद्वारा क्याच गराएका थिए । २.१ ओभरमा कोट्जी आउट हुँदा हङ्कङले १२ रन बनाएको थियो ।

हङ्कङले दोस्रो विकेटका रुपमा कप्तान निजाकत खानलाई १२ रनको ब्यक्तिगत स्कोरमा गुमाएको थियो । तेस्रो नम्बरमा क्रिज समाल्न आएका कप्तान निजाकतलाई दीपेन्द्रसिंह ऐरीले रन आउट गराएका थिए । ५.४ ओभरमा निजाकत आउट हुँदा हङ्कङले ३७ रन बनाएको थियो ।

हङ्कङले तेस्रो विकेटका रुपमा ओपनर ब्याट्सम्यान अन्शी रथलाई गुमाएको थियो । उनललाई गुलसन झाले उत्कृष्ट रन आउट गराएका थिए । पेभेलियन फर्किनुअघि अन्शीले २६ बलमा एक छक्का र चार चौकाको मद्दतले ३४ रन बनाएका थिए । ८.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६२ रन बनाएको थियो ।

हङ्कङको चौथो विकेट ललित राजवंशीले लिएका थिए । ललितले हङ्कङका अनुभवी ब्याट्सम्यान बाबर हायातलाई आफ्नो बलिङमा आफैले क्याच लिँदै पेभेलियन फर्काएका थिए । पेभेलियन फर्किनुअघि चौको नम्बरका ब्याट्सम्यान बाबर हायातले ६ रन बनाएका थिए । ९.२ ओभरमा उनी आउट हुँदा हङ्कङले ६८ रन बनाएको थियो ।

हङ्कङको पाँचौँ विकेट पनि ललित राजवंशीले नै लिएका हुन् । उनले हङ्कङका पाँचौँ नम्बरका ब्याट्सम्यान ईजाज खानलाई सात रनको ब्यक्तिगत स्कोरमा एलबीडब्लूको धरापमा पारेका थिए । ललितले लिएको यो दोस्रो विकेट थियो । ११.२ ओभरमा ईजाज आउट हुँदा हङ्कङले ७६ रन बनाएको थियो ।

हङ्कङको छैटौँ विकेट अविनाश बोहराले लिएका थिए । उनले हङ्कङका छैटौँ नम्बरका ब्याट्सम्यान यासिम मुर्तजालाई दुई रनको ब्यक्तिग स्कोरमा बोल्ड गरेका थिए । १२.१ ओभरमा यासिम मुर्तजा आउट हुँदा हङ्कङले ७६ रन बनाएको थियो ।

हङ्कङको सातौँ विकेट पनि अविनाश बोहराले नै लिएका थिए । उनले हङ्कङका आठौँ नम्बरका ब्याट्सम्यान नसरुल्ला राणालाई ६ रनको ब्यक्तिगत स्कोरमा ललित राजवंशीद्वारा क्याच गराएका थिए । अविनाशले लिएको यो दोस्रो विकेट थियो । १४.५ ओभरमा नसुरुल्ला आउट हुँदा हङ्कङले ८९ रन बनाएको थियो ।

हङ्कङको आठौँ विकेट पनि अविनाश बोहराले नै लिएका थिए । उनले हङ्कङका सातौँ नम्बरका ब्याट्सम्यान जिसन अलीलाई १४ रनको ब्यक्तिगत स्कोरमा दीपेन्द्रसिंह ऐरीद्वारा क्याच गराएका थिए । अविनाशले लिएको यो तेस्रो विकेट थियो । १६.३ ओभरमा जिसन अली आउट हुँदा हङ्कङले एक सय दुई रन बनाएको थियो ।

हङ्कङको नवौँ विकेट दीपेन्द्रसिंह ऐरीले लिएका थिए । उनले हङ्कङका नवौँ नम्बरका ब्याट्सम्यान एहसान खानलाई ११ रनको ब्यक्तिगत स्कोरमा बोल्ड गरेका थिए । १७.४ ओभरमा एहसान आउट हुँदा हङ्कङले एक सय १४ रन बनाएको थियो ।

त्यसलगत्तै अर्को बलमा दीपेन्द्रले नै हङ्कङका अर्का ब्याट्सम्यान धनन्जय रावलाई पनि बोल्ड गरेका थिए । धनन्जयले पेभेलियन फर्किनुअघि खातासम्म खोल्न सकेनन् । दीपेन्द्रले लिएको यो लगातार दोस्रो विकेट थियो ।

