काठमाडौँ । गण्डकी प्रदेशको राजनीतिक चर्चाको केन्द्रमा रहेको बागलुङ निर्वाचन क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले ऐतिहासिक जित हासिल गरेको छ । अन्तिम मतपरिणाम अनुसार भारी मतान्तरसहित रास्वपाका उम्मेदवार सुशिल खड्का २०,९२७ मत प्राप्त गरी विजयी भएका छन् ।
निर्वाचनमा नेपाली कांग्रेसका भीमबहादुर श्रीस राना दोस्रो स्थानमा रहे । उनले ११,९४४ मत प्राप्त गरे । त्यस्तै, नेकपा एमालेका हिराबहादुर खत्रीले ८,६४० मत ल्याउँदै तेस्रो स्थानमा चित्त बुझाउनु पर्यो । बागलुङमा बलियो पकड मानिने राष्ट्रिय जनमोर्चाका कृष्णप्रसाद शर्मा अधिकारीले ४,५२१ मत मात्र प्राप्त गरे भने राष्ट्रिय प्रजातन्त्र पार्टीका कल्याण आचार्यले ५२३ मत पाएका छन् ।
उनले सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी दलका हेभिवेट उम्मेदवारहरूलाई निकै ठूलो मतान्तरले पराजित गरेका हुन् । खड्काको यो जितलाई बागलुङे जनताले परम्परागत राजनीतिक शक्तिको विकल्पमा नयाँ लहरलाई स्विकारेको रूपमा हेरिएको छ ।
सुशिल खड्काको जितसँगै बागलुङ-१ मा दशकौँदेखि कायम रहँदै आएको दलीय वर्चस्व तोडिएको छ । चुनावी प्रचारका क्रममा खड्काले अघि सारेका एजेन्डा र सुशासनको प्रतिबद्धतालाई मतदाताले पूर्ण रूपमा अनुमोदन गरेका छन् । विशेषगरी युवा र वैकल्पिक राजनीतिको खोजीमा रहेका मतदाताहरूको मत खड्काको पक्षमा केन्द्रित भएको देखिन्छ ।
विजयी भएपछि संक्षिप्त प्रतिक्रिया दिँदै खड्काले यो जित आफ्नो मात्र नभई सम्पूर्ण परिवर्तनकारी बागलुङे जनताको भएको बताएका छन् । उनले अबको कार्यकालमा निर्वाचन क्षेत्रको विकास, शिक्षा, स्वास्थ्य र सुशासनका लागि इमानदार भएर काम गर्ने प्रतिबद्धता समेत जनाएका छन् ।
बागलुङ-१ को यो नतिजाले राष्ट्रिय राजनीतिमा पनि नयाँ सन्देश दिएको छ, जनता अब पुरानो कार्यशैली होइन, डेलिभरी र नयाँ अनुहार चाहन्छन् ।











प्रतिक्रिया दिनुहोस्