Logo

बागमती पेज

बैशाख ११, २०८१ मंगलबार

कतारी अमिरको राजकीय भ्रमण सम्बन्ध विस्तारको अवसर


काठमाडौं । कतारका अमिर (राजा) शेख तमिम बिन हमाद अल थानी दुईदिने राजकीय भ्रमणका लागि मंगलबार नेपाल आउँदा उनलाई स्वागत गर्न नेपालका राष्ट्रपति राष्ट्रपति रामचन्द्र पौडेललै विमानस्थल पुग्दैछन् ।

परराष्ट्र मन्त्रालयका प्रवक्ता सहसचिव अमृत राईले कतारी अमिर थानीको स्वागतका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिए । ‘नियमित उच्चस्तरीय राजकीय भ्रमणका लागि आवश्यक तयारी पूरा भएको छ’, प्रवक्ता राईले भने, ‘राष्ट्रपतिज्यूले नै स्वागत गर्ने तयारी छ ।’

प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार रुपक सापकोटाले कतारबाट पहिलोपटक हुन लागेको उच्चस्तरीय भ्रमणलाई सरकारले द्विपक्षीय सम्बन्ध विकास र विस्तार गर्ने गरी उच्च प्राथमिकतामा राखेको बताए ।

‘स्वाभाविक हिसाबले सरकार आर्थिक समृद्धिमा केन्द्रित भएको अवस्था र कतार पनि लगानी गर्न सक्ने हैसियतमा भएकाले आर्थिक र श्रम सहकार्य तथा लगानी भित्रिनसक्ने कोणबाट पनि छलफल हुनेछ ।’

कतारबाट उच्चस्तरमा हुन लागेको पहिलो भ्रमणलाई नेपालले महत्व दिने र सहकार्यलाई मबजुत बनाउनेमा केन्द्रित रहने सापकोटा बताउँछन् ।

बदलिँदो विश्व भूराजनीतिक परिदृश्यमा कतार पछिल्लो समय महत्वपूर्ण शक्ति राष्ट्रका रूपमा देखा परेको छ । कतारले रणनीतिक मुलुकका रूपमा आफ्नो भूमिका विस्तार गर्दै लगेको छ भने खाडी क्षेत्रका मुलुकहरूबीच मध्यस्थता र शक्ति सन्तुलनमा पनि भूमिका खेल्दै आएको छ ।

यस्तो अवस्थामा कतारसँग तत्काल के पाइन्छ भन्दा पनि कूटनीतिक सम्बन्धलाई सुमधुर बनाउनेमा सरकारले ध्यान दिनुपर्ने परराष्ट्र मामिलाका जानकारहरु बताउँछन् ।

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे कतार दुईवटा शक्तिशाली छिमेकीको बीचमा रहेर केही वर्षको अन्तरालमा आर्थिक र अन्तर्राष्ट्रिय परिवेशमा आफ्नो उपस्थिति बलियो बनाउन सफल मुलुक भएकाले उससँगको सम्बन्ध सुमधुर बनाउनु नेपालको हितमा रहेको बताउँछन् ।

‘अमिर अल थानीको हैसियत पनि विश्व मञ्मा महत्वपूर्ण छ । सफ्ट पावरमा आजको २० वर्ष अगाडिसम्म पश्चिमा शक्तिहरू बीबीसी र सीएनएन लगायत थिए । तर अहिले अलजजिरा शक्तिशाली बनेको छ’, पूर्व परराष्ट्रमन्त्री पाण्डे भन्छन्, ‘यसमा उनकै भूमिका छ । उनी शक्तिशाली नेता हुन् । नेपाल भ्रमणका बेलामा कतारको विकासमा उनले खेलेको भूमिकालाई केन्द्रमा राखेर उनको व्यक्तित्व, दृष्टिकोण र कामलाई क्रेडिट दिनुपर्छ ।’

कतारका अमिरको भ्रमणलाई एउटा मित्र राष्ट्रको प्रमुखका रुपमा मात्रै हेर्ने र द्विपक्षीय झिना मसिना लेनदेनका विषयमा खेर फाल्नुनहुने पाण्डेको सुझाव छ । ‘नेपालले उनीसँगको सम्बन्धलाई उनको विश्व राजनीतिमा जस्तो भूमिका छ त्यही उचाइमा अघि बढाउनुपर्छ’, उनी भन्छन्, ‘यतिबेला उनलाई नेपाल भरपर्दो मित्र हो भन्ने अनुभूति दिलाउनुपर्छ ।’

यस्तो छ भ्रमण तालिका

एसिया क्षेत्रका तीनवटा मुलुकको भ्रमणमा निस्केका अमिर अल थानी आइतबार फिलिपिन्सबाट बंगलादेश हुँदै मंगलबार नेपाल आइपुग्ने भएका हुन् । परराष्ट्र मन्त्रालयका अनुसार थानी मंगलबार अपराह्न ५ बजेतिर काठमाडौँ उत्रिने छन् । परराष्ट्र मन्त्रालयका प्रवक्ता राइका अनुसार उनको स्वागतमा राष्ट्रपति पौडेल स्वयं त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नेछन् ।

मन्त्रालयका अनुसार त्यसपछि थानी सिधै होटल सोल्टी पुग्नेछन् । त्यहाँबाट राष्ट्रपति पौडेलसँग भेट गर्न थानी शीतल निवास पुग्नेछन् । मंगलबार नै राष्ट्रपति पौडेलले कतारका अमिरको सम्मानमा होटल सोल्टीमा रात्रिभोज आयोजना गर्नेछन् ।

भ्रमणको दोस्रो दिन बुधबार थानी र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच द्विपक्षीय भेटवार्ता हुनेछ । परराष्ट्र मन्त्रालयका अनुसार भेटवार्तापछि केही सम्झौता र समझदारीमा हस्ताक्षर हुने कार्यक्रम तय भएको छ । त्यसपछि बुधबार बेलुका नै कतार फर्किने कार्यतालिका छ ।

भ्रमणको क्रममा अल थानीलाई एक जोडी हात्ती उपहार दिने तयारी नेपाल सरकारले गरेको छ । चितवनमा पालिएका हात्ती उपहार दिन लागिएको हो ।

दुई देशबीच कूटनीतिक सम्बन्ध स्थापना भएयता नेपालबाट पटकपटक उच्चस्तरीय भ्रमणहरू भए पनि कतारबाट भने नेपालमा हुन लागेको यो सबभन्दा ठूलो पहिलो उच्चस्तरीय भ्रमण हो । कूटनीतिक सम्बन्ध स्थापना भएको ४५ वर्षपछि मात्र कतारका तर्फबाट भ्रमण हुन लागेको हो । अहिलेसम्म कतारबाट मन्त्रीस्तरसम्मका भ्रमण भएका छन् ।

नेपालबाट सन् १९९८ मा तत्कालीन राजाहरू, पूर्वराष्ट्रपतिहरू रामवरण यादव र विद्यादेवी भण्डारी, पूर्वप्रधानमन्त्री गिरिजाप्रसाद कोइराला, सभामुख कृष्णबहादुर महरा र पटकपटक परराष्ट्रलगायत मन्त्रीहरूले कतारको भ्रमण गरेका छन् ।

सन् १९७७ मा कूटनीतिक सम्बन्ध स्थापना भएको २३ वर्षपछि सन् २००० नेपालले कतारको राजधानी दोहामा दूतावास स्थापना गरेको थियो भने कतारले सन् २०११ मा काठमाडौंमा आफ्नो दूतावास स्थापना गरेको थियो ।

सन् २०१३ देखि कतारको शासनसत्ता सम्हाल्दै आएका अल थानीले यसअघिका अमिर हमाद बिन खलिफा अल थानीका चौंथो छोरा हुन् । उनले कतारका विभिन्न सरकारी पदहरुको जिम्मेवारी सम्हालिसकेका छन् ।

९ वटा समझदारीको तयारी, नेपालको आशा श्रम सम्झौता

परराष्ट्र मन्त्रालय स्रोतका अनुसार भ्रमणका क्रममा नेपाल र कतारबीच विकास र साझेदारी सम्बन्धी नौवटा समझदारी पत्रमा हस्ताक्षर गर्ने तयारी भइरहेको छ ।

जसअन्तर्गत कतारको अन्तर्राष्ट्रिय सहायता सम्बन्धी निकाय ‘कतार फण्ड फर डेभलपमेन्ट’ (क्यूएफएफडी)मार्फत् नेपाललाई आर्थिक सहायता दिने विषय रहेको छ । त्यसमार्फत कति सहयोग कसरी उपलब्ध गराउने भन्ने खुलिसकेको छैन । यस्तै नेपाली कूटनीतिज्ञलाई तालिम दिने विषयमा पनि समझदारी हुने भएको छ ।

जसमा नेपालको परराष्ट्र सेवामा रहेका कूटनीतिज्ञलाई कतारले बदलिँदो परिवेशमा कसरी दायरालाई बढाउने भन्ने विषयमा केन्द्रित हुनेछ । यस्तै शिक्षा, स्वास्थ्य क्षेत्रमा समझौता, सांस्कृतिक सहयोग आदान प्रदान र युवा तथा खेलकुद गतिविधिमा सहयोग गर्नुका साथै, प्रकाशन तथा सूचना सम्बन्धी प्रोटोकलमा समेत हस्ताक्षर हुने भएको छ ।

युवा तथा खेलकुद मन्त्रालयले पर्साको वीरगञ्जमा रहेको नारायणी रंगशाला र काठमाडौंको मुलपानीमा रहेको क्रिकेट रंगशालाको स्तरोन्नतिको एजेन्डालाई राखेको छ । खेलकुद मन्त्रालय स्रोतका अनुसार नेपालले दुईवटै रंगाशालाको विषयमा सहयोग माग गरे पनि एउटा मात्रै रंगाशालाको काम अघि बढ्ने भएको हो ।

यस्तै, भ्रमणको क्रममा नेपाल सरकारले कान्ति बाल अस्पतालको स्तरोन्नतिका लागि झन्डै ९ अर्ब बराबरको सहयोगको सम्झौताका लागि प्रस्ताव गर्ने भएको छ ।

भ्रमण क्रममा श्रम सम्झौता पुनरावलोकन गर्ने नेपालको तयारी भएपनि यसपटक नहुने भएको छ । श्रम मन्त्रालय स्रोतका अनुसार श्रम सम्झौताका कतिपय विषयमा थप छलफल गरी टुंगोमा पुग्नुपर्ने भएकाले यो भ्रमणका क्रममा श्रम सम्झौता पुनरावलोकन नहुने भएको हो ।

यद्यपि, प्रधानमन्त्रीसँगको द्विपक्षीय छलफल र हस्ताक्षर हुने समझदारीको सूचीमा परिमार्जित श्रम सम्झौता उल्लेख गरिएको छ । मन्त्रालयका एक उच्च अधिकारीले अमिरको भ्रमणका सिलसिलामा श्रम मन्त्रालयसँग सम्झौता हुने सम्भावना कम रहेको बताए ।

‘हाम्रो चासो श्रम सम्झौता पुनरावलोकनमै हो’, ती अधिकारीले अनलाइनखबरसँग भने, ‘तर, थप र बृहत् छलफल गर्नुपर्ने भएकाले यसपटक यो टुंगिने सम्भावना रहेन ।’

अघिल्लो साता श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री डोलप्रसाद अर्यालले नेपालका लागि कतारका राजदूत मिसाल बि मोहम्मद अली अल अन्सारीसँगको भेटमा द्विपक्षीय श्रम सम्झौता पुनरावलोकनको विषय उठाएका थिए ।

कतार र नेपालबीच सन् २००५ मा श्रम सम्झौता भएको थियो । यसलाई समय सापेक्ष बनाउनुपर्ने भन्दै नेपालले प्रयास गरेको भए पनि सफल हुन सकेको छैन ।

कतारमा अहिले ५ लाखभन्दा बढी नेपालीले काम गरिरहेका छन् । २०८० साउनयताका नौ महिनामा १ लाख २ हजार नेपालीले कतारमा रोजगारी गर्न नयाँ तथा पुनः श्रम स्वीकृति लिएका वैदेशिक रोजगार विभागको तथ्यांक छ ।

नेपालको महत्वपूर्ण श्रम गन्तव्य कतारमा हालसम्म १७ लाखभन्दा बढी नेपालीले रोजगारी गरिसकेका छन् भने सरकारी तथ्यांकअनुसार हाल साढे ३ लाख नेपाली श्रमिक कार्यरत छन् ।

विपिन रिहाइका लागि संवादको अर्थ

कतारी अमिरको भ्रमणका क्रममा प्यालेस्टिनी लडाकु समूह हमासले इजरायलबाट कब्जामा लिएका नेपाली विद्यार्थी विपिन जोशीको रिहाइको विषयलाई चासोका साथ हेरिएको छ । आइतबार मात्रै प्रधानमन्त्री प्रचण्डले कञ्चनपुरको महेन्द्रनगरमा जोशीको रिहाइका लागि कतारका अमिरले खेल्नसक्ने भूमिकालाई एजेन्डामा राखिएको बताएका थिए ।

त्यस्तै अहिले काठमाडौँमा रहेका जोशीका आमाबुबाले पनि थानीसँग छोराको रिहाइको विषय उठाइदिन सरकारसँग आग्रह गरेका छन् ।विपिन गत २० असोजमा विभिन्न मुलुकका २५३ जनासँगै प्यालेस्टिनी लडाकु समूह हमासको कब्जामा परी बन्धक बनाइएका थिए ।

उनको रिहाइका लागि यसअघि प्रधानमन्त्री प्रचण्ड र तत्कालीन परराष्ट्र मन्त्री एनपी साउदले पटक–पटक प्रयास गरेका थिए । गत मङ्सिरको पहिलो हप्ता नेपाल भ्रमणमा आएका कतारका विदेश राज्यमन्त्री सुल्तान बिन साद अल–मुखैरीसँगको भेटघाटमा पनि प्रधानमन्त्री प्रचण्ड र परराष्ट्रमन्त्री साउदले यस बारेमा कुरा गरेका थिए ।

कतारका विदेश राज्यमन्त्री मुखैरीले सकारात्मक प्रतिक्रिया दिए पनि परिणाम भने आउन सकेन । गत मङ्सिरमा तत्कालीन परराष्ट्रमन्त्री साउद कतार भ्रमणमा जाँदा पनि त्यहाँका प्रधानमन्त्री शेख मोहम्मद बिन अब्दुल रहमान अल–थानीसँग विपिनको रिहाईको विषयमा कुरा गरेका थिए । कतारी प्रधानमन्त्री थानीले सक्दो पहल गर्ने आश्वासन दिएका थिए ।

त्यसबाहेक उनले नेपालका लागि कतारी राजदूत जदूत युसूफ बिन मोहम्मद अल–हइलसँग पटक–पटक भेटेर रिहाका लागि पहल गर्न आग्रह गरेका थिए । तर उनको रिहाईका लागि सरकारले उचित कूटनीतिक पहल लिन सकिरहेको छैन ।

पूर्व परराष्ट्रमन्त्री रमेशनाथ पाण्डे जोशीको रिहाइका लागि कतारसँग सद्भावना खोज्ने अवसर नेपालले गुमाइसकेको बताउँछन् । ‘कूटनीतिमा समयको विशेष महत्व हुन्छ । त्यो महत्वलाई नेपाल सरकारले बुझ्ने प्रयास नै गरेको छैन’, उनी भन्छन्, ‘लामो समयदेखि हमासमाथि कतारको निर्णायक प्रभाव थियो । इजरायलसँग दौत्य सम्बन्ध नभए पनि हमासमाथि कतारका अमिरको प्रभावकै कारण अहिलेसम्म सबै युद्धविराम भएका थिए । अहिले त्यो परिस्थिति बदलिएको छ ।’

गत शनिबार टर्कीका परराष्ट्रमन्त्रीको दोहा भ्रमणपछि कतारले मध्यस्थताको भूमिका छोड्न खोजेको देखिन्छ ।

हमास इजरायल युद्धमा कतारले मध्यस्थताको भूमिका खेलिरहेको भए पनि पछिल्लो समय त्यसबाट पछि हट्ने संकेत देखिएका छन् । गत शनिबार मात्रै हमासका नेताहरू टर्की पुगेका थिए । टर्कीका राष्ट्रपति रेसेप तैयप एर्दोगानसँग हमासका राजनीतिक नेता इन्सेल हानीले गरेको विस्तृत कुराकानीपछि परिस्थिति फरक भएको फ्रान्स २४ टेलिभिजनलगायत टर्कीका सञ्चार माध्यमहरूले जनाएका छन् ।

पूर्वपरराष्ट्रमन्त्री पाण्डे समाचारअनुसार हमास नेताहरू र टर्कीका राष्ट्रपतिबीच भएको वार्तापछि टर्की मध्यस्तताको भूमिका लिन इच्छुक देखिएको छ ।

‘यस्तो अवस्थामा कतारले गर्न सक्ने भूमिका फरक भइसकेको छ । त्यसो हुँदा हमासले बन्दक बनाएका विद्यार्थी बारे कुरा गरेर समय खर्च गर्नुको औचित्य छैन’, उनी भन्छन् ।