Logo

मेघनाथ पहाडी

असार २२, २०८२ आईतबार

बुढानीलकण्ठ–९ मा वातावरणीय पदयात्रा सम्पन्न


काठमाडौँ । बुढानीलकण्ठ नगरपालिका वडा नम्बर ९ द्वारा आयोजना गरिएको वातावरणीय पदयात्रा कार्यक्रम २०८२ शिवपुरी–नागार्जुन राष्ट्रिय निकुञ्जमा सफलतापूर्वक सम्पन्न भएको छ । वातावरण संरक्षणप्रति जनचेतना अभिवृद्धि गर्ने उद्देश्यले आयोजित कार्यक्रममा करिब २०० जनाको सहभागिता रहेको थियो ।

पदयात्रामा वडा भित्रका विभिन्न विद्यालयका विद्यार्थी, नगर युवा परिषद्का सदस्यहरू, वडावासी, जनप्रतिनिधिहरू र सञ्चारकर्मीहरूको उल्लेखनीय उपस्थिति रहेको थियो । कार्यक्रम बुढानीलकण्ठ ९ बाट सुरु भएर शिवपुरीको पर्यावरणीय पदमार्ग हुँदै सम्पन्न गरिएको हो ।

नगर प्रमुख मिठाराम अधिकारीले वातावरणीय सन्तुलन कायम राख्न समुदायको सक्रिय भूमिका आवश्यक रहेको बताएका थिए । शनिवार भएको पदयात्राले विशेषगरी विद्यार्थी र युवामा जागरूकता फैलाउने काम गरेको छ, जुन भविष्यका लागि सकारात्मक संकेत रहेको नगर प्रमुख अधिकारीको भनाई छ ।

उपप्रमुख अनिता लामाले यस किसिमका कार्यक्रमहरूले वातावरण संरक्षणमा नागरिक सहभागिता अभिवृद्धि गर्छन्। प्रकृतिसँग नजिक हुने यस्तो अवसर विद्यार्थी र युवा पुस्ताका लागि शिक्षाप्रद हुने बताईन् ।

वडाध्यक्ष सुमित्रा त्रिपाठी पाण्डेले हाम्रो वडाले यो कार्यक्रम आयोजना गरेर नयाँ अभ्यासको सुरुवात गरेको भन्दै विद्यार्थी र युवाको उत्साहले देखाउँने र वडामा सकारात्मक सोच र सक्रिय सहभागिता विकास हुँदै जाने बताईन् ।

वडा सदस्य रमेश गौतमले हामी भविष्यमा पनि यस्ता सचेतनामूलक कार्यक्रमलाई निरन्तरता दिनेछौं। समुदायमैत्री वातावरण बनाउन सबैको साथ आवश्यक छ त्यसका लागि समेत यस्ता कार्यक्रम आवश्यक हुने उनको भनाई छ ।

पद यात्रामा सहभागीको एक विद्यार्थीले पदयात्रामा सहभागी हुँदा प्राकृतिक सौन्दर्यको महत्व मात्र होइन, वातावरणीय चुनौतीबारे पनि बुझ्न पाएर सिकाइको उत्कृष्ट माध्यम बनेको धारणा व्यक्त गरे ।

बुढानीलकण्ठ नगर युवा परिषद् वडा नम्बर ९ का अध्यक्ष स्वस्तिक कार्कीले युवाले प्रकृति बचाउने अभियानमा अगुवा भूमिका खेल्नुपर्छ। उनले भने आजको पदयात्राले हामीमा थप जिम्मेवारीबोध गराएको छ ।

कार्यक्रममा सहभागीहरूलाई आयोजकले ज्याकेट, क्यापटोपी र र्यानकोर्ट वितरण गरेको थियो। साथै, खाना र खाजाको निःशुल्क व्यवस्था गरिएको थियो।

स्थानीयस्तरमा वातावरणप्रति सचेतना फैलाउन आयोजित कार्यक्रमको सबै पक्षबाट प्रशंसा भएको छ। सहभागीहरूले यस्तो कार्यक्रमले व्यक्तिगत स्तरमै सोच परिवर्तन ल्याउने विश्वास व्यक्त गरेका छन् ।