Logo

बागमती पेज

२२ मंसिर २०८२, सोमबार

शेयरसेवा होल्डिङ्सको प्रथम वार्षिक साधारण सभा पौष १२ गते काठमाडौँमा हुने


शेयरसेवा होल्डिङ्सको प्रथम वार्षिक साधारण सभा पौष १२ गते काठमाडौँमा हुने

काठमाडौँ — शेयरसेवा होल्डिङ्स प्रा. लि. ले आफ्नो प्रथम वार्षिक साधारण सभा (AGM) आगामी पौष १२ गते शनिबार काठमाडौँमा आयोजना गर्ने भएको छ। कम्पनीको संचालक समितिको निर्णय अनुसार सो सभा बिहान ९ बजेदेखि दियालो फुडल्याण्ड, सेशमति, काठमाडौँमा भौतिक तथा भर्चुअल माध्यमबाट एकैसाथ सञ्चालन हुने जानकारी गराइएको छ।

कम्पनीका अनुसार आर्थिक वर्ष २०८१/०८२ को वार्षिक प्रतिवेदन, लेखा परीक्षकको प्रतिवेदन तथा वित्तीय विवरणहरू सभामा छलफल गरी पारित गरिनेछ। साथै चालु आर्थिक वर्षका लागि लेखा परीक्षक नियुक्ति तथा पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पनि सभाको कार्यसूचीमा रहेको छ।

त्यसैगरी कम्पनीको अधिकृत पुँजी, जारी पुँजी तथा चुक्ता पुँजी वृद्धि गर्ने र सोसम्बन्धी आवश्यक प्रक्रिया पूरा गर्ने प्रस्ताव विशेष प्रस्तावमा समावेश गरिएको छ। हकप्रद शेयर जारी गर्ने, कम्पनीलाई प्राइभेट लिमिटेडबाट लिमिटेडमा रूपान्तरण गर्ने, मर्जर तथा एक्विजिसन सम्बन्धी छलफल गर्ने लगायतका महत्वपूर्ण विषयहरू पनि सभामा प्रस्तुत गरिनेछ।

सभामा अनलाइन माध्यमबाट समेत शेयरधनीको सहभागिता रहने जनाइएको छ। अनलाइन सहभागिताको लागि आवश्यक लिंक भने पछि सार्वजनिक गरिने कम्पनीले जनाएको छ।

यस अवसरमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत (CEO) सृजन बज्राचार्यले सबै शेयरधनीलाई सभामा सक्रिय सहभागी हुन आग्रह गर्दै भन्नुभयो, “शेयरसेवा होल्डिङ्सको यो प्रथम वार्षिक साधारण सभा हाम्रो दीर्घकालीन योजनाहरू, पूँजी विस्तार र कम्पनीको भावी रणनीति तय गर्ने अत्यन्त महत्वपूर्ण अवसर हो। सबै शेयरधनीज्यूहरूको सुझाव, सहभागिता र विश्वासले कम्पनीलाई अझ सबल बनाउनेछ भन्नेमा हामी विश्वस्त छौँ।”