नेपाल एसीसी प्रिमियर कपको साविक विजेता पनि हो । अघिल्लो वर्ष घरेलु मैदानमा आयोजना भएको एसीसी प्रिमियर कपको फाइनलमा नेपालले यूएईलाई सात विकेटले हराएको थियो । सोही प्रतियोगिताको विजेता बन्दै नेपाल एसिया कपमा छनोट भएको थियो ।

एसीसीका एसोसिएट्स सदस्य राष्ट्रका लागि प्रिमियर कप क्रिकेट महत्त्वपूर्ण प्रतियोगिता हो । यही प्रतियोगिताले एसोसिएट्स सदस्य राष्ट्रका लागि एसिया कपजस्तो ठुलो प्रतियोगिता खेल्ने अवसर प्रदान गर्छ । एसिया कपमा छनोट भएको एसोसिएट्स सदस्य राष्ट्रले बलिया टेस्ट राष्ट्रहरूसँग भिडन्त गर्ने अवसर पाउँछ ।

एसिया कपमा भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश र अफगानिस्तानले सहभागिता जनाउँछन् । सन् २०२३ को एसिया कपमा नेपाल समूह ‘ए’ मा परेको थियो । नेपालको समूहमा विश्व क्रिकेटका दुई चिर प्रतिद्वन्द्वी राष्ट्र भारत र पाकिस्तान पनि थिए ।

भारत र पाकिस्तानविरुद्धको खेलमा नेपाली खेलाडीको प्रदर्शन पनि उत्कृष्ट थियो । यद्यपि, दुवै खेलमा नेपाली टोली पराजित भएको थियो । खासगरी भारतविरुद्धको खेलमा नेपाली ब्याट्सम्यानले उत्कृष्ट प्रदर्शन गरेका थिए । पाकिस्तानविरुद्धको खेलमा भने नेपाली बलरहरुले गतिलो प्रदर्शन गरेका थिए ।

एसीसी प्रिमियर कपको दोस्रो संस्करण नेपालका लागि अर्को अर्थमा पनि महत्त्वपूर्ण रहेको छ । एसीसी प्रिमियर कपको अघिल्लो संस्करण एकदिवसीय ढाँचामा खेलाइएको थियो । तर, दोस्रो संस्करण भने टी–२० ढाँचामा खेलाइँदै छ ।

त्यसैले एसीसी प्रिमियर कपको दोस्रो संस्करणले यसै वर्षको जुनमा अमेरिका र वेस्ट इन्डियामा आयोजना हुने आईसीसी टी–२० विश्वकपको तयारीलाई पनि सहयोग पु¥याउने छ । आगामी टी–२० विश्वकपमा नेपालले पनि सहभागिता जनाउँदै छ ।

यसपटक एसीसी प्रिमियर कपमा सहभागी हुने अर्को एक राष्ट्र ओमानले पनि टी–२० विश्वकपमा सहभागिता जनाउँदै छ । टी–२० विश्वकपमा सहभागी यी दुवै राष्ट्रका लागि एसीसी प्रिमियर कप आफ्नो प्रदर्शनमा सुधार ल्याउने गतिलो अवसर पनि हो ।

नेपालसहित आठ राष्ट्र एसोसिएट्स सदस्य राष्ट्रहरूको आईसीसी वरीयताका आधारमा प्रतियोगितामा छनोट भएका हुन् । बाँकी दुई राष्ट्र साउदी अरेबिया र कम्बोडिया भने एसीसी पुरुष च्यालेन्जर कपबाट एसीसी प्रिमियर कपमा छनोट भएका हुन् ।

यसपटक प्रिमियर कपको समूह ‘बी’ मा बहराइन, कम्बोडिया, कुवेत, आयोजक ओमान र यूएई रहेका छन् । नेपाली टोलीले समूहगत चरणको अन्तिम खेल बुधबार साउदी अरेबियासँग खेल्नेछ । समूहगत चरणको समाप्तिपछि दुवै समूहबाट दुई–दुई टोली सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

दुवै सेमिफाइनल खेल अप्रिल १९ तारिखमा खेलिने छ । सेमिफाइनलमा विजयी हुने टोली फाइनलमा पुग्नेछन् भने पराजित दुई टोलीबिच अप्रिल २० तारिखमा तेस्रो स्थानका लागि खेल हुनेछ । फाइनल खेल अप्रिल २१ तारिखमा खेलिने छ ।