Logo

बागमती पेज

जेष्ठ २४, २०७९ मंगलबार

मकवानपुर गोल्डकप : साबिक विजेता आर्मी सेमिफाइनलमा


हेटौँडा : मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडामा सञ्चालन भइरहेको चौथो संस्करणको स्थानीय तह सहिद स्मृति मकवानपुर गोल्ड कपमा साबिक विजेता विभागीय टोली त्रिभुवन आर्मी क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।

सोमबार भएको खेलमा आर्मी र सशस्त्र प्रहरीको एपीएफ क्लब बीचको विभागीय डार्बी भिडन्तमा आर्मीले एपीएफलाई टाई ब्रेकरमा ५–४ गोल अन्तरले पराजित गरेको हो । निर्धारित समयको खेल १–१ को बराबरीमा टुङ्गिएपछि खेल टाई ब्रेकरमा धकेलिएको थियो । आर्मीले दुई पटक पेनाल्टी पाए पनि पहिलो पेनाल्टीलाई सदुपयोग गर्न नसक्दा अग्रता बनाउनबाट चुकेको थियो ।

४० औँ मिनेटमा आर्मीका विवेक बस्नेतले गरेको पेनाल्टी प्रहारलाई एपीएफका गोलरक्षक राजु नगरकोटीले उत्कृष्ट बचाउ गरेका थिए । खेलको ७७ औँ मिनेटमा दिनेश हेन्जनले पेनाल्टीमार्फत गोल गर्दै टिमलाई अग्रता दिलाएका थिए । त्यसै गरी खेलको इन्जुरी समयको अन्तिम मिनेटमा एपीएफका युवराज खड्काले गोल गर्दै टिमलाई बराबरीको अवस्थामा पुर्‍याएका थिए । निकै प्रतिस्पर्धात्मक विभागीय भिडन्तमा दुवै टिमले केही राम्रा अवसरहरू पाए पनि उत्कृष्ट सदुपयोग गर्न भने सकेको थिएन ।

टाई ब्रेकरमा आर्मीका लागि दीपक गुरुङ, सिमान्त थापा मगर, दिनेश हेन्जन, कमलबहादुर थापा र सन्तोष केसीले गोल गरेका थिए । त्यसै गरी एपीएफका नवीन लामा, सुदिप शिख्राकार, रवि थिङ र सनिस श्रेष्ठले गोल गर्दा मणिकुमार लामाको प्रहार भने आर्मीका गोलरक्षक विकेश कुथुले बचाउ गरेका थिए । खेलको म्यान अफ द म्याच आर्मीका गोलरक्षक विकेश कुथु घोषित भए ।

जारी प्रतियोगितामा मङ्गलवार मनाङ मर्स्याङ्दी क्लब र नेपाल पुलिस क्लबको बिचमा खेल हुनेछ । यही जेठ ३० गतेसम्म सञ्चालन हुने मकवानपुर गोल्ड कपमा १२ क्लबको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले १५ लाख र उपविजेताले १० लाख रुपैयाँसहित ट्रफी प्राप्त गर्नेछन् भने सर्वोत्कृष्ट खेलाडीले बुलेट मोटरसाइकल तथा विधागत उत्कृष्ट खेलाडी र प्रशिक्षकले जनही नगद २५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।