झापा । कोशी प्रदेशको राजनीतिक केन्द्र मानिने झापामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) लाई ठुलो झड्का लागेको छ। रास्वपाका झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनाल आफ्नो पद र पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेका छन्।
झापाको राजनीतिक बजारमा यतिबेला एउटा नयाँ हलचल पैदा भएको छ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का झापा क्षेत्र नं. ५ का क्षेत्रीय परिषद् सदस्य भरत खनालले पार्टी परित्याग गरी नेकपा एमालेमा प्रवेश गरेपछि स्थानीय राजनीतिमा नयाँ तरंग आएको हो।
एमाले अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन क्षेत्र समेत रहेको यस क्षेत्रमा रास्वपाका सक्रिय नेता खनालको बहिर्गमनलाई वैकल्पिक राजनीतिको चर्चा गरिरहेका युवाहरूका लागि एक अप्रत्याशित झड्काको रूपमा हेरिएको छ।
पार्टी प्रवेश कार्यक्रममा नेता खनालले रास्वपाको आन्तरिक कार्यशैली र पछिल्लो राजनीतिक दिशाप्रति असन्तुष्टि पोख्दै देशको विकास र समृद्धिको नेतृत्व केवल एमालेले मात्र गर्न सक्ने दाबी गरे।
यस घटनालाई धेरैले झापामा रास्वपाको सङ्गठन विस्तारमा लागेको ठुलो धक्काका रूपमा विश्लेषण गरेका छन्। बालेन शाह र रास्वपाप्रति युवाहरूको आकर्षण बढिरहेको बेला, आफ्नै जिम्मेवार नेताले ‘धोका’ दिएर पुरानै शक्तिमा फर्कनुले रास्वपाभित्रको आन्तरिक व्यवस्थापनमा प्रश्न उठाएको छ।
एमालेका स्थानीय नेताहरूले खनालको प्रवेशले पार्टीलाई झनै मजबुत बनाएको बताएका छन् भने रास्वपाका समर्थकहरू माझ यो विषय अहिले निकै चर्चा र विवादको विषय बनेको छ। झापा ५ को आगामी राजनीतिक समीकरणमा यस पलायनले कस्तो असर पार्छ भन्ने कुरा अबको स्थानीय गतिविधिले प्रस्ट पार्ने देखिन्छ।












प्रतिक्रिया दिनुहोस्