आर्ट अफ लिभिङ र नौलिन माध्यमिक विद्यालयबीच समझदारी: विद्यार्थीका लागि ‘आर्ट एक्सल’ कोर्स सुरु
काठमाडौँको बूढानीलकण्ठस्थित श्री नौलिन माध्यमिक विद्यालय र आर्ट अफ लिभिङ नेपालबीच विद्यार्थीहरूको मानसिक सशक्तीकरण तथा सर्वाङ्गीण व्यक्तित्व विकासका लागि एक महत्त्वपूर्ण समझदारीपत्र(एमओयू) मा हस्ताक्षर भएको छ। विद्यालयका प्रधानाध्यापक र आर्ट अफ लिभिङका प्रतिनिधिबीच भएको यो सम्झौतासँगै कक्षा ६ र ७ का विद्यार्थीहरूका लागि ‘आर्ट एक्सल’ कोर्सको औपचारिक शुभारम्भ समेत गरिएको छ। यो साझेदारीले विद्यार्थीहरूलाई केवल किताबी ज्ञानमा मात्र सीमित नराखी उनीहरूको एकाग्रता वृद्धि गर्न र जीवन जिउने कला सिकाउन विशेष भूमिका खेल्ने विश्वास गरिएको छ।
यस सम्झौताअनुसार विद्यालयका करिब ४०० विद्यार्थीहरूलाई लक्षित गरी ‘आर्ट एक्सल’ र युवा सशक्तीकरण सेमिनार (YES!) कार्यक्रम सञ्चालन गरिनेछ। आर्ट अफ लिभिङका संस्थापक श्री श्री रविशंकरको “तनावमुक्त र हिंसा रहित समाज” को परिकल्पनालाई साकार पार्न यो कार्यक्रम डिजाइन गरिएको हो। तीन दिनसम्म सञ्चालन हुने यस तालिममा विद्यार्थीहरूलाई दैनिक दुई घण्टा विद्यालय परिसरमै जीवनोपयोगी सीपहरू सिकाइनेछ। आर्ट अफ लिभिङ नेपालका वरिष्ठ तथा प्रमाणित प्रशिक्षकद्वय लिला लामिछाने र शैलेन्द्र हमालले प्रशिक्षणको नेतृत्व गरिरहनुभएको छ भने शिक्षक रोशन कोइराला र स्वयंसेवक सरोजराज श्रेष्ठले यसको प्रभावकारी समन्वय गरिरहनुभएको छ।
आर्ट अफ लिभिङको यो विशेष कार्यक्रममा सहभागी हुँदा विद्यार्थीहरूले सुदर्शन क्रिया जस्ता शक्तिशाली श्वास-प्रश्वासका विधिहरू, योग र ध्यानको अभ्यास गर्ने अवसर पाउनेछन्। यी विधिहरूले मस्तिष्कको दायाँ र बायाँ दुवै भागलाई सन्तुलित बनाउन, रिस र चिन्ता व्यवस्थापन गर्न तथा रचनात्मकता बढाउन मद्दत गर्दछन्। कार्यक्रमको उद्घाटनमा प्रधानाध्यापकले मूल्य-आधारित शिक्षाको महत्त्वमा जोड दिँदै भन्नुभयो कि आधुनिक शिक्षाले विद्यार्थीलाई मानसिक रूपमा सन्तुलित र व्यावहारिक बनाउन आवश्यक छ। उहाँका अनुसार यस्ता कार्यक्रमले विद्यार्थीको मन र व्यवहारमा सकारात्मक परिवर्तन ल्याई उनीहरूको आत्मविश्वास र पढाइप्रतिको रुचिमा वृद्धि गर्नेछ।
यस कार्यक्रमबाट विद्यार्थीहरूको सिकाइ क्षमतामा उल्लेख्य सुधार आउने, स्मरणशक्ति बढ्ने र शैक्षिक नतिजा उत्कृष्ट हुने अपेक्षा गरिएको छ। त्यस्तै, तनाव र नकारात्मक भावनाहरूको प्रभावकारी व्यवस्थापन गर्दै विद्यार्थीहरूमा मानवीय मूल्य, अनुशासन र टोलीमा मिलेर काम गर्ने भावनाको विकास हुनेछ। यो पहलले विद्यार्थीलाई भविष्यका जिम्मेवार र सन्तुलित नागरिक बनाउन मद्दत गर्नेछ, जसले अन्ततः विद्यालयको शैक्षिक वातावरण र विद्यार्थीको व्यक्तिगत जीवनमा दीर्घकालीन सकारात्मक प्रभाव पार्ने आयोजक र विद्यालय प्रशासनको ठम्याइ छ।
















प्रतिक्रिया दिनुहोस्