सर्लाही । सर्लाही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नीतिमा भण्डारी (कार्की) ले ऐतिहासिक जित हासिल गरेकी छन्। अन्तिम मतपरिणाम अनुसार कार्कीले ४४,१८१ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै पछाडि छाडेकी हुन्।
सर्लाही क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की उम्मेदवार नीतिमा भण्डारी (कार्की) ले ऐतिहासिक र सानदार जित हासिल गरेकी छन् । अन्तिम मतपरिणाम अनुसार कार्कीले ४४,१८१ मत प्राप्त गर्दै आफ्ना निकटतम प्रतिद्वन्द्वीहरूलाई निकै भारी मतान्तरले पराजित गरेकी हुन् ।
यस क्षेत्रमा वर्षौँदेखि राज गर्दै आएका पुराना र स्थापित राजनीतिक दलका हेभीवेट उम्मेदवारहरू नीतिमाको रापतापका अगाडि निकै कमजोर देखिएका छन् । युवा उद्यमीका रूपमा पहिचान बनाएकी कार्कीको यो विजयलाई सर्लाहीको राजनीतिमा ‘युग परिवर्तन’ को संकेतका रूपमा हेरिएको छ ।
नेपाली कांग्रेसका स्थापित नेता शम्भुलाल श्रेष्ठ ले मात्र ७,८७१ मत प्राप्त गरेका छन्, जुन विजयी कार्कीको तुलनामा ३६ हजारभन्दा बढीको विशाल अन्तर हो ।
त्यस्तै, नेकपा एमालेका उम्मेदवार मनोजकुमार देवकोटा ६,१०१ मतमा खुम्चिएका छन् भने नेपाली कम्युनिस्ट पार्टीका प्रमोद साह ले ५,४९८ मत मात्रै बटुल्न सफल भए । जनता समाजवादी पार्टी (जसपा) नेपालका रामप्रकाश चौधरी को पक्षमा ३,९९१ मत मात्र खसेको छ ।
लामो समयदेखि पालैपालो सत्ता र शक्तिमा रहेका यी दलहरूलाई यसपटक सर्लाहीका सचेत मतदाताले ठाडै नकारेका छन् ।
एकै क्षेत्रमा कांग्रेस, एमाले र मधेशवादी दलका उम्मेदवारहरूले प्राप्त गरेको कुल मतभन्दा पनि नीतिमा कार्की एक्लैले पाएको मत दोब्बर भन्दा बढी हुनुले यसपटकको जनलहर कति शक्तिशाली थियो भन्ने प्रस्ट पारेको छ ।
चुनावी अभियानका क्रममा परिवर्तन र सुशासनको एजेन्डा लिएर गाउँगाउँ पुगेकी कार्कीलाई स्थानीय युवा र महिलाहरूले अभूतपूर्व साथ दिएका थिए ।
निर्वाचनअघि नै स्थानीय उत्पादनको प्रवर्द्धन र आत्मनिर्भर सर्लाहीको खाका प्रस्तुत गरेकी उनलाई मतदाताले पूर्ण विश्वासका साथ अनुमोदन गरेका छन् ।
विजयी भएसँगै कार्कीले यो जित आफ्नो मात्र नभई सम्पूर्ण सर्लाहीवासीको साझा जित भएको प्रतिक्रिया दिएकी छन् । उनले अबका पाँच वर्ष जनताको गुनासो सुन्ने र क्षेत्रको विकासका लागि अहोरात्र खटिने प्रतिबद्धता समेत जनाएकी छन् ।
सर्लाही-१ मा अब नयाँ राजनीतिक इतिहास लेखिएको छ, जसले राष्ट्रिय राजनीतिमा समेत ठूलो अर्थ राख्ने देखिन्छ ।












प्रतिक्रिया दिनुहोस्