Logo

बागमती पेज

आश्विन २६, २०७९ बुधबार

प्लाटिनम क्लबको बाउन्सरलाई खुकुरी हानेको आरोपमा ६ जना पक्राउ


काठमाडौं : दरबारमार्ग स्थित प्लाटिनम क्लबका दुईजना बाउन्सरलाई खुकुरी प्रहार गरेको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ ।

मंगलबार बिहान ४ बजेतिर क्लबको ड्युटी सकेर डेरा जाँदै गरेका दुईजनालाई ८ जनाले खुकुरी प्रहार गरेर भागेका थिए । खुकुरी प्रहारबाट घाइते भएका नितेश राई र छिरिङ लामाको उपचार भइरहेको छ ।

खुकुरी प्रहारमा संलग्नहरूलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी परिसर काठमाडौंका एसएसपी भरत बोहराले बताए । पक्राउ पर्नेमा सिन्धुपाल्चोकको बाह्रबिसे घर भएका दावा दोर्जे शेर्पा उर्फ च्याङ्बा, प्रदिप लामा, जिवन तामाङ र काभ्रेको मंगलटार घर भएका जितेन लामा सहित ६ जना छन् । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले ५ जना र उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएका प्रहरीले १ जनालाई पक्राउ गरेका हुन् ।

एक महिनाअघि प्लाटिनम क्लबका बाउन्सरसँग आरोपीहरुको झगडा भएको थियो । बाउन्सरले दावा दोर्जे शेर्पालाई कुटेको र ५ तोला बराबरको सुनको सिक्री क्लबमा हराएको उनीहरुले दाबी गरेका थिए । त्यतिबेला प्रहरी वृत दरबारमार्गले दुवै पक्षलाई मिलापत्र गराएर छाडेको थियो ।

सो रिसिबी साँधेर दावा दोर्जेको योजनामा ४ वटा मोटरसाइकलमा चढेर गएका ८ जनाले बाउन्सरलाई खुकुरी प्रहार गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । मुख्य योजनाकार दावा दोर्जे बौद्धस्थित तिनचुलीबाट पक्राउ परेका हुन् ।

खुकुरी प्रहार गर्ने मध्येका जितेन लामा यसअघि पनि कर्तव्य ज्यान मुद्दामा जेल बसेर छुटेका थिए । उनी डेढ वर्षअघि छुटेको अनुसन्धानमा संलग्न प्रहरी अधिकृतहरु बताउँछन् ।