चितवन । चीनबाट मेकानिकल इन्जिनियरिङमा स्नातकोत्तर गरेपछि २८ वर्षका दीपेन्द्र सुनारी मगर, जन्म गाउँ नवलपुरको बुलिङ्टार फर्किए ।
डोजरले जताततै पहाड भत्काउनुबाहेक गाउँको जीवनस्तरमा ठोस परिवर्तन थिएन । उनी गाउँघर चहारे । कोरोना महामारीको समयभरि गाउँमै बसे । त्यस बेला उनले सरकार र जनता बिचको सम्बन्धमा ठुलो खाडल देखे ।
गाउँमा पानीको अभाव, बिजुलीको समस्या, युवाको विदेश पलायन, आधारभूत स्वास्थ्य सेवाबाट वञ्चित हुनुपर्ने अवस्था, आयआर्जनमा समस्या यी यावत कुराहरू देखेपछि दीपेन्द्रलाई छटपटी भयो । उनलाई गाउँलेका निर्दोष मनहरूले प्रश्न सोधेको अनुभूति हुन्थ्यो, ‘के तिमी हाम्रो जुनी बदल्ने कुनै काम गर्न सक्छौँ ? उनी भावुक हुन्थे । कुनै प्रोजेक्ट वा योजना वा कार्यक्रमबाट मात्रै जनताको खुसी ल्याउन नसक्ने निष्कर्षमा पुगेका दीपेन्द्र राजनीतिमा होमिने सोचमा पुगे ।
उनको पारिवारिक पृष्ठभूमि नेकपा एमालेको थियो । २०५४ सालमा दीपेन्द्रका बुवा शेरबहादुर सुनारी मगरलाई गाविस अध्यक्षमा काङ्ग्रेसकै उम्मेदवारले हराएका थिए । २०७४ को चुनावमा वडा नम्बर १ बाट वडाध्यक्ष उठेका शेरबहादुर फेरि हारे । कारण, यो काँग्रेसको सबैभन्दा बलियो किल्ला (गढ) हो ।
नेपाली काँग्रेसका संस्थापक नेता बिपी कोइरालाका छोरा, पूर्व महामन्त्री डा. शशांक कोइरालाको निर्वाचन क्षेत्रमा पर्ने बुलिङटारले तीन पटकसम्म उनलाई जिताएको छ । बुलिङटारलाई ‘बिपीको छोराले रोजेको ठाउँ’ भन्ने गरिन्छ । कतिपय काँग्रेस कार्यकर्ताले बुलिङटारमा झन्डै ९० प्रतिशतभन्दा बढी काँग्रेस रहेको बताउँछन् ।
यस पृष्ठभूमिमा दीपेन्द्र गाउँपालिका अध्यक्षको उम्मेदवार बन्ने तयारीमा लागे । हार निरन्तरताको अर्को ताज थप्न हत्तपत्त उम्मेदवार बन्न नेताहरू समेत हिचकिचाउँछन् यहाँ । पार्टीको बैठकमा आफू गाउँपालिकाको अध्यक्ष उम्मेदवार बन्ने आकाङ्क्षा मात्रै राखेनन् दीपेन्द्रले गाउँको अहिलेको अवस्था र आफ्ना योजना पनि सुनाए । उनी गाउँका विषयमा धेरै सूचना, जानकारी र तथ्याङ्क बोकेर हिँडेका थिए ।
जितको आधार देखाउँदा कतिपय नेताहरू ओठ फर्काउँथे तर दीपेन्द्र टिकट पाए जसरी पनि जित्ने र जनतालाई खुसी दिने बताइरहेका थिए । गाउँपालिका अध्यक्षका लागि दीपेन्द्र सहित सात जनाको नाम सिफारिस भएको थियो । नवलपुर जिल्ला इन्चार्ज तिलक महत, सहइञ्चार्ज रवीन्द्र अधिकारी, केन्द्रीय सदस्य कृष्ण पौडेललगायतलाई आफूले कन्भिन्स गरेको दीपेन्द्र बताउँछन् । अन्ततः दीपेन्द्रले एमालेबाट गाउँपालिका अध्यक्षको टिकट पाए । पढे लेखेका युवालाई गाउँमा बोलाए । तथ्याङ्कलाई टेकेर उनीहरूले योजना बनाए । उनीसँग सबै क्षेत्रका युवाहरूको टिम छ ।
बुलिङटारका जनताको जीवनस्तर खै त सुध्रिएको ? गाउँको विकास खोइ ? जनताको स्वास्थ्यमा सुधार खोइ ? जबाफदेहिता र पारदर्शिता खोइ ? यी प्रश्न लिएर दीपेन्द्रसहितका युवा जनताको घरमा घरमा पुगे । समस्या मात्रै बताएनन्, आफ्ना एजेन्डा पनि सुनाए ।
गाउँको विकास गर्ने तरिका जनतालाई बुझाए । ३० वैशाखमा भएको स्थानीय चुनावमा दीपेन्द्र चार हजार ५९ मत पाएर अध्यक्षमा निर्वाचित हुँदा उनका प्रतिद्वन्द्वी काँग्रेसका शशी किरण बस्ताकोटीले ३ हजार ९ सय मत ल्याए । यहाँका १२ हजार ५०१ मतदातामध्ये ८ हजार ४२२ मत खसेको थियो ।
अघिल्लो पटक गाउँपालिका अध्यक्ष बनेका काँग्रेसका बस्ताकोटी यस पटक पनि जित्नेमा ढुक्क थिए । तर, जनताले मतमार्फत मन फेरे । अहिलेसम्म बुलिङ्टारमा नहारेको काँग्रेसलाई हराएर दीपेन्द्रले इतिहास रचे । जम्मा ६ वटा वडा भएको गाउँपालिकामा उपाध्यक्षसहित पाँच वटै वडामा काँग्रेसको प्यानलै विजयी भएको छ ।
वडा नम्बर ५ र अध्यक्ष मात्रै एमालेले जितेको छ । दीपेन्द्रको वडामा समेत काँग्रेसले जित्यो । उनी भन्छन्, ‘केही दिन समय पाएको भए, यी वडामा जित निकाल्न असहज थिएन । अब यो मतलाई विश्वासमा बदल्छु ।’ बुलिङटारमा जितको अर्को कार्ड थियो, मगर जनमत । ७८ प्रतिशत मगर जातिको बसोबास रहेको यो गाउँपालिकामा ६ प्रतिशत रहेका बाहुन क्षेत्रीले मात्रै शासन गरेको बुझाइ रहेको दीपेन्द्र बताउँछन् ।
प्रतिक्रिया दिनुहोस्