Logo

बागमती पेज

श्रावण २१, २०८२ मंगलबार

बागमतीका नवनियुक्त मुख्यमन्त्री तथा मन्त्रीहरूद्वारा शपथ ग्रहण


मकवानपुर । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुखको कार्यालय हेटौँडामा मङ्गलवार दिउँसो एक समारोहबिच प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले नवनियुक्त मुख्यमन्त्री र मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथग्रहण गराउनुभएको हो ।

प्रदेश प्रमुख देवकोटाले नेपालको संविधानको धारा १७२ तथा मुख्यमन्त्री तथा मन्त्रीको पारिश्रमिक र सुविधा सम्बन्धी ऐन, २०७५ को दफा १४ बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँ र ८ जना मन्त्रीहरूलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराउनु भएको हो । नेपालको संविधानको धारा १६८ को २ अनुसार प्रदेश प्रमुख देवकोटाले बानियाँलाई आजै दिउँसो मुख्यमन्त्रीमा नियुक्त गर्नु भएको थियो ।

प्रदेशका छैटौँ मुख्यमन्त्री बन्नुभएका बानियाँ नेपाली काँग्रेस र नेकपा एमालेको समर्थनमा मुख्यमन्त्री बन्नुभएको हो । नेपाली काँग्रेस बागमती प्रदेश समिति सभापतिसमेत रहनु भएका बानियाँले मुख्यमन्त्री समक्ष हिजो नेपाली काँग्रेस र नेकपा एमालेको संयुक्त सरकार निर्माणका लागि दाबी पेश गर्नुभएको थियो । उहाँलाई ११० सदस्यीय प्रदेशसभामा नेपाली काँग्रेस र नेकपा एमाले गरी कुल ६४ जना सांसदको समर्थन छ । मुख्यमन्त्री बानियाँको शपथ ग्रहण समारोहमा निवर्तमान मुख्यमन्त्री बहादुर सिंह लामा तामाङ, पूर्व मुख्यमन्त्री डोरमणि पौडेल लगायतको उपस्थिति रहेको थियो ।

नवनियुक्त आठ मन्त्रीद्वारा शपथ ग्रहण
बागमती प्रदेशका नवनियुक्त आठ जना मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गर्नुभएको छ । प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले नेपालको संविधानको धारा १६८ को उपधारा (९) बमोजिम मुख्यमन्त्री इन्द्रबहादुर बानियाँको सिफारिसमा नियुक्त गर्नु भएका ८ जना मन्त्रीहरूलाई शपथ ग्रहण गराउनुभएको हो ।

मुख्यमन्त्री बानियाँले आजै सरकार विस्तार गर्नुहुँदै एमालेका ६ र काँग्रेसका २ जनालाई मन्त्री नियुक्त गर्नुभएको थियो । नवनियुक्त प्रदेश प्रमुख देवकोटाले पद तथा गोपनीयताको शपथ ग्रहण गराउनुका साथै कार्यविभाजन गर्नुभएको हो ।

मुख्यमन्त्री बानियाँले एमालेबाट मधुसूदन पौडेललाई कृषि तथा पशुपन्छी विकास मन्त्री, डा. दिनेशचन्द्र देवकोटालाई भौतिक पूर्वाधार विकास मन्त्री, जयराम थापालाई श्रम रोजगार तथा यातायात मन्त्री, भरतबहादुर केसीलाई वन तथा वातावरण मन्त्री, किरण थापालाई स्वास्थ्य मन्त्री र बिन्दु श्रेष्ठलाई उद्योग वाणिज्य भूमि तथा प्रशासन मन्त्री नियुक्त गर्नुभएको थियो । भने, काँग्रेसबाट खानेपानी ऊर्जा तथा सिँचाई मन्त्रालयमा कृष्णकुमार तामाङ र शिवराज अधिकारीलाई बिना विभागीय मन्त्री नियुक्त गर्नु भएको थियो । काँग्रेसको भागमा परेको प्रदेशका मुख्यमन्त्रीसहित ८ मन्त्रालयमा दुई मन्त्री नियुक्त गरी अन्य ५ मन्त्रालय भने मुख्यमन्त्री बानियाँले आफैँ मातहत राख्नुभएको छ । बागमती प्रदेशमा कुल १४ मध्ये काँग्रेसको भागमा मुख्यमन्त्रीसहित ८ र एमालेको भागमा ६ मन्त्रालय छ ।