Logo

बागमती पेज

मंसिर २२, २०७९ बिहीबार

उपत्यकामा वाटर एटिएमको प्रयोग बढ्दो


काठमाडौँ । काठमाडौँ उपत्यमा वाटर एटिएमको प्रयोजन बढ्न थालेको छ । “वाटर भेन्डिङ” मेसिनबाट दुई रुपैयाँमा पानी पिउन पाएपछि उपत्यकामा पछिल्लो समय एटिएमको प्रयोग बढेको हो ।

काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन वोर्डका सूचना अधिकृत सन्तोष बरालका अनुसार वाटर एटिएम काठमाडौँ उपत्यका खानेपानी व्यवस्थापन वोर्डले पहिलो चरणमा काठमाडौँ महानगरसँगको सहकार्यमा महानगर भित्रका ५ स्थानमा प्रयोगमा ल्याएको थियो । वाटर एटिएमको प्रयोग बढेसँगै हाल उपत्यका भित्रका उपत्यका भित्र काठमाडौँमा १२, ललितपुरमा ७ र भक्तपुरमा एक गरी जम्मा २० वटा वाटर एटिएम संचालनमा रहेका छन् ।

काठमाडौँमा टेकु, कलंकी, स्वयम्भू, बाइसधारा, शंख पार्क, शंखधर पार्क, नयाँ बानेश्वर, सिआइटी विल्डिङ, शहिद गंगालाल, टिचिङ, वीर र सिभिल सर्भिस अस्पतालमा वाटर एटिएम संचालनमा छन् । त्यसैगरी ललितपुरमा नेपाल ईन्जिनियर्स एशोसियसन, बंगलामुखी मन्दिर, कुसुन्ती, पाटन हस्पिटल, ललितपुर महानगरपालिका, पुल्चोक ईन्जिनियरिङ क्याम्पस, र मेन्टल अस्पतालमा संचालनमा छन् । भने भक्तपुर जिल्ला भित्र हाल भक्तपुर क्यान्सर अस्पतालमा संचालनमा रहेको खानेपानी व्यवस्थापन वोर्डका इन्जिनियर तेज विनोद पाण्डेले जानकारी दिएका छन् ।

वाटर एटिएम कसरी प्रयोग गर्ने, गिलास कसरी निस्कन्छ र पानी कसरी भर्ने सम्बन्धमा जानकारीमुलक पोस्टर सहित एटिएम राखिएको छ । मानिसहरु भिडभाड हुने स्थान, पार्क तथा सार्वजनिक स्थलहरुमा एटिएम व्यवस्था गरिएको हो । जसकारण आवतजावत गर्ने सर्वसाधरणका लागि पानी पिउन सहज भएको छ ।

काठमाडौँको शंखधर उद्यान (रत्नपार्क)मा रहेको वाटर एटिएमबाट दैनिक जसो पानी पिउँदै आउनुभएका माईक्रो चालक लजः श्रेष्ठले वाटर एटिमबाट सस्तो मूल्यमा पानी पिउन पाउँदा राम्रो लागेको बताए ।
उनले भने “थोरै प्यास लाग्दा पनि पहिला २५/३० रुपैया तिरेर बोतलको पानी पिउने गरेको थिएँ । हाल यहाँ नजिकै वाटर एटिएम राखेकोले सहज भएको छ । तिर्खा लाग्दा प्राय यहीको पानी पिउँछु । २ रुपैया तिर्दा १ कप र ३ रुपैया तिर्दै २ कप पानी पाईन्छ । जे होस् यो मेसिन राम्रो छ ।

कुनैबेला मेशिनबाट गिलास नआउने र कहिले पैसा साट्दा सिक्का नआउँने हुन्छ । साट्न राखेको पैसा समेत फिर्ता नआएको हुँदा समय समयमा मेशिन चेकजाँच गर्नुपर्ने सर्वसाधारणको गुनासो छ ।

देशमा प्रविधिको विकास भएसँगै यस वाटर एटिएमले थप सहज बनाएको छ । एक बोतल पानीको २५ रुपैयाँ पर्ने समयमा २ वटा सिक्काले पानी पिउन पाउँदा सर्वसाधरण सन्तुष्ट छन् । सेवा ग्राहिले सस्तो मूल्यमा सहज ढंगले पानी पिउन पाउन् भन्ने उदेश्यले वाटर एटिएमको शुरुवात गरिएको हो ।