Logo

बागमती पेज

भाद्र ३०, २०८१ आईतबार

रविले सहकारीबाट २ करोड ठगेर गोर्खा मिडियामा लगेको मुकुलको आरोप, भन्छन्: ९५ करोड ठगेको अन्य प्रमाण छ


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका पूर्व महामन्त्री डा. मुकुल ढकालले रास्वपा सभापति रवि लामिछानेले सहकारीबाट २ करोड रकम गोर्खा मिडियामा लगेको आरोप लगाएका छन् । आइतबार सामाजिक सञ्जालमा स्टाटस लेख्दै ढकालले स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाएको आरोप लगाए ।

‘नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाए,हामीले त्यसमा विश्वास गर्यौँ । कतिपय मिडियाकर्मी साथीहरूले पनि सोहि अनुसार समाचार प्रशारण गरे । तर नेपालमा स्वेट सेयर वा यस्तै प्रकृतिमा लिइने अन्य प्रकारको सेयरका लागी पनि कानुन छ’ ढकालले भनेका छन् ।

डा ढकालले रविले २ करोड मात्र नभएर झण्डै ९५ करोड रकम सहकारीबाट ठगेको प्रमाण आफूसँग भएको दाबी गरेका छन् ।

यस्तो छ मुकुलको पूरा स्टाटस
नेपालमा स्वेट सेयरको कानुन छैन भनेर रवि लामिछानेले हल्ला फैलाए, हामीले त्यसमा विश्वास गर्यौँ । कति पय मिडियाकर्मी साथीहरूले पनि सोहि अनुसार समाचार प्रशारण गरे । तर नेपालमा स्वेट सेयर वा यस्तै प्रकृतिमा लिइने अन्य प्रकारको सेयरका लागी पनि कानुन छ ।

प्रचलित कम्पनि ऐनको दफा ३१ को उपदफा २ ले त्यस्तो व्यवस्था गरेको छ । स्वेट सेयर अर्थात पसिना-परिश्रमको मुल्य बापत दिइने-लिइने सेयरका लागी सेयर लिने दिने बीच कति समयका लागी परिश्रम वा सेवा गर्नु पर्ने हो, र त्यसबापत कति कित्ता सेयर प्राप्त हुने हो सम्झौतापत्रमा उल्लेख गरि सम्झौता हुनपर्छ । त्यसरी गरिएको सम्झौताको पत्र कम्पनि रजिष्ट्रारको कार्यलयमा बुझाएपछी, कम्पनि रजिष्ट्रारको कार्यलयले सम्झौता अनुरूप सेयर बाँडफाँडलाई वैधानिकता दिन्छ ।

रवि लामिछानेले सहकारीबाट १.८ करोड ठगे , र त्यसरी ठगेको पैसाबाट गोर्खा मिडिया नेटवर्कमा १.८ करोड बराबरको सेयर किने (सहकारीबाट पैसा लिँदा सबै प्रकृया पूरा गरेको भए, ऋणि हुन्थे । तर आफूँ सदस्य पनि नरहेको सहकारीबाट आफ्ना परम मित्र जिबी राइसँगको मिलेमतोमा प्रकृया पनि पूरा नगरी सहकारीबाट पैसा लिए, त्यसैले उनी ऋणि नभएर ठग हुन् ।)

१.८ करोड बराबरको सेयर किनेपछी, सोहि अनुरूप कम्पनि रजिष्ट्रारको कार्यलयमा आफूँले सेयर किनेको भनेर लिखत जानकारी गराए । तर बाहिर मिडियामा आफूँले स्वेट सेयर लिएको र त्यससम्बन्धी कानुन नेपालमा नभएकाले प्रचलित अभ्यास पालना गरेको भनेर झुट बोले । यदि रवि लामिछानेले वास्तवमा नै स्वेट सेयर लिएको भए, उनको गोर्खा मिडिया नेटवर्कसँग स्वेट सेयरसम्बन्धी ऐनको दफा ३१ को उपदफा २ बमोजिम सम्झौता पत्र हुन्थ्यो र सोहि अनुसार कम्पनि रजिष्ट्रारको कार्यलयमा सम्झौता पत्र बुझाइएको हुन्थ्यो । फेरी पनि दोहोर्याउँछु, स्वेट सेयर सम्बन्धी सम्झौता नगरी उनले कम्पनि रजि।को कार्यलयमा आफूँले सेयर किनेको भनेर कागजात पेश गरेका छन् ।

प्रमाण खोइ भनेर प्रतिक्रिया दिन आउने साथीहरूले कम्पनि सम्बन्धी नेपालको प्रचलित कानुनको दफा ३१ हेर्न सक्नुहुन्छ । रवि लामिछाने आफैँले स्वेट सेयरको कानुन नेपालमा नभएको भनेर भनेका भिडियो हेर्न सक्नुहुन्छ र कम्पनि रजिष्ट्रारको कार्यलयमा उनलो आफूँले कुनै स्वेट सेयर सम्झौता नगरी किनेको भनेर उल्लेख गरेको कागजात हेर्न सक्नुहुन्छ । त्यस्तै विभिन्न सहकारीबाट सोहि बराबरको रकम उनको नाममा प्रवाह भएको कागजात पनि हेर्न सक्नुहुन्छ । यो त २ करोड ठगीको कुरा भयो, करिब ९५ करोड सहकारीबाट ठगेको अन्य प्रमाण पनि छन् , आजलाई यति नै ।