Logo

बागमती पेज

जेष्ठ २९, २०८१ मंगलबार

काठमाडौँका सरकारी विद्यालयको दुखान्त: कतै पढ्ने कक्षा छैन कतै सटर भाडामा 


काठमाडौँ । यही साताको आइतबार काठमाडौँ महानगरले विद्यालयको सटर भाडामा लगाएर पैसा उठाउने विद्यालयको अनुसन्धान गर्‍यो । महानगरले ती विद्यालयको नाम लिस्ट बनाएर धमाधम सटरमा ताला लगायो । विद्यालयको सटर व्यावसायिक प्रयोजनका लागि भाडामा लगाएपछि महानगरले ६१ वटा विद्यालयको सटरमा ताला लगाएको थियो । 

महानगरपालिकाका शिक्षा अधिकृत केशव ज्ञवालीका अनुसार कुनै पनि सामुदायिक विद्यालयहरूले व्यावसायिक प्रयोजनका लागि सटर भाडामा लगाउन नपाउने नीति छ । तर विद्यालयहरूले धमाधम सटर भाडामा लगाएर भाडा असुल गरेपछि त्यस्ता विद्यालयहरूलाई महानगरले छापा मारेको थियो । महानगरको तथ्यांकअनुसार ३७ सामुदायिक विद्यालयले आफ्नो स्वामित्वका सटर वा जग्गामा टहरा बनाएर व्यापारिक प्रयोजनका लागि भाडा लगाएको छ । तीमध्ये पद्मकन्या विद्याश्रम, विजय स्मारक, सहिद शुक्र र पद्मोदय माध्यमिक विद्यालयका सटर आइतबार महानगरले बन्द गरिदिएको थियो ।

यो भयो विद्यालयको सटर बढी भएपछि भाडामा लगाइएका सटरको कुरा । अब कुरा गरौँ सुगम ठाउँको विद्यालयको दुर्दशा । कतै सटर धेरै कतै पढ्नका लागि कक्षाकोठा र प्रार्थनाको लागि सानो चौर समेत छैन । तपाई पत्याउनुहुन्न होला काठमाडौँको सरकारी विद्यालयमा पनि यस्तो हुन्छ र तर यो सत्य हो । 

काठमाडौँ महानगरपालिका–१) मा पर्ने बुद्ध नगर आधारभूत विद्यालयका बालबालिकाको दैनिकी निकै कष्टकर छ । उनीहरूलाई बाहिर बसेर प्रार्थना गर्ने चौर समेत छैन । खेलमैदान छैन, खेल्ने सामाग्री र खेलौना स्टोरमै थान्का लागेका छन् ।  

विद्यालयमा मैदान नै नभएपछि विद्यार्थीहरूको फुटबल खेल्ने, रमाउने, व्यडमिन्टन खेल्ने सपना अधुरै बनेका छन् ।  

त्यस्तै, साँघुरो विद्यालयको रूपमा थापाथलीस्थित गुह्येश्वरी बाल शिक्षा माध्यमिक विद्यालयले पनि समस्या भोग्दै आएको छ । विद्यालयमा प्रशस्त खेल मैदान नहुँदा  खेल खेल्ने क्रममा  धेरै पटक अरू बालबालिकालाई चोट लागेर दुर्घटना समेत भएको बालबालिकाको गुनासो छ । 

मध्यबानेश्वरस्थित रत्न राज्यलक्ष्मी उच्च माध्यमिक विद्यालयका विद्यार्थीले शिक्षक समक्ष खेल मैदानको अभाव भएको गुनासो गर्दै आएको पनि धेरै भयो । विद्यालयमा भएको एउटा अन्तरक्रिया कार्यक्रममा बोल्दै प्रधानाध्यापक र वडाध्यक्ष समक्ष खेल्ने मैदान उपलब्ध गराइदिनुपर्ने माग राख्दै आएका छन् ।

बालबालिका भनेको लोभका कर्णधार हुन । भोलीका देश निर्माता हुन तर उनीहरूले अध्ययन गरिरहेको विद्यालय कस्तो छ भन्ने तर्फ ध्यान दिनु राज्यको कर्तव्य हो । 

काठमाडौँ महानगरपालिकाका प्रमुख बालचन्द्र शाहले स्थानीय तहमा निर्वाचन भएको वर्षदेखि नै विद्यालयलाई बालमैत्री बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । अव भोलीका दिनमा महानगरले जसरी सटर भाडामा लगाउने विद्यालयलाई स्पष्टीकरण सोधेर ताला लगायो त्यसै गरी भौतिक संरचनातर्फ कमजोर रहेका विद्यालयलाई पहिचान गरी त्यस्ता विद्यालयतर्फ ध्यान दिनु जरुरी छ ।