Logo

बागमती पेज

आश्विन २२, २०७७ बिहीबार

विप्लव सैन्य तालिममा व्यस्त


काठमाडौं । मंसिर ८ गते नेत्रविक्रम चन्दको नेकपाले स्थापना दिवस धुमधामसँग मनाउने भनेको छ । प्राप्त जानकारी अनुसार त्यसदिन सैन्य शक्ति प्रदर्शन गर्ने योजना अनुसार अहिले विभिन्न जिल्लामा प्रशिक्षण कार्यक्रम सञ्चालन भइरहेका छन् ।

पश्चिम नेपालको कालिकोट, जुम्ला, जाजरकोटलगायत जिल्लामा प्रशिक्षण सम्पन्न गरेर टोली डोल्पा, रुकुम पूर्व, रुकुम पश्चिम, सल्यान र रोल्पा पुगेको छ ।

केन्द्रीय सैन्य कमाण्डर उदय चलाउनेको प्रमुख उपस्थितिमा प्रशिक्षण चलेको छ । यसै साता जाजरकोटको नलगाड नगरपालिका र कुशे क्षेत्रमा प्रशिक्षण दिएर टोली डोल्पा र रुकुमतर्फ केन्द्रित भएको बताइन्छ ।

कालिकोट र जुम्लामा तालिम दिएर जाजरकोट आएको टोलीले हतियार र सेनाको आवश्यकता, एकरुपता र आफ्नो ताकतबारे ब्रिफिङ गरेको थियो । शक्ति सञ्चय गरेर आवश्यकता परेका बेला देखाउने भन्दै युवालाई सेनामा लाग्न आह्वानसमेत गरिएको छ । हाल मासिक १५ हजार भत्ता उपलब्ध गराइनेसमेत बताइएको स्रोतले जनाएको छ ।

बाँकी प्रशिक्षण डोल्पा, रुकुम, सल्यानमासकेर रोल्पामा भव्यतापूर्वक वर्षगाँठ मनाउने योजना रहेको आकलन गरिएको छ ।