Logo

बागमती पेज

२५ मंसिर २०८२, बिहिबार

पाल्पामा पाका पुस्ताका लागि ज्येष्ठ नागरिक स्कुल स्थापना


पाल्पामा पाका पुस्ताका लागि ज्येष्ठ नागरिक स्कुल स्थापना

पाल्पा- पूर्वी पाल्पाको रामपुर नगरपालिकाले पाका पुस्ताका नागरिकहरूको लागि राम घाट धाममा ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको छ । पाका पुस्ताको अनुभव र ज्ञान नयाँ पुस्तामा हस्तान्तरण गर्ने लक्ष्यका साथ नगरपालिकाले रामपुर–५ राम घाट धाममा स्कुल स्थापना गरी सञ्चालनमा ल्याएको हो ।
स्कुल सञ्चालनका लागि आवश्यक पूर्वाधार निर्माण गरी नगरपालिकाले आज देखि स्कुल सञ्चालन गरेको नगर प्रमुख रमण बहादुर थापाले बताउनुभयो ।
ज्येष्ठ नागरिकहरूको ज्ञान र अनुभव नयाँ पुस्तामा हस्तान्तरण गर्नुका साथै उहाँहरूलाई सम्मान सहितको सक्रिय जीवन जिउने वातावरण निर्माण गर्न ज्येष्ठ नागरिक स्कुल सञ्चालनमा ल्याएको उहाँले बताउनुभयो ।
रोजगारीको सिलसिलामा सन्तानहरू परदेशमा हुँदा ज्येष्ठ नागरिकहरूको दैनिकीमा परेको समस्यालाई मध्यनजर गर्दै उहाँहरूमा खुसी ल्याउन ज्येष्ठ नागरिक स्कुलको अवधारणा अघि बढाएको हो । पाका पुस्तालाई आफ्ना दौँतरीसँग दिन बिताउने वातावरण स्कुलले प्रदान गर्नेछ । यस कार्यक्रमले परम्परागत संस्कार र संस्कृतिको संरक्षण गर्न महत्त्वपूर्ण टेवा पुग्ने अपेक्षा गरिएको छ ।
झन्डै एक करोडको लागतमा ज्येष्ठ नागरिक स्कुलको भवन सँगै आचार्य निवास, ज्येष्ठ नागरिक केन्द्र लगायतका संरचना निर्माण भएको रामपुर ज्येष्ठ नागरिक स्कुल व्यवस्थापन समितिका अध्यक्ष बुद्धि प्रकाश रेग्मीले जानकारी दिनुभयो । स्कुल सञ्चालनका लागि विभिन्न व्यक्ति तथा संस्थाहरू बाट पनि आवश्यक सहयोग प्राप्त हुन सुरु भएको छ ।
प्रतिक्रिया राख्नुहोस्