Logo

मेघनाथ पहाडी

फाल्गुन ५, २०७८ बिहीबार

राखेप उपाध्यक्ष ज्वालालाई थप ८ अधिकार प्रत्यायोजन


काठमाडौं । युवा तथा खेलकुद मन्त्रालयले राष्ट्रिय खेलकुद परिषद् (राखेप) का उपाध्यक्ष शिव कोइराला ‘ज्वाला’ लाई अधिकार प्रत्यायोजन गरेको छ ।

राष्ट्रिय खेलकुद विकास ऐन २०७७ को दफा १२ को खण्ड (ख) बमोजिम उपाध्यक्ष कोइरालालाई अधिकार प्रत्यायोजन गरेकाे छ । मन्त्रालयले उपाध्यक्षलाई यति धेरै अधिकार प्रत्यायोजन गरेको यो पहिलोपटक समेत हो ।

प्रत्यायोजित ८ बुँदे अधिकारमा खेलकुद पूर्वाधार निर्माण गर्दा कायम गर्नु पर्ने न्युनतम मादण्ड तयार गरी राखेपका अध्यक्ष समक्ष पेश गर्ने र सो बमोजिम हुने गरी आवश्यक कार्य गर्ने गराउने, परिषद्को मानव श्रोत भौतिक संरचना विकास एवं व्यवस्थापनका लागि आवश्यक कार्य गर्ने गराउने, राष्ट्रिय खेल संघहरुको विवाद समाधान र अन्य कार्यमा प्रक्रियागत काम गर्ने गराउने, ओलम्पिक कमिटी र विभिन्न खेल संघहरुसंग आवश्यक समन्वय गर्ने गराउने, राखेपमा रहेको बेरुजु फछ्र्यौट गर्ने गराउने, राष्ट्रिय खेलकुद प्रतियोगिता आयोजना सम्बन्धमा आवश्यक तयारी गर्ने गराउने, प्रत्यायोजित अधिकार बमोजिमको कार्य गर्न आवश्यकता अनुसार समिति वा कार्यदल गठन गर्नु पर्ने भए राखेपका अध्यक्ष समक्ष सिफारिस गर्ने र राखेपको प्रशासनसंग सम्बन्धित काममा समन्वय गर्ने गराउने रहेका छन् ।