काठमाडौँ । श्रावण कृष्ण प्रतिपदाको दिन मनाइने गाईजात्रा धार्मिक, सामाजिक,ऐतिहासिक एवं सांस्कृतिक रूपले मनाइने रमाइलो पर्व हो । गाई जात्राका दिन एक वर्षभित्र दिवङ्गत भएका आफन्तको सम्झनामा गाई वा मानिसलाई गाईका रुपमा सिँगारेर आफ्नो घरबाट निकाली कुनै पनि इलाकामा परिक्रमा गराइन्छ ।
गाई जात्रा निकालिएको घरबाट थरिथरिका रोटी, फलफुल पैसा आदि राखेर वर्षको हिसाबले ३ सय ३५ वटा प्याकेट बनाएर सहभागीहरूलाई बाँड्ने गरिएको छ । यस क्रममा श्रद्धालुहरूले पनि विभिन्न फलफुल तथा दूध दही दान गर्ने प्रचलन रहेको छ ।
मानिसले मरेपछि स्वर्ग जाने बाटोमा पर्ने एउटा ‘वैतरणी’ नदी तर्नुपर्छ । गाईको पुच्छर समातेर मात्र वैतरणी तर्न सकिन्छ र त्यसपछि मात्र स्वर्ग पुगिन्छ भन्ने हिन्दूहरूको जनविश्वास छ । सांस्कृतिक जीवनका प्राचीनकालदेखि चल्दै आएका गाईसम्बन्धी अनेकन् धार्मिक आस्था, निष्ठा एवं उपयोगितामा ‘गाईजात्रा’ को जन्म भएको देखिन्छ ।
यो जात्रा निकाल्ने चलन कहिलेदेखि सुरु भयो भन्ने तिथिमिति निश्चित नभए पनि एक भनाइअनुसार राजा प्रताप मल्लको समयमा उपत्यकामा बिफरको महामारी फैलियो र थुप्रै सर्वसाधारणको मृत्यु हुनुका साथै प्रताप मल्लको कान्छो छोरा चक्रवर्तेन्द्र मल्लको समेत मृत्यु भएपश्चात् शोकमा परेकी व्याकुल रानीलाई ‘मानिसहरू अन्यत्र पनि मरेका छन् र मर्छन्’ भनी देखाएर चित्त बुझाउने प्रयासस्वरूप राजाले देशवासीलाई वर्ष दिनभित्र मृत्यु भएकाहरूको नाममा आफन्तहरूले गाईजात्रा निकाली नगर परिक्रमा गराउन हुकुम जारी गरेका थिए ।
जस कारण सुरु भएको गाई जात्रा पर्व अहिले शोक र रमाइलोको पर्वमा परिणत भएको छ । श्रावण कृष्ण प्रतिपदाको दिन विशेष यो पर्व मनाइन्छ । आज काठमाडौँ उपत्यका लगायत देशै भरी जनैपुर्णिमा र गाइजात्र एकैसाथ मनाइन्छ ।
उपत्यकामा काठमाडौँ, भक्तपुर र ललितपुरका नेवार समुदायले यस पर्व भव्यताका साथ मनाउँदै आएका छन् ।
प्रतिक्रिया दिनुहोस्