Logo

भवानी कार्की

पुस ३, २०७९ आईतबार

नेपाली आख्यान साहित्य जगतका हस्ति रमेश विकल


काठमाडौँ । नेपाली साहित्य जगतका एक कुशल साहित्यकार हुन् रमेश विकल । वि.सं १९८५ साल कार्तिक २९ गते काठमाडौँ आरुबारीमा जन्मिएका विकलले २००६ सालबाट साहित्यमा कलम चलाएका थिए । नेपाली साहित्य क्षेत्रमा कथा, कविता, निबन्ध, नाटक उपन्यास तथा बाल साहित्य लगायतका विधामा साहित्कार विकल होमिएका थिए । बहुप्रतिभाका धनी विकल सामाजको यर्थाथवादी हस्ति हुन् । उनले आफ्नो साहित्य यात्रामा सामाजका यर्थाथ र वास्तविकतालाई चित्रण गरेको पाईन्छ ।

साहित्यकार विकलको नेपाली सहित्यको कथा र आख्यानविधामा विशिष्ट स्थान रहेको छ । उनले समाजका पिडित र सीमान्तकृत बर्गको वकालत गर्दे सर्वप्रथम “गरीब” शीर्षकको कथाबाट आफ्नो कथाको यात्रा अगाडी बढाएका थिए । साहित्यकार विकलले लेखेका सबै विधामा दर्जनभन्दा बढी कृति हालसम्म चर्चामा छन् ।

नेपाली साहित्य जगतका आख्यान साहित्यकार रमेश विकलको १४ औँ स्मृति दिवस हालै सम्पन्न भएको छ । स्मृति दिवसका अवसरमा विकलका दुई पुस्तक “प्रतिनिधि कथा र चार पुस्ताका कथा” लोकार्पण भएका छन् ।

विकलका प्रतिनिधि कथा भित्र अनुहार मेटिएको मान्छे, आज फेरी अर्को नयाँ तन्ना फेरिन्छ, आतंकमा बाचेका बस्ती, उसले जन्माएको छोरो लगायतका विषयबस्तु समावेश गरिएका छन् । भने चार पुस्ताका कथामा विकलको पहिलो कथा गरिब, नयाँ सडकको गीत, उर्मिला भाउजु, एउटा बुढो भ्वाईलेन र उहाँको अन्तिम कथा विशाल किराँत प्रदेशको दुर्दान्त सिकारी शासक समावेश गरिएका छन् ।

विकलको प्रतिनिधि कथाको सम्पादन प्रा.डा हेमनाथ पौडेलले गरेका हुन् भने चार पुस्ताका कथा विकलका नाती आलोक चालिसेले सम्पादन गरेका हुन् । साहित्कार विकलको प्रतिनिधि कथा सम्पादक हेमनाथ पौडेल विकललाई नेपाली साहित्यको आख्यान विराट व्यक्ति भनेर चिनिने बताउँछन् ।

उनका अनुसार, “साहित्यकार विकल विशेषगरी समाजका निम्न वर्गिय जीवनलाई प्राथमिकतामा राखेर निम्न वर्गलाई माथि उठाउने उदेश्य र समाजलाई रुपान्तरण गर्ने चेतनाकासाथ साहित्यमा अघि बढेका सच्चा नागरिक हुन् । त्यति मात्र नभएर सहित्यकार विकल प्रगतिशिल, प्रगतिवादी साहित्यकार पनि हुन् । जसले समाजको यर्थाथ चित्रण गर्ने मात्र नभएर समाजका यर्थाथलाई परिवर्तन गर्दे समाज रुपान्तरण गर्न अग्रसर हुने कुशल पात्र हुन् ।”

समग्रमा भन्नुपर्दा विकल समाजका कुरुप पक्षको आलोचना र सुन्दर पक्षको समर्थन एवम् शान्ति स्वतन्त्रता र मानवताका साथै समानतामुलक समाजको निर्माण गर्नु विकलका साहित्यका विशेषता हुन् ।

साहित्यकार विकलका सुपुत्र विजय चालिसे विकलका साहित्यबाट अहिलेका पुस्ताले धेरै कुरा सिक्नुपर्ने बताउँछन् । नेपाली साहित्यमा चयन गरिने भाषाशैली, लेखनशैली र सरल शब्दहरु नयाँ पुस्ताले उहाँबाट सिक्नुपर्ने उनको भनाई छ ।

उनका अनुसार, “साहित्यकार विकलले लिनुभएका अग्रगमनको प्रकृति, समाज पछि धकेल्ने नभएर समाज अघि बढाउनेमा योगदान रहने खालका सन्देश नेपाली साहित्यमा हुनुपर्छ ।”

विजय चालिसे रमेश विकल साहित्यिक प्रतिष्ठानका सदस्य सचिव हुन् । विकलका ज्येष्ठ सुपुत्र चालिसे पनि नेपाली सहित्य जगतमा निकै अगाडी रहेका छन् । चालिसे शिक्षण पेशा हुँदै पत्रकारिता क्षेत्रमा योगदान समेत पुर्याएका छन् ।

त्यस्तै “चार पुस्ताका कथा”का सम्पादक विकलका नाती आलोक चालिसेले साहित्यकार विकलका कथामा जे छ, व्यवहार र लेखनमा पनि एउटै कुराहरु समावेश हुनु उहाँको मुख्य विशेषता नै रहेको बताउँछन् । चार पुस्ताका कथा भित्र साहित्यकार रमेश विकल, उनका सुपुत्र विजय र महेन्द्र, नाती र पनातिनी सम्मका पाँचपाँच वटा लेख रचना समावेश गरिएका कारण पुस्तकको नाम “चार पुस्ताका कथा” राखिएको उनले बताए ।

नेपाली साहित्य क्षेत्रमा कविताबाट कलम चलाएका विकलका थुप्रै कृतीहरु प्रकाशित छन् । वि.सं १९८५ मा जन्मेका विकलको वि.सं २०६५ साल पुष २ गते ८१ वर्षको उमेरमा निधन भएको थियो । उनले लेखेको अविरल बग्दछ इन्द्रवतीका साथै उपन्यासहरु उर्मिला भाउजु, आज फेरी तन्ना फेरिन्छ, विरानो देशमा, एउटा बुढो भ्वाइलिन आशावरीको धुनमा लगायत अन्य कृतिहरु प्रसिद्ध रहेका छन् ।