Logo

मेघनाथ पहाडी

३ फाल्गुन २०८२, आइतबार

भक्तपुर–२ मा महेश बस्नेतको वर्चस्व: विकासको लहरले ओझेलमा विपक्षी


भक्तपुर । प्रतिनिधि सभा निर्वाचनको सरगर्मीसँगै भक्तपुर क्षेत्र नम्बर २ मा नेकपा एमालेका उम्मेदवार महेश बस्नेतको पक्षमा अभूतपूर्व जनलहर देखिएको छ।

विगतको कार्यकालमा यस क्षेत्रको सडक सञ्जाल, तटबन्ध निर्माण र खानेपानी आयोजनामा उनले पुर्‍याएको अतुलनीय योगदानका कारण मतदाताहरू पुनः बस्नेतलाई नै जिताउने मुडमा देखिएका छन्। “काम गर्नेलाई नै भोट” भन्ने नाराका साथ स्थानीय बासिन्दाहरू बस्नेतको चुनावी अभियानमा स्वतस्फूर्त सहभागी भइरहेका छन्, जसले गर्दा यस क्षेत्रमा एमालेको जितको आधार झनै बलियो बनेको छ।

चुनावी मैदानमा मुख्य प्रतिस्पर्धीका रूपमा देखिएका नेपाली कांग्रेसका कबिर राणा भने बस्नेतको विकासवादी रफ्तार र सांगठनिक शक्तिका अगाडि रक्षात्मक देखिएका छन्। कांग्रेसभित्रको आन्तरिक विवाद र ढिलो गरी सुरु भएको प्रचारप्रसारका कारण राणालाई आफ्नो साख जोगाउनै मुस्किल परिरहेको छ।

यद्यपि, मैदानमा कांग्रेस र एमालेबीच नै मुख्य प्रतिस्पर्धा हुने आँकलन गरिए पनि बस्नेतको ‘विकास मोडेल’ का अगाडि राणाको उपस्थिति फितलो देखिएको राजनीतिक विश्लेषकहरू बताउँछन्। अर्कोतर्फ, राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का राजीव खत्रीलाई ‘बाहिरिया’ र ‘हल्लाको राजनीति’ गर्ने आरोप लागेपछि उनको प्रभाव सामाजिक सञ्जालमा मात्र सीमित भएको छ।

राप्रपाका विक्रम थापाले केही बौद्धिक मत ताने पनि मूल प्रतिस्पर्धा विकासप्रेमी नेता बस्नेत र सुस्त लयमा रहेको कांग्रेसका राणाबीच नै हुने देखिएको छ। भक्तपुर २ का सचेत मतदाताहरूले गफभन्दा कामलाई प्राथमिकता दिने स्पष्ट संकेत देखाएपछि महेश बस्नेतको विजय यात्रा झनै सुनिश्चित हुँदै गएको छ।