Logo

बागमती पेज

श्रावण २२, २०७९ आईतबार

बंगलादेशमा तेलको मूल्य ५० प्रतिशतले बढ्यो, सडकमा हिंसात्मक प्रदर्शन


बंगलादेश । बंगलादेशमा पेट्रोल र डिजेलको मूल्यमा भएको भारी वृद्धिपछि देशभर हिंसात्मक प्रदर्शन भएको छ । सरकारले शुक्रबार पेट्रोलमा ५१ दशमलव ७ प्रतिशत र डिजेलको मूल्य ४२ दशमलव ५ प्रतिशतले बढाएको थियो । यसपछि मानिसहरु आफ्नो गाडी लिएर पेट्रोल पम्पमा लाइन लाग्न हिँडे ।

बंगलादेशमा भएको प्रदर्शन यति उग्र थिए कि थुप्रै शहरमा आगजनी र ढुङ्गामुडासमेत भए । प्रदर्शनकारीलाई नियन्त्रणमा लिन प्रहरीले बल प्रयोग गर्नुपरेको थियो । शनिबार पेट्रोलियम पदार्थको मूल्यवृद्धि लागू हुनुअघि देशभरका पेट्रोल पम्पमा ठूलो संख्यामा मानिस पुगेका थिए । पेट्रोल पम्पमा अत्यधिक लाइन थिए र आतंकको वातावरण थियो ।

यसैलाई मध्यनजर गर्दै केही पेट्रोल पम्पले पेट्रोल र डिजेल बिक्री बन्द गरेपछि विरोध प्रदर्शन भएको थियो । पेट्रोल र डिजेलको मूल्यमा भएको यो भारी वृद्धिले लाखौं जनताको जनजीवन प्रभावित भएको आन्दोलनकारीले बताएका छन् ।

रुस-युक्रेन युद्धको प्रभाव
रुस–युक्रेन युद्धका कारण कच्चा तेलको आपूर्तिमा आएको समस्याबाट बंगलादेश पनि प्रभावित भएको छ । युक्रेनमा रुसले गरेको आक्रमणपछि पश्चिमी देशहरूले रुसमाथि विभिन्न प्रतिबन्ध लगाएका छन् ।

बंगलादेशमा ऊर्जा संकटले विद्युत आपूर्तिमा पनि असर गरेको छ । देशका कतिपय स्थानमा १३ घण्टा विद्युत् कटौती भएको छ ।

समाचार एजेन्सी रोयटर्सका अनुसार बंगलादेशको ४१६ अर्ब डलरको अर्थतन्त्र वर्षौंदेखि विश्वको सबैभन्दा द्रुत बृद्धि हुने अर्थतन्त्र रहेको छ ।

यद्यपि, रुस-युक्रेन युद्धका कारण ऊर्जा र खाद्यान्नको बढ्दो मूल्यले देशको आयात बिल बढाएको छ, जसले सरकारलाई अन्तर्राष्ट्रिय मुद्रा कोषलगायत अन्य विश्वव्यापी एजेन्सीहरूबाट ऋण लिन बाध्य पारेको छ ।

ऊर्जामन्त्रीले के भने ?
ऊर्जा मन्त्रालयले विश्व बजारको अवस्थालाई मध्यनजर गर्दै तेलको मूल्य वृद्धि रोक्न नसकिने बताएको छ । बंगलादेश पेट्रोलियम कर्पोरेशनले जुलाईसम्मको ६ महिनामा आठ अर्ब रुपैयाँ घाटा बेहोरेको उनले बताए ।

ऊर्जामन्त्री नसरुल हमिदले भने, ‘नयाँ मूल्य सबैले धान्न सक्दैनन् । तर, हामीसँग अर्को उपाय थिएन । जनताले धैर्य गर्नुपर्छ ।’

विश्व बजारमा कच्चा तेलको मूल्य घटेमा देशमा तेलको मूल्य परिवर्तन हुने उनले बताए ।

यसै क्रममा प्रमुख विपक्षी दल बंगलादेश नेसनलिस्ट पार्टीका महासचिव मिर्जा फखरुल इस्लाम आलमगीरले यसलाई जनताको घाउमा नुन छर्केको बताएका छन् । उनले मूल्यवृद्धिले बंगलादेशको अर्थतन्त्रमा निकै नराम्रो असर पर्ने बताए ।

लगातार नौ महिनामा ६ प्रतिशतमा रहेको बंगलादेशको मुद्रास्फीति जुलाईमा बढेर ७.४८ प्रतिशत पुगेको छ ।

तर, हालैका हप्ताहरूमा तेलको विश्वव्यापी मूल्यमा कमी आएको छ । शुक्रबार तेलको मूल्य फेब्रुअरीयताकै न्यून स्तरमा थियो । – एजेन्सी