काठमाडौं । पीक पोइन्ट एकेडेमीमा तेस्रो प्राथमिक शैक्षिक एक्स्पो–२०८२ भव्य रूपमा सम्पन्न भएको छ। पाठ्यपुस्तकभन्दा बाहिरको सिकाइलाई प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको उक्त एक्स्पोमा कक्षा १ देखि ५ सम्मका विद्यार्थीहरूले विभिन्न शैक्षिक परियोजना प्रस्तुत गरेका थिए।
विद्यार्थीहरूले शिक्षकहरूको मार्गदर्शनमा तयार पारेका सिर्जनात्मक शैक्षिक सामग्री र आकर्षक लर्निङ स्टलमार्फत आफ्ना ज्ञान, सीप र प्रतिभा प्रदर्शन गरेका थिए। अभिभावकहरूका सामु आत्मविश्वासका साथ परियोजनाबारे स्पष्ट रूपमा प्रस्तुति दिँदै विद्यार्थीहरूले पीक पोइन्ट एकेडेमीमा सिकाइ केवल पाठ्यपुस्तकमा सीमित नभएको सन्देश दिएका थिए।
एक्स्पो शैक्षिक मात्र नभई मनोरञ्जनात्मक पनि रहेको थियो। फेस पेन्टिङ, रमाइलो प्ले जोन, नर्सिङ स्टेशन तथा टाइगर, डोरेमोन र जोकरका आकर्षक मस्कटहरूले कार्यक्रमलाई थप उत्साहपूर्ण बनाएका थिए, जसले बालबालिकाका साथै अभिभावकहरूको पनि ध्यान आकर्षित गरेको थियो।
कार्यक्रमबारे विद्यालयका प्रधानाध्यापक इन्जिनियर विनय श्रेष्ठले भने,
“यस्ता शैक्षिक एक्स्पोले बालबालिकाको ज्ञानसँगै आत्मविश्वास, सञ्चार सीप र सिर्जनात्मकता विकासमा महत्वपूर्ण भूमिका खेल्छन्। पीक पोइन्ट एकेडेमी समग्र शिक्षा (Holistic Education) मा विश्वास गर्छ, जहाँ प्रत्येक बालकको प्रतिभा उजागर गर्दै सिकाइलाई आनन्दमय बनाइन्छ।”
उनका अनुसार, विद्यालयले भविष्यमा पनि यस्ता सिर्जनात्मक र विद्यार्थीकेन्द्रित कार्यक्रमहरू निरन्तर आयोजना गर्ने प्रतिबद्धता जनाएको छ।
तेस्रो प्राथमिक शैक्षिक एक्स्पो–२०८२ ले ज्ञान, सिर्जनशीलता र खुशीको समन्वयमार्फत बालमैत्री र गुणस्तरीय शिक्षाप्रति पीक पोइन्ट एकेडेमीको प्रतिबद्धता स्पष्ट रूपमा प्रस्तुत गरेको विद्यालयले जनाएको छ।
















प्रतिक्रिया दिनुहोस्