Logo

मेघनाथ पहाडी

जेष्ठ ५, २०८१ शनिबार

बुढानिलकण्ठ नगर प्रवक्ताद्वारा मुक्का प्रहार, पत्रकार अस्पताल भर्ना


काठमाडौँ । बुढानिलकण्ठ नगर प्रवक्ता नवराज भट्टराईले पत्रकार माथि मुक्का प्रहार गरेका छन् । बुढालिकण्ठ नगरपालिका अगाडी हात्तिगौंडामा पत्रकार भेटघाट गरौँ भनी समाजवादी प्रेस सङ्गठन नेपाल उपत्यका प्रदेश कमिटी अध्यक्ष आशिष गुरागाईँलाई बोलाएर उनले मुक्का प्रहार गरेका हुन् ।

पत्रकार गुरागाईँ एक दशक भन्दा लामो समयदेखि पत्रकारितामा आबद्ध छन् । खरो स्वभाव र प्रस्ट विचारका उनी समय सन्दर्भ अनुसार निडर ढङ्गले काम गर्ने गर्छन् ।

राष्ट्र पाटीका सम्पादक सन्तोष लुइँटेलका अनुसार प्रवक्ताले पत्रकार गुरागाईँलाई सामान्य कुरा हुँदै गर्दा एक्कासि मुक्का प्रहार गरेको बागमती पेजसँगको कुराकानीमा भनेका छन् । उनले सामान्य भेटघाटका क्रममा पत्रकारले विगतका प्रवक्ताका सार्वजनिक रूपमा प्रश्न आएका लगायतका अन्य कुराहरू कोट्याउन थालेपछि मुक्का प्रहार गरेको जनाए ।

त्यही क्रममा पत्रकार गुरागाईँ बेलुका अस्पताल भर्ना भएका थिए । उनको अन्य स्वास्थ्य अवस्था ठिकै छ । अहिले उनलाई अस्पतालले डिस्चार्ज दिएको जनाइएको छ । उनले सामाजिक सञ्जाल मार्फत ‘बिहान प्रश्न सोधेको साँझ आक्रमण, दुई थोपा रगत मेरो पेसाका लागि’ लेखेका छन् ।

त्यसै क्रममा कपन अनलाइनका प्रधान सम्पादक पुण्यराज पुडासैनीले भने, ‘हामी सामान्य भेटघाटमा थियौँ, घटनाले यस्तो रूप लिने सोचेका थिएनौ । घटना फरक र दुखद भयो, पत्रकार माथि हात उठाउनु गलत हो । पत्रकार माथि कुटपिट सहन सकिएला त ? जो सुकै होस् स्पष्टीकरण को माग गर्दछु’ भनेर सामाजिक सञ्जालमा समेत पोस्ट गरेका छन् ।

सामाजिक र विगतमा पनि बेला बखतमा प्रवक्ताले प्रश्न सोधेकै कारण सामाजिक सञ्जाल मार्फत विभिन्न नकारात्मक खालका पोस्ट गर्ने र हटाउने गर्दै आएका थिए ।

घटना बारे थप जानकारीका लागि सम्पर्क गर्दा प्रवक्तासँग हाल सम्म कुरा हुन सकेको छैन । घटनाको सत्य तथ्य र थप विवरण आउन बाँकी ।