Logo

भवानी कार्की

कार्तिक ३, २०७९ बिहीबार

दोलखालाई पर्यटकीय जिल्ला निर्माण गर्ने तयारी छ : उम्मेदवार बालकृष्ण सिवाकोटी


काठमाडौँ । आसन्न निर्वाचनमा नेकपा एमाले प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण सिवाकोटीले दोलखालाई संवृद्ध बनाउने उद्घोष गरेका छन् । दोलखालाई संवृद्ध बनाउनका लागि सर्वप्रथम यहाँको पर्यटकीय क्षेत्रलाई पहिलो प्राथमिकता दिने उनले बताएका हुन् ।

बालकृष्ण सिवाकोटी दोलखाली राजनीतिमा चिरपरिचित नाम हो । उनी जन्मेर हुर्केको घर नजिकैको कालिनाग मावि सुनखानीलाई स्रोत साधन सम्पन्न विद्यालय र कालिनाग क्याम्पस बनाउने सम्मको अभियानको नेतृत्व गरेका सिवाकोटी शिक्षा प्रेमी तथा सफल अभियन्ता हुन् ।

निर्माण भइरहेको तेस्रो तामाकोसी जलविद्युत आयोजना निर्माण गर्न सक्दो पहल गर्ने बताए । चाइनासँग जोडिएको पलाकको सडक जोड्ने र निर्माण सम्पन्न भए पश्चात तेस्रो मुलुकसँग हुने व्यापार फस्टाउने समेत उनको भनाई छ ।

नेता सिवाकोटीले भने, “विकास निर्माणका काम धेरै छन् । त्यसमध्ये पनि नेपाल कृषि प्रदान देश भएका कारण दोलखामा पनि कृषि क्षेत्रलाई लिएर मेरो ध्यानाकर्षण छ । दोलखा घुम्न आउने पर्यटकलाई खाने बस्ने, घुम्ने स्थानहरूको व्यवस्थापन र विस्तार गर्न सकियो भने पर्यटन दोलखा बासीको पर्यटन व्यवसाय राम्रो हुनेछ । जीवनस्तरमा सुधार आउनेमा म आशावादी छु । हाम्रा एजेन्डा, हाम्रा चुनावी प्रतिबद्धतामा पनि ती कुरा आउँछन् ।”

दोलखाको बृहत्तर विकासमा सहयोग पुग्ने तामाकोसी ३ आयोजना, चीनसँगको फलाक नाका खोल्ने सडक निर्माण, सैलुङ तथा जिरी पर्यटकीय स्थल निर्माण, फिल्म सिटी तथा खरिढुंगा म्याग्नेसाइट पुनः सञ्चालन जस्ता एजेण्डाहरु नै उनको प्राथमिकतामा रहेका छन् । विगतमा नेकपाको सरकार बिचमै ढल्नाले पूरा गर्न नसकिएका काम यस वर्ष पूरा गरेरै छाड्ने उनको लक्ष्य रहेको सिवाकोटीले बताएका छन् ।