अचम्मको छ यो आगो पनि
बुर्जुवाको चुलोमा बल्छ चौरासी व्यन्जन बनाउँछ
श्रमिकको पेटमा बल्छ,
मनमा बल्छ केवल बेदना र क्रन्दन बनाउँछ
कति बिभेदकारी हुन्छ यो आगो
कसैलाई क्रन्दन कसैलाइ ब्यन्जन
र त म आगोसंग दुस्मनिमा छु आज ।
चाहे बैसाखे गर्मीमा
साहुको भारिले तालुमा बल्ने आगो होस
चाहे भदौरे झरिको निसास्सिएको भोको पेट
आगो बल्छ पीडा र छट्पटीको
अभाव अनि संकट्को
अभाव र छट्पटी सँगै सिंगो जीवन नै
जलाइरहनाले,
सम्पुर्ण श्रमजीवी संगै म आगोसंग दुस्मनीमा छु आज ।
चैते हुरिको मौका छोप्दै
सप्तरिका झुप्राहरुमा चियाउने आगो होस
या
भैंसिगोठको नाममा चितवनका चेपाङ बस्तिमा
प्रशासनबाटै झोसिने आगो होस
आगो त आगो हो
जस्ले मजदुरका घर जले
सपनाहरु मारिए,
रोपिएका जिवनरुपि बृक्षहरु ओइलाईए
के ती सबै आगो होइनन् ?
थिएनन् ए आगोकै लप्काहरु ?
होइनन् र आर्तनाद ज्वालाहरु ?
किसान, चेपाङ, मुसहर आदि इत्यादी
मजदुर र श्रमिक नै मासिरहने
जीवनलाइ नर्कतिर भाँसिरहने ती
अनिस्टकारी आगोसंग बिद्रोहमा छु आज
हो आगोसंग दुस्मनिमा छु आज ।
हुन त
मुक्तिकामी आन्दोलनमा मसाल जलाउन पनि
सामन्तबादको किल्ला ध्वस्त पार्न पनि
आगो बाल्नु नै थियो
खरानी पार्नुथियो अहंकारका पर्खालहरु
सुकाउनु थियो जनताको रगत र आंशुमा
पौडिखेल्ने नरपिचासका आहालहरु !
तर नसुक्दै आहालहरु,
नभत्किदै पर्खालहरु, नमर्दै नारायणहिटीको आडम्बर,
यहि आगो प्रतिकृयावादी सत्ताको हतियार बनेर सिंहदरबार र शितलनिवासबाट
हामी तिर फर्किदा
मसाल मसाल रहेन मसान बनेको छ
आगो आगो रहेन अनिष्ट बनेको छ
र त आगोसंग म दुस्मनीमा छु आज ।
बैरि बिरुद्ध आगो ओकल्नेहरु नै
इतिहासका पन्नामा बांच्न सक्छन भनेर तिनताका
आगोका झिल्काहरु बटुलेर
हनुमानले लंका जलाएसरि झोसी हिड्ने
मै हुँ
तर हनुमानको आगोले लंका जलाए जस्तै
जलेनन मेरा मसालहरु
भस्म पारेनन जनबैरिका अखडाहरु
बरु तिनै झिल्का सिंहदरबार
बालुटार अनि
सितलनिवासका मतियार बनी
डढाउन आए चेपाङ र मुसहर बस्ती
झनै जलाउन थाले
मजदुरका भोको पेट्मा भोकको आगो
भरियाका तालुमा नाम्लोको आगो
निमुखाको मनमा पिडाको आगो
त्यसकारण यहि आगो
जस्ले बुर्जुवाको भोज पकाउँछ
मजदुरको भोक पकाउँछ
हो यहि आगो विरुद्ध रणभुमिमा छु आज
हो म आगोसंग दुस्मनिमा छु आज ।
प्रतिक्रिया दिनुहोस